Comments Add Comment

बाहुनले भेटेनन् सिन्धुपाल्चोकमा नाग टाँस्ने भित्तो !

दिनेश थापा

१६ भदौ, सिन्धुपाल्चोक । बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले सिन्धुपाल्चोकमा एउटा पनि घर सग्लो छैन । घरै नहुँदा जिल्लामा यसवर्ष नाग टाँस्ने पुरोहितहरु पनि फुर्सदिला बने । गाईजात्रा खल्लो भइरहेको छ । नजिकिँदै गरेको तीजले पनि कुनै बहार ल्याउने संकेत देखिएको छैन ।
Sindhupalchowk (14)

  • भूकम्पले क्षति पुर्‍याएको सिन्धुपाल्चाेकः फाइल तस्वीर

भर्खरै सकिएको नागपञ्चमी, जनैपुणिर्मा र मनाइँदै गरेको गाईजात्रा पर्वमा स्थानीयलाई खल्लो मात्रै भएको छैन, अब आउँदै गरेको ठूला चाडपर्व कसरी मनाउने भन्ने चिन्ताले भूकम्प पीडितलाई सताउन थालेको छ ।

भूकम्पले अस्तव्यस्त भएपछि दैनिकी सञ्चालन गर्न धौ-धौ भइरहेका बेला आएको चाडवाड र नजिकिँदै गरेका चाडपर्वहरुमा स्थानीयमा गतसालको जस्तो कुनै उत्साह देखिएको छैन ।

जलविरे र तौथलीमा हरेक वर्ष लाग्ने हिले जात्राको यो वर्ष कुनै रौनक नै भएन । ‘पोहर जसरी रमाइलो हुने गर्दथ्यो, हिले जात्रामा यो वर्ष त कुनै उत्साह नै भएन,’ तौथलीका कुमार श्रेष्ठ र जलविरेका राजेन्द्र कायस्थले भने ।

जनैपूर्णिमामा जिल्लाको प्रसिद्ध भैरवकुण्ड र पाँचपोखरीमा लाग्ने मेला यस वर्ष लागेन । पाँचपोखरीमा लाग्ने मेलामा दर्शन गर्न जिल्लाका विभिन्न स्थान र अन्यत्र जिल्लाबाट आउने दर्शनार्थीहरुको संख्या यस वर्ष घटेको छ ।

पाँचपोखरीमा दर्शन गर्नका लागि सदरमुकाम हुदै अघिल्लो वर्ष सयौंका संख्यामा धामी झाँक्रीहरु जाने गरे पनि यो वर्ष सदरमुकाम हुँदै एकजना पनि झाँक्रीहरु पाँचपोखरी गएनन् ।

नाग टाँस्दै हिँड्ने पुरोहितहरु पनि यो वर्ष धेरै फुर्सदिला भएका थिए । न घर छ, न दैलो नै छ, कता लगेर नाग टाँस्नु र ?

पाँचपोखरी जाने बाटो नै बन्द भएपछि दर्शनार्थीहरुले थाङपालकोटको रैथाने माविमा रहेको पोखरीमा नै यस वर्षको जनैपुणिर्मा मनाएका थिए । रैथाने माविमा रहेको पोखरी पनि पाँचपोखरीबाटै आएको पानीले बनेको भन्दै दर्शनार्थीहरुले त्यही दर्शन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार बस्नेतले जानकारी दिए । ‘दर्शनार्थीहरुको यही भिड देखियो,’ बस्नेतले भने, ‘पाँचपोखरी जाने बाटो बन्द र भूकम्पका कारण पनि यो वर्ष उता जानेहरुले यतै दर्शन गरे ।’

उता भैरवकुण्ड लगायतका अन्य तीर्थस्थलहरुमा पनि जनैपूर्णिमाको कुनै रौनक नदेखिएको स्थानीयले जानकारी दिएका छन् । जनैपूर्णिमा मात्रै होइन, नागपञ्चमी पनि उस्तै रहयो जिल्लामा । भूकम्पले सबै घर ध्वस्त भएपछि दैलोबिनाको नागपञ्चमीको जिल्लामा खासै महत्व नै देखिएन । अघिल्लो वर्ष जिल्लामा ४० हजार भन्दा बढी नागको तस्विरको खपत हुने भए पनि यो वर्ष ५ हजार नागको तस्विर पनि खपत भएको थिएन ।

चाडपर्व खल्लो

नाग टाँस्दै हिँड्ने पुरोहितहरु पनि यो वर्ष धेरै फुर्सदिला भएका थिए । विञ्ज्यालका मायानाथ नेपाल मात्रै होइन, सानोसिरुवारीका रमेश धिताल जस्ता धेरै पुरोहितहरु अघिल्लो वर्ष नाग टाँसेरै राम्रो आम्दानी गर्ने गरेका थिए । तर यो वर्ष दुबैको घर नै भत्के पछि न आफ्नो घरमा नै नाग टाँसे न त अरुको घरमा नै नाग टाँस्नै गए । दुबै एकै स्वरमा भन्छन्, ‘न घर छ, न दैलो नै छ, कता लगेर नाग टाँस्नु र ?’

आइतबारदेखि सुरु भएको गाईजात्रे पर्वको पनि जिल्लामा खासै रौनकै नै छैन । सदरमुकाम चौतारामा गाईजात्राको पहिलो दिन भूकम्पमा मृत्यु भएका र यो वर्ष अन्य कारणले मृत्यु भएकाहरुका आफन्तले गाईजात्रा निकाले पनि गत सालको जस्तो कुनै रौनक नै आएन ।

भूकम्पबाट जिल्लामा ३५ सय ५० को मृत्यु भयो, भूकम्पले थुप्रै मानिसहरु विस्थापित भएर जिल्ला छाड्न बाध्य भए । अहिले पनि धेरै जिल्लाबासीहरु कोही जंगलमा त कोही राजधानीको विभिन्न स्थानमा कष्टसँग दैनिकी गुजारा गरिरहेका छन् ।

हिन्दु धर्मावलम्बी महिलाहरुले मनाउने तिज नजिकिँदै गर्दा जिल्लाका प्रायः मन्दिरहरु सबै भूकम्पमा ध्वस्त भएका छन्

‘सदरमुकाम चौताराको पुरानो बजारमा रहेको कृष्ण मन्दिरमा विभिन्न कार्यक्रमका साथ मनाइने गाईजात्रा यो वर्ष भएन । मन्दिर नै ढलेपछि स्थानीय कोही पनि आएनन्,’ पुराना बजारका स्थानीय एवम पत्रकार जीवन श्रेष्ठले भने । विगत ३७ वर्षदेखि कृष्ण मन्दिरको भित्तोमा सामाजिक, राजनीतिक लगायत अन्य विषयमा गरिने कडा व्यङग्य पनि यो वर्ष देखिएन । ‘भित्ते पत्रिका मार्फत कडा व्यंग्य गर्ने गरे पनि न मन्दिर रह्यो, न त भित्तो नै । त्यसैले यो वर्ष केही टाँसिएन,’ पत्रकार श्रेष्ठले भने ।

चौतारा जस्तै जलवीरे, मेलम्ची, बाह्रविसे लगायतका बजारमा पनि गाईजात्राको कुनै उत्साह देखिएको छैन । अब नजिकिँदै गरेको तिज, कुशे अाैंसी, दसैं तिहार जस्ता चाडपर्व पनि खासै उल्सामय नहुने देखिएको छ ।

हिन्दु धर्मावलम्बी महिलाहरुले मनाउने तिज नजिकिँदै गर्दा जिल्लाका प्रायः मन्दिरहरु सबै भूकम्पमा ध्वस्त भएका छन् । कसरी र कता गएर मनाउने यस्तो बेलामा तिज मांखाकी रबिना तिमिल्सिनाले भनिन् । ‘माइतीहरु लिन नआएको, सासूले दुःख दिएको जस्तो वेदना हालेर तिजको एक दिन महिलाहरुले आफ्नो वेदना पोख्ने गरे पनि यो वर्ष माइती लिन आउनलाई न धेरैको माइती नै छ न त माइतीमा घर नै त्यसैले जे छ यतै बस्ने हो,’ पाङ्ग्रेटारकी देउती नेपालले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment