Comments Add Comment

दाइले विवाहित महिला भगाए, दुई वहिनीलाई बलात्कार गर्न पञ्चायतको आदेश !

१७ भदौ, नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीबाट केवल ३० माइल दूरीमा पर्छ भागपत गाउँ । यो गाउँका मानिसहरुले हालै ‘पञ्चायती’ बसेर यस्तो फैसला गरे, सारा विश्वलाई स्तब्ध र लज्जित तुल्याइदिएको छ ।

minakshiदाइले विवाहित महिलालाई भगाएको बदला लिन उनका दिदीबहिनीमाथि बलात्कार गर्ने र कालोमोसो दलेर नांगै गाउँ घुमाउने फैसला पञ्चायतले लिएको थियो । त्यसपछि २३ र १५ वषर्ीया दिदीबहिनी अहिले दिल्लीमा भूमिगत भएर बसिरहेका छन् भने दाइलाई झूटो मुद्दामा जेल हालिएको छ ।

बलत्कारको सजायँ पाएका मध्ये दिदी मीनाक्षीले सञ्चार माध्यमलाई अन्तरवार्ता दिँदै आफूहरुमाथि भएको प्रताडनाबारे मुख खोलेकी छिन् । गाउँका जेठा बाठाहरुको धाकधम्कीले गर्दा आफूहरु राति निदाउन नसकेको र घरबाट बाहिर निस्कनसमेत नसेकको उनले बताइन् ।

‘म निदाउन सक्दिँन । असाध्य डर लागेको छ,’ दिल्लीको कुनै अज्ञात स्थलमा कुराकानी गर्दै उनले भनिन्, ‘अब हामी कसरी आफ्नो घरमा फर्कौं ? हामी फर्कियौं भने उनीहरुले पक्कै आक्रमण गर्नेछन् वा बलात्कार गर्नेछन् । आज गरेनन् भने भविश्यमा पक्कै गर्नेछन् ।’

गाउँलेहरुले उनीहरुमाथि बलात्कार आदेश दिँदा दिदीबहिनी दुबैजना एउटा वैवाहिक कार्यक्रममा भाग लिन दिल्ली आएका थिए । एक छिमेकीले उनीहरुलाई फोन गरी गाउँ नफर्किन सल्लाह दिएको मीनाक्षीको भनाइ छ ।

दुई वर्ष लामो प्रेम

उनीहरुका दाइ २५ वर्षीय रविकुमारको कथित माथिल्लो जातकी एक युवतीसित दुई वर्षदेखि प्रेम थियो । तर, युवतीका परिवारले भने जबरजस्ती उनको बिहे आफ्नै जातको अर्को पुरुषसित गराइदिए । बिहे गरेको एक महिनापछि उनी पुरानो प्रेमीसित टाप ठोकेकी थिइन् ।

रविका जेठा दाजु सुमितकुमार दिल्ली पुलिसमा काम गर्छन् । उनले आफ्नो भाइलाई ती युवतीसित सम्बन्ध तोड्न पहिलेदेखि नै दबाव दिँदै आएका थिए ।

रवि भन्छन्, ‘हामी तल्लो जातका हौं र उनीहरु माथिल्लो जातका । हामीले छोएको उनीहरु खाँदैनन् । त्यसैले मैले भाइलाई भनेको थियो, यो सम्वन्ध गाँसिन सक्दैन । तर, उसले मेरो कुरा सुनेन र आज त्यसको परिणाम भोगिरहेको छ ।’

रवि र कृष्णाको दुई वर्षअघि उत्तर प्रदेशको खेकडामा एउटा कम्प्युटर क्लासमा भेट भएको थियो । त्यहाँबाट सुरु भएको मित्रता विकसित भएर प्रेममा परिणत भयो । यो कुरा थाहा पाएपछि रविका बुवाले तत्कालै सम्वन्ध तोड्न छोरालाई आदेश दिएका थिए । रविले छोड्ने प्रयास गरे तर सकेनन् ।

आखिरमा कृष्णाका अभिभावकले एउटा केटो खोजेर उनको विहे गरिदिने निश्चिय गरे, तर कृष्णाले मानिनन् । रविका दाजु सुमित भन्छन्, ‘कृष्णाको परिवारले उनलाई धेरै यातना दिएर मेरो भाइलाई पनि कयौं पटक धम्की दिए । आखिरमा केही नलागेपछि भाइले कृष्णालाई अर्को केटासित बिहे गर्न आग्रह गर्‍यो ।’

कृष्णाको बिहे हरियाणका युवकसित भयो । तर, उनी खुशी रहन सकिनन् । परिवारले उनलाई दासीको जस्तै व्यवहार गर्थे । एक दिन उनी घर छाडेर माइतीमा आइन् । माइती आएपछि फेरि रवीसित उनको गोप्य भेटघाट सुरु भयो । अन्ततः उनले कृष्णालाई भगाइछाडे ।

‘मैले भाइलाई पटक-पटक सम्झाएँ कि यो खतरनाक कुरा हो र अन्तमा हाम्रो परिवारले नै नोक्सानी भोग्नुपर्नेछ । तर, प्रेमका अगाडि उ हार्‍यो । अब उसको मात्रै भविश्य बर्बाद भएन, हाम्रो परिवारै संकटमा परेको छ,’ सुमित भन्छन् ।

झूटो मुद्दा लगाएर जेल

कृष्णाका परिवारले रविमाथि लागूऔषध कारोवारी भएको झूटो आरोप लगाउँदै प्रहरीमा उजुरी गरे । प्रहरीले उनलाई पक्राउ गरेर अहिलेसम्म जेलमा राखिरहेको छ । उनलाई धरौटीमा छुटाउन सकिने भएपछि सुरक्षालाई ख्याल राखेर जेलमै राख्ने निर्णय परिवारले लिएको छ ।

भागपत गाउँमा २५० दलित र ७ हजार ठूला भनिने जातमा मानिसहरु बस्छन् । मीनाक्षी भन्छिन्, ‘मेरो बुवालाई छिमेकीले फोन गरेर हामीलाई घर नल्याउन आग्रह गरेछन् ।

गाउँलेहरु पञ्चायती बसेर हामी दिदी बहिनीलाई बलात्कार गर्ने अनि कालोमोसो दलेर गाउँ घुमाउने निर्णय गरेका रहेछन् । उनीहरु एक अर्कालाई माया गर्छन् र आपसी सहमतिमा घर छाडेका हुन् । यसका लागि हाम्रो के दोष ? जब कुनै गल्ती गरेका छैनौं भने किन दण्डित हुनुपर्ने ?’

‘हाम्रो परिवार गाउँमै हुनुहुन्छ । उनीहरुले कुनै पनि बेला हाम्रो परिवारमाथि आक्रमण गर्न सक्छन् । हामी अब कसलाई गुहार्न जाउँ ?’

अझै छ पञ्चायती अभ्यास

भारतको सर्वोच्च अदालतले देशभरका अनिर्वाचित गाउँ परिषद, जसलाई चलन चल्तीमा पञ्चायत भन्ने गरिन्छ, लाई अवैध घोषणा गरिसकेको छ । तर, गाउँ-गाउँमा पञ्चायतको अभ्यास अहिले पनि जारी छ । कथित उच्च जातका गन्ने मान्ने मानिसहरुको भेलालाई पञ्चायत भनिन्छ, जसले गाउँभित्र उत्पन्न हुने विभिन्न किसिमका विवादहरुमा निर्णय लिन्छ ।

रविको परिवारले सर्वोच्च अदालतमा रिट दायर गरिसकेको छ । सुमितले प्रधानमन्त्री, मुख्यमन्त्री, राष्ट्रिय मानवअधिकार आयोग, सुचीकृत जातको राष्ट्रिय आयोगलगायतका निकायहरुमा पनि पत्र पठाएका छन् । तर, कसैले केही चासो दिएनन् ।

मानवअधिकारवादी संगठन एम्नेस्टी इन्टरनेसनलले भने यो विषयलाई चर्काइरहेको छ । ज्यादतीको विरोधमा उक्त संस्थाले गरेको हस्ताक्षर संकलनमा करिब १ लाखले हस्ताक्षर गरिसकेका छन् ।

कृष्णा अहिले माइती परिवारमै छिन् । उनलाई कसैसित कुरा गर्न नदिई कडा निगरानीमा राखिएको छ । प्रहरीले बयान लिँदा उनले आफूलाई रवि र उनका दाजुले जबरजस्ती दिल्लीमा लगेर बलात्कार गरेको बताएकी थिइन् । परिवारको धम्कीका कारण उनले यस्तो बयान दिएकी हुन् ।
डेलीमेलको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment