Comments Add Comment

मुख्य सचिव र सचिवका गाडीलाई ट्राफिकले रोक्न नपाउने !

१४ भदौ, काठमाडौं । सरकारका मुख्यसचिव र सचिव अब मन्त्रीकै जसरी गाडीमा राष्ट्रिय झन्डा फहराएर गुड्ने भएका छन् । गाडीमा पदअनुसारको लोगो र चिह्नसमेत अंकित गरिने भएको छ । मुख्यसचिव, सचिव र सहसचिवहरूले विभिन्न स्थानमा जाँदा पदअनुसार सुविधासहित सम्मान नपाएको भन्दै सरकारले उनीहरू चढ्ने गाडीमा झन्डा राख्ने व्यवस्था गर्न लागेको हो । सरकारले उच्चपदस्थ कर्मचारीदेखि निम्न तहका सबै कर्मचारीलाई सेवाको प्रकृतिअनुसार पोसाकमा लोगो लगाउने व्यवस्थासमेत गर्न लागेको छ ।

trafic-saturdayसामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता रूपनारायण भट्टराईले निजामती कर्मचारीको सवारीसाधन र पोसाकमा प्रयोग गर्ने झन्डा, लोगो र चिह्नसम्बन्धी निर्देशिकाको मस्यौदा बनिरहेको जानकारी दिए । हाल नेपाल प्रहरी र नेपाली सेनामा पदअनुसारको लोगो र चिह्न प्रयोग हुँदै आएको छ । प्रवक्ता भट्टराईका अनुसार अब मुख्यसचिवको गाडीमा नेपालको झन्डा फहराउनेछ । निजामती कर्मचारीको लोगो र स्टार अंकित हुनेछ । नम्बरप्लेटको अघि र पछि नम्बरसँगै लोगोसमेत राखिनेछ । सचिवको गाडीमा निजामती कर्मचारीको लोगोसहित नेपालको झन्डा राखिनेछ । सहसचिवको गाडीमा भने निजामतीको झन्डासहितको लोगो र स्टार राखिने भएको छ । सरकारले निजामती सेवामा सामान्यत: मुख्यसचिव, सचिव र सहसचिवस्तरका कर्मचारीलाई मात्रै गाडी सुविधा दिँदै आएको नयाँ पत्रिकामा खबर छ ।

गाडी सुविधा पाउँदै आएका उच्चपदस्थ कर्मचारीले बाटोमा हिँड्दा पहिचानको अभावमा विभिन्न असुविधा भोग्नुपरेकाले उनीहरूलाई चिनाउन झन्डासहितको लोगोको व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार उपसचिवदेखि तलका कर्मचारीको पोसाकमा विभिन्न लोगोको व्यवस्था गरिनेछ । उपसचिवको पोसाकमा लोगो र एउटा स्टार राखिनेछ भने शाखा अधिकृतको पोसाकमा निजामतीको लोगोअंकित चिह्न राखिनेछ । मुख्यसचिव, सचिव र सहसचिवको गाडीमा राखिने चिह्नको टुंगो लागेको, तर अन्य पदका कर्मचारीको पोसाकमा कस्तो लोगो राख्ने भन्नेबारे टुंगो नलागेको मन्त्रालयका प्रवक्ता भट्टराईले जानकारी दिए ।

उनका अनुसार पोसाकको लोगो र चिह्नबारे सुझाब लिने काम जारी छ । निर्देशिकामा झन्डासहित लोगोको सुविधा पाउने उच्चपदस्थ अधिकारीलाई यातायात सुविधामा ट्राफिक प्रहरीले समेत विशेष प्राथमिकता दिनुपर्ने व्यवस्था गरिनेछ । झन्डासहित आएका कर्मचारीलाई कहीँ कतै पनि ट्राफिकले रोक्नेछैन ।

निर्देशिकाको मस्यौदा बन्दै
सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सवारीसाधन र पोसाकमा प्रयोग गर्ने झन्डा र लोगोसम्बन्धी निर्देशिकाको मस्यौदा बनाउँदै छ ।
निर्देशिका तयार भएपछि मुख्यसचिवदेखि सहसचिवस्तरका कर्मचारीले गाडीमा झन्डा र कर्मचारीको लोगो राखेर हिँड्नेछन् । उपसचिवमुनिका अधिकृतले पोसाकमै लोगो  लगाउनेछन् ।

के हुन्छ मुख्यसचिवको गाडीमा ?
मुख्यसचिवले चढ्ने गाडीमा मन्त्रीहरूको झैँ राष्ट्रिय झन्डा फहराइनेछ, त्यस्तै नम्बरप्लेटमा निजामतीको लोगो र तारा पनि राखिनेछ ।
सचिव चढ्ने गाडीमा राष्ट्रिय झन्डा र नम्बरप्लेटमा निजामतीको लोगो राखिनेछ, त्यस्तै सहसचिव चढ्ने गाडीको नम्बरप्लेटमा राष्ट्रिय झन्डा र निजामतीको लागो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment