Comments Add Comment

मलेसियामा ९० वर्षे महाथिर सडकमा ओर्लिएपछि….

१६ भदौ, काठमाडौं । भ्रष्टाचार विरोधी आन्दोलनका कारण यतिबेला मलेसियाको सडक तातेको छ । लगातार २४ वर्षसम्म प्रधानमन्त्री पदमा बसेका पूर्वप्रधानमन्त्री एवं मलेसियाका चर्चित राजनेता मोहम्मद महाथिर ९० वर्षको उमेरमा युवाहरुसँगै सडकमा उत्रिएका छन् ।

Mahathir

मलेसियाका प्रहरीले पूर्व प्रधानमन्त्री महाथिरलाई उनले हालै एउटा सरकारविरोधी प्रदर्शनका क्रममा दिएको अभिव्यक्तिका विषयमा प्रश्न गर्ने भएको छ । उक्त प्रदर्शनमा महाथिरले सत्तासीन दलका नेताहरुले घुस खाएको आरोप लगाएका थिए ।

डा. महाथिर र बर्सिस प्रजातन्त्र पक्षधर आन्दोलनले वर्तमान प्रधानमन्त्री नाजिक रजाकमाथि भ्रष्टाचारको आरोप लगाउँदै राजीनामा दिन माग गरिरहेको छ ।

बेरिसको सप्ताहान्त प्रर्दशनमा देशभरि दसौं हजारले भाग लिएका थिए । डा. महाथिरका प्रवक्ता सुफी युसुफले रोयटर्सलाई भने, ‘जहाँसम्म मलाई थाहा छ, अहिलेसम्म प्रहरीले उहाँलाई कुनै सम्पर्क गरेको छैन । आवश्यक परेको खण्डमा हामी प्रहरीसँग समन्वय गर्न तयार छौं ।’

डा. महाथिरले गत शनिबार राजधानी क्वालालम्पुरमा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले आफ्ना पूर्व सहयोगी नाजिबलाई सत्ताबाट हटाउन शक्तिशाली आन्दोलनको आह्वान गरे । नाजिबले भने आफूमाथि लागेका भ्रष्टाचारका तमाम आरोपहरुको खण्डन गर्दै आएका छन् । डा. महाथिरले आफूविरुद्ध राजनीतिक प्रपोगण्डा मच्चाउन खोजेको उनको प्रत्यारोप छ ।

डा. महाथिर मलेसियामा हालसम्मै सबैभन्दा लामो अवधिका प्रधानमन्त्री हुन् । १९८१ देखि २००३ सम्म उनी पदमा रहे भने बाँकी समय पनि राजनीतिमा शक्तिशाली छन् । ९० वर्षीय वृद्ध महाथिरले नाजिबको पार्टी संयुक्त मले राष्ट्रिय संगठन (यूएमएनओ) लाई नेतृत्व दिँदै आएका थिए ।

प्रहरी महानीरक्षक खालिद अबु बकारले प्रकारहरुसित आमसभामा संवोधन गर्दा महाथिरले यूएमएनओका डिभिजन प्रमुखले घुस खाएकोसहित हरप्रकारका आरोपहरु लगाएको बताए ।

‘हामी उहाँले यस्तो सूचना कहाँबाट प्राप्त गर्नुभयो भन्ने जान्न चाहन्छौं, मलाई आशा छ उहाँले सहयोग गर्नुहुनेछ,’ उनले भने । खालिदका अनुसार अवैधरुपमा आयोजना गरिएको आमसभाका आयोजक र अन्य मुख्य व्यक्तिहरुलाई पनि सोधपुछ गरिनेछ ।

न्ाजिबले मलेसियाको राष्ट्रिय लगानी कोष १ एमडीबीबाट पैसा लिएको आरोप अस्वीकार गर्दै आएका छन् । भ्रष्टाचारविरोध निकायले उनको निजी खातामा रहेको ७० करोड डलर विदेशी चन्दाबाट प्राप्त गरेको ठहर गर्दै उनलाई सफाइ दिइसकेको छ ।

के हो १ एमडीबी ?

प्रधानमन्त्री पदमा नियुक्त भएपछि नजिब रजाकले रणनीतिक राज्य कोषका रुपमा १ मलेसिया विकास कोष (१ एमडीबी) सन् २००९ मा स्थापना गरेका थिए । यो कोषले राजधानी क्वालालम्पुरलाई आर्थिक केन्द्रका रुपमा विकास गर्ने परिकल्पना गरेको छ ।

यो कोषले बैंक तथा बोन्डहोल्डरहरुलाई तिनुपर्ने ११ अर्ब डलर तिर्न नसकेपछि राष्ट्रिय चासोको विषय भएको थियो । महाथिरले कोषले अति धेरै ऋण लिएको र पारदर्शिता नअपनाएको आरोप लगाएका थिए । उनले नजिबको परिवारको बिलासी जीवनशैली माथि पनि प्रश्न उठाएका थिए ।

यसैबीच वाल स्टि्रट जर्नलले कोषबाट नजिबले आफ्नो बैंक अकाउन्टमा ७० करोड डलर सारेको दाबी गर्दै समाचार प्रकाशित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment