Comments Add Comment

सवा तीन अर्बको सौन्दर्य सामाग्री भित्रियो

Cosmetic-goods

१८ भदौ, काठमाडौं । नेपालीहरु आफ्नो सौन्दर्यताप्रति सचेत हुन थालेपछि सौन्दर्य (कस्मेटिक) सामाग्रीको प्रयोग बढ्न थालेको छ । विदेशबाट आयात गरिने प्रमुख वस्तुहरुमा सौन्दर्य सामाग्री पनि पर्न थालेको छ ।

गत आर्थिक वर्ष २०७१/०७२ मा तीन अर्ब २४ करोड रुपैयाँ बराबरको सौन्दर्य सामाग्री आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा झण्डै ४६ करोड रुपैयाँले बढी हो । आव २०७०/०७१ मा दुई अर्ब २२ करोड ८७ लाख रुपैयाँ बराबरको सौन्दर्य सामाग्री आयात भएको थियो ।

मानिसहरु आफ्नो सुन्दरताप्रति सचेत हुन थालेपछि कस्मेटिक समानको प्रयोग बढेको बरिष्ठ व्युटिसियन कमला श्रेष्ठ बताउँछिन् । ‘आयात बढेको माग बढेर हो’ उनले भनिन्- ‘तथ्यांकले नै देखाउँछ, मनिसहरु सुन्दरताप्रति कति कन्सेस बनेका छन् ।’

साधारण मानिसले समेत कस्मेटिक प्रयोग गर्न थालेको नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रिय सदस्यसमेत रहेकी श्रेष्ठको भनाई छ । गाउँ शहर दुबै ठाउँका मानिसहरु कष्मेटिक प्रयोग गर्न थालेपछि आयात बढेको उनले बताइन् ।

सौन्दर्य सामाग्री आयात अवस्था

देश २०७०/०७१ (दशलाखमा) २०७१/०७२ (दशलाखमा)
भारत १६०५.६ १८६६.०
चीन २८७.२ २८१.७
अन्य मुलुक ८८५.९ १०९३.२
जम्मा २७७८.७ ३२४०.९

मानिसलाई सुन्दरताप्रति सचेत गराउन ब्युटिसियन व्यवसायीको ठूलो हात रहेको उनले दाबी गरिन् । ‘देशका कुना काप्चासम्म ब्युटिसियन व्यवसायी फैलिएका छन’ उनले भनिन्- ‘पहिला फालिएर हिँड्नेहरु पनि अहिले ठाँटिएर हिँड्न थालेका छन् ।’

नेपालमा खासगरी भारत, चीन, कोरिया, जापान, युरोपियन तथा अमेरिकाबाट कस्मेटिक समान आउने गरेको छ । गएको वर्ष भारतबाटमात्र १ अर्ब ८६ करोड ६० लाख रुपैयाँ बराबरको कस्मेटिक आयात भएको छ ।

यसैगरी चीनबाट २८ करोड १७ लाख रुपैयाँको आयात भएको छ भने अन्य मुलुकबाट १ अर्ब ९ करोड ३२ लाख रुपैयाँ बराबरको कस्मेटिक आयात भएको छ । पछिल्लो समय नेपालमा पनि केही मात्रामा कस्मेटिक सामाग्री उत्पादन हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment