Comments Add Comment

डेनेबलाई मध्य क्षेत्रीय बास्केटबल उपाधि

Deneb

१४ भदौ, काठमाडौं । डेनेब एकेडेमीले छैटौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । डेनेब ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्यो ।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा डेनेबले मार्बलस इङलिस स्कुललाई ४१-२५ ले पराजित गर्‍यो । डेनेबको जितमा सौरव खड्काले १२ अंक जोडे ।

अनामनगरस्थित एसियन पब्लिक स्कुलको कोर्टमा भएको गल्र्स फाइनलमा डेनेबले हेम्सलाई १८-५ ले हरायो । डेनेबकी सब्नम श्रेष्ठले ८ स्कोर गरिन् ।
ब्वाइजमा काठमाडौं इङलिस स्कुल (केइएस) ले हेम्सलाई २४-२२ तथा गर्ल्समा एसियन पब्लिकले मार्बलसलाई १७-२ ले पाखा लगाउदै तेश्रो भए ।
ब्वाइजमा डेनेबका राजकुमार बोहरा र गर्ल्समा डेनेबकै आकृति मैनाली तथा ब्वाइजमा केइएसका यकेन्द्र ठकुरी र गल्र्समा एसियन पब्लिककी मोनिका थापा उदीयमान खेलाडी घोषित भए ।

त्यस्तै ब्वाइजमा अनिल श्रेष्ठ र गल्र्समा सब्नम श्रेष्ठ सर्वाधिक स्कोरकर्ता बने । दुवै डेनेबका हुन् । प्रतियोगिताभर अनिलले ५७ र सब्नमले ३५ अंक जोडेका थिए ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, केन्द्रीय प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसी, आयोजकका अध्यक्ष सुकुमार थपलिया, आयोजककै प्रमुख सल्लाहकार युद्धिष्ठिर पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने नकआउट प्रतियोगिताको ब्वाइजमा १५ तथा गल्र्समा १२ टिमले सहभागिता जनाएको संयोजक गगन एरले जनाएका छन् ।

प्रतियोगिताको सातौं संस्करण सानोगौचरणस्थित काठमाडौं इङलिस स्कुल (केइएस) मा हुने भएको छ । मध्य क्षेत्रीय समिति, काठमाडौंमा आबद्ध विद्यालयले पालैपालो प्रतियोगिता आयोजना गर्ने गरेका छन् । मध्य क्षेत्रीयमा विभिन्न ३२ विद्यालय आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment