२४ असोज, ललितपुर । बजारभाउ आकासिए पनि रातो मच्छिन्द्रनाथलाई चढाइने भातका लागि खर्च नबढाइएकोमा गुठियारले गुनासो गरेका छन् ।
मलेकु थरका पुल्चोकका नेवारले भोटो जात्राको अघिल्लो दिन रातो मच्छिन्द्रनाथका लागि भात पकाएर चढाउने प्रचलन छ । भात पकाउन गुठी संस्थानले १० हजार रुपैंयाँ दिँदै आएकामा सो अपुग भएको गुनासो उनीहरुले गरेको गोरखापत्रमा खबर छ ।
मदन मलेकुले गुठी संस्थानले उपलब्ध गराउने रकमले बाजा बजाउनेलाई दिँदा ठिक्क हुने बताउँदै आर्थिक अभावले भात पकाउने परम्परा धान्न मुश्किल भइसकेको गुनासो गरे ।
अहिलेसम्म आफ्नै खल्तीबाट रकम खर्च गरेर जात्रा धानिरहेको उनले बताए । रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको तेस्रो दिनमा भात चढाउने परम्परा छ । पुल्चोकको पाटीमा आठ पाथी चामलको भात पकाइन्छ र साँझ जावलाखेलस्थित मच्चिन्द्रनाथ र मीननाथलाई चढाइन्छ । भात पकाउन मलेकु थरका बासिन्दालाई मल्लकालदेखि नै जिम्मा दिँदै आएको मान्यता छ ।
भात पकाउनका लागि बुङमतीबाट दुई जना भान्से र एक जना सहयोगी ल्याउने चलन छ । विगतमा उनीहरुले निःशुल्क खाना पकाउने गरेकोमा केही वर्षयता जनही दुई हजार रुपैयाँ दिने गरिएको छ । उनीहरुले विहान १० बजेबाट खाना पकाउन थाल्छन् । उनीहरु मच्छिन्द्रनाथ र मीननाथलाई भात नचढाइँदासम्म भोकै बस्नुपर्ने हुँदा उनीहरुलाई दक्षिणस्वरुप रकम दिने गरिएको गुठियारहरु बताउँछन् । देउतालाई भोजन चढाइसकेपछि भान्सेलाई राम्रैसँग खुवाइपियाई गर्नुपर्ने हुन्छ । गुठियारमध्येका एक मदन मलेकुले गुभाजुले पूजा गरिसकेपछि भात पकाउन शुरु गर्ने चलन रहेको र ती गुभाजुलाई समेत एक हजार रुपैयाँ दक्षिणा दिने चलन रहेको बताए ।
भात पकाइसकेपछि जावलाखेलमा लैजादा स्थानीय महर्जन समुदायले बाजा बजाउनुपर्ने चलन छ । जावलाखेल प्रस्थान गर्नुअघि महर्जन समुदायलाई रक्सी र मासु खुवाउनुपर्ने र भात चढाइसकेपछि फेरि रक्सी र मासु खुवाउनुपर्ने चलन रहेको छ ।
प्रतिक्रिया 4