Comments Add Comment

गाईजात्रे गफ : ‘अमेरिकी राष्ट्रपतिले मलाई देखिसहँदैनन्’

चिरञ्जीवी पाैडेल
यी हुन् अर्जुन घिमिरे । चिन्नु भएन ? पाँडे क्या ! भद्रगोलमा पाँडेको बुढो चरित्रबाट हिट भएका उनलाई वास्तविक नाम र गेटअपमा कमैले चिन्छन् । गाईजात्राको पूर्वसन्ध्यामा सातदोबाटोमा भेटिएका पाँडेसित गरिएको गाईजात्रे संवाद :
pade budo

तपाईंले सुनेको सबैभन्दा फाल्तु चुट्किला ?

‘एउटा बुढो थियो, त्यो बच्चैमा मरेछ’ भन्ने चुट्किला सयौंचोटि सुनेको छु । तर, त्यति बुढो मान्छे बच्चैमा कसरी मर्‍यो होला भन्ने सोच्दा सोच्दै म आफैं मर्न लागिसकेँ ।

तपाईं पशुपतितिर जाँदा बाँदरहरु किन खुशीले उफ्रिन्छन् ?

खुशीले होइन, डरले उफ्रिएका हुन् । मैले उनीहरुको खानेकुरा खोसिदिन्छु भनेर ।

तपाईंलाई भूईंचालोले किन लगेन ?

नलगेको होइन, म आफैं नगएको हो । माथिको सेवा-सुविधा चित्त नबुझेर ।

भुईंचालो आउँदा धरहराको टुप्पोमा भए के गर्नुहुन्थ्यो ?

मैले के गर्नुपर्थ्यो , जे गर्नु, भूर्इंचालोले नै गर्थ्यो नि । मैले त सेवा-सुविधा सोध्ने मौकासमेत पाउने थिइँन ।

नेपालले विश्वकप फुटबलको उपाधि जित्यो भने कसरी सेलिब्रेट गर्नुहुन्छ ?

मलाई किन-किन मेरो घरको फुर्के गोरु ब्याउने र नेपालले विश्वकप जित्ने एकैदिन पर्लाजस्तो लागिरहेको छ । के सेलिब्रेट गर्न भ्याइएला र ? यता गोरु स्याहार्नु कि फुटबलको सेलिब्रेट गरेर बस्नु ? बरु त्यो ट्रफी चैं कसरी हात पार्ने भन्ने ध्याउन्नमा लाग्छु होला ।

सुशील कोइरालाले बिहे नगर्नुका तीन कारण के-के होलान् ?

आफ्नी श्रीमतीलाई अर्कैले चन्द्रमामा लैजाला भन्ने डरले होकि ? अथवा तीनवटा मोबाइलको भरमा श्रीमती कसरी पाल्ने भन्ने चिन्ताले पनि हुन सक्छ ।

मान्छेको नाक र मुख नजिकै हुनुको कुनै बैज्ञानिक कारण होला ?

मेरो बिचारमा मुखबाट चुरोट तानेर नाकबाट फाल्नलाई हो । अथवा, नाकबाट बगेको सिँगान खेर नजाओस् भनेर पनि हुन सक्छ ।

अर्काकी श्रीमतीलाई लिएर चन्द्रमाको साताब्यापी भ्रमण गर्ने प्याकेज तपाईंले चिठ्ठामा जित्नुभयो भने ?

जिग्रीलाई एउटी खोजेर हतार-हतार बिहे गराइदिन्थेँ र उसकी श्रीमतीलाई लैजान्थें । त्यसपछि जिग्रीलाई पनि चिठ्ठा जितेर मेरी श्रीमतीलाई ल्याउन अह्राउथें । हामी चन्द्रमामै भद्रगोलको सुटिङ गर्थ्याैं ।

बिन लादेन र तपाईंबीच के-के समानता छन् ?

समानता नै समानता देख्छु म त । धेरैलाई थाहा नहुन सक्छ, मेरै दाह्रीको सिको गरेर उनले दाह्री पालेका हुन् । दोस्रो भनेको उनी बाँचुञ्जेल अमेरिकाको राष्ट्रपतिलाई देखी सहेनन्, अमेरिकाको राष्ट्रपति मलाई देखी सहँदैनन् । तेस्रो समानता चाहिँ उनले बोलेको म नबुझ्ने, मैले बोलेको उनले नबुझ्ने ।

सेल्फी खिच्दा केटीहरुले किन मुख चुच्चो पार्छन् होला ?

यो प्रश्नको उत्तर खोज्न म पनि धेरै भौतारिएँ । अन्नतः के पत्ता लाग्यो भने जवानीको गर्मी उखरमाउलो भएर थुतुनो मार्फत व्यक्त गरेका रहेछन् । मुख चुच्चो पार्नुलाई ‘लौ आओ, मेरो बेला भयो’ भनेर दरखास्त आह्वान गरेको अर्थमा केटाहरुले बुझ्नुपर्छ र त्यसै अनुसार अघि बढ्न म सल्लाह दिन्छु ।

कोमल ओलीका लागि उपयुक्त बर को होला ?

शिव श्रेष्ठ । ‘पोइला जान पाम् शिव’ भन्दै उफ्रिनेलाई अरु कसले श्रीमती स्वीकार्ला र ? बरु सरकारले मलाई सात चुम्मा माफ भनेजस्तै शिव श्रेष्ठलाई सात श्रीमती माफको घोषणा गरिदिनुपर्छ ।

ऐना अगाडि नांगै उभिँदा आफूलाई कस्तो लाग्छ ?

यो त हिरोइनहरुलाई सोध्ने प्रश्न भएन र भन्या ? मैले त अहिलेसम्म त्यसरी नांगै उभिएर हेरेको छैन । बरु, अहिले नै घर गएर हेर्छु अनि जवाफ दिन्छु ।

सरकारले तपाईंलाई ‘सात चुम्मा माफ’ को घोषणा गरिदियो भने क-कसको दिन खराब गर्नुहुन्छ ?

सात चुम्मा होइन, मेरो योगदानलाई हेरेर सरकारले अनगिन्ती चुम्मा माफ गरिदिनुपर्छ । पुलिसले घर-घर पसेर लाठीचार्ज गरेजस्तो मैले घर-घर पसेर चुम्मा खान पाउनुपर्छ । सातजनालाई मात्रै चुम्मा खाएँ भने बाँकी सबै रिसाइहाल्छन् नि । होइन ?

छिमेकी भाउजूको बच्चाको अनुहार संयोगले तपाईंसँग मिल्न गयो भने ?

त्योभन्दा ठूलो सौभाग्य त के होला र ? सोझै जान्छु र बच्चा डाम्नालाई बोकेर एउटा सेल्फी हान्छु । त्यसपछि बच्चामाथि आफ्नो दाबी पेस गर्छु । छिमेकी दाइले रिसको झोंकमा श्रीमती पनि तै लग् कसो नभन्लान् ?

बिहान उठ्दा छातीमा महिलाका जस्तै स्तन पलाएको पाउनुभयो भने ?

एकछिन त हेरेर बस्थेँ । त्यसपछि दाह्री खोरिन्थेँ र ब्रा किन्न दौडिन्थेँ । आफ्नो नाम फेरेर पुनम पाँडे राख्थेँ । अनि कम्मरमुनि मात्र लुगा लगाएर फोटोसुट गराउँथे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment