+
+
Shares

नयाँ प्रधानमन्त्रीका विशेषताः अडानमा कडा, व्यवहारमा लचिला

नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता कमरेड केपी ओली भर्खरै प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकोछ । कमरेड केपी ओलीलाई गएका तीन वर्षहरुमा एकपछि अर्कोगरी सफलता प्राप्त भए । ०७० सालमा उहाँ पार्टी संददीय दलको नेतामा विजय हुनुभयो, ०७१ मा पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र ०७२ मा संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै संविधान जारी गराउन र संसदबाट मुलुकको ३८ औं प्रधानमन्त्रीको रुपमा निर्वाचित हुनुभयो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते १०:३४

डा. प्रेम दंगाल
नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता कमरेड केपी ओली भर्खरै प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकोछ । कमरेड केपी ओलीलाई गएका तीन वर्षहरुमा एकपछि अर्कोगरी सफलता प्राप्त भए । ०७० सालमा उहाँ पार्टी संददीय दलको नेतामा विजय हुनुभयो, ०७१ मा पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र ०७२ मा संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै संविधान जारी गराउन र संसदबाट मुलुकको ३८ औं प्रधानमन्त्रीको रुपमा निर्वाचित हुनुभयो ।

Prem Dangalउहाँ यतिबेला प्रधानमन्त्री हुनुभएको छ, जतिबेला मुलुकका सामु चुनौतीका पहाड छन् । तीमध्ये केही हुन् : छिमेकी देश भारतको अघोषित नाकाबन्दीबाट भैरहेको असहज आपूर्तिको अवस्था, तराईसमेत विभिन्न भागहरुमा भएका आन्दोलन, भूकम्पबाट क्षतिग्रस्थ संरचनाको पुननिर्माण र नवनिर्माण, मुलुकमा विद्यमान गरिवी, बेरोजगारीको अवस्था, संविधानको कार्यान्यवन, प्रमुख विपक्षलाई मिलाएर लैजाने, सत्ता साझेदारी दलहरुको वीचमा सन्तुलन आदि हुन् ।

यी चुनौतिलाई सामना गर्न उहाँको नेतृत्वदायी क्षमता नै उहाँको सफलताको मुख्य कडि हो । उहाँले प्रदर्शन गरेको यही नेतृत्वदायी क्षमताका कारण समकालीन परिस्थितिमा उहाँ सर्वाधिक लोकपि्रय नेता हुनुहुन्छ भन्दा सायद अतिसयुक्ति हुनेछैन । संविधानसभामा उहाँले खेल्नुभएको भूमिका नेपाली जनजनले महसुस गर्न पाए ।

उहाँले सबैभन्दा पहिला आफ्नो पार्टीलाई एकतावद्ध गर्नु भयो त्यसपछि अन्य राजनीतिक दलहरुलाई । सही विचार, अडान र दृष्टिकोण अगाडि सारी अन्य दलहरुलाई पनि सहमत गराउन उहाँ सफल हुनुभयो । देशी विदेशी अनेकन षडयन्त्रलाई पराजित गर्न दलहरुवीचको यही एकता कामयावी सावित भयो ।

नेतृत्व गर्ने व्यक्ति सबैभन्दा पहिला आफु वैचारिक रुपले स्पष्ट हुनु पर्दछ । आफु स्पष्ट भएपछि आफ्नो संस्था र अन्यलाई त्यसमा सहमत गराउनुपर्छ । उहाँले त्यही गर्नु भयो । यो पार्टी बाहिरको कुरा हो । पार्टीमा पनि उहाँले आफुलाई एक वैचारिक मूल नेताको छवि स्थापित गराउनुभएको छ । जनताको बहुदलीय जनवादको मर्म र भावनालाई बुझ्न र आत्मसात गर्न कमरेड ओली मदनपछिको नेताको रुपमा हुनुहुन्छ ।

कमरेड मदनको रहस्यमय हत्यापछि जबजलाई मार्गदर्शक विचार र सिद्धान्तसम्मको तहमा विकसित गर्न उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नु भयो । त्यसैले कमरेड ओली जबजको कट्टर पक्षपाती, व्याख्याता र पक्षपोषणकर्ता हुनुहुन्छ । यही भूमिकाले मदनको अवशानपछि उहाँ पार्टीमा वैचारिक नेताका रुपमा स्थापित हुनुभयो । जबजको विकास गर्ने क्रममै उहाँले सातौं महाधिवेशनमा पार्टीको लोकतान्त्रीकरणको विषय अगाडि सार्नु भयो । जुन विचारलाई आठौं महाधिवेशनमा पार्टीले सर्वसम्मतिले स्वीकार गर्‍यो । त्यसैले उहाँ पार्टीभित्र विचारको अगुवा हो, नेतृत्व केन्द्र हो ।

कमरेड ओलीमा विचारको निरन्तरता र स्थिरता छ । प्रायः नेताले एक घण्टा अगाडि र पछाडि वोलेको कुरा परस्पर विरोधी देखिन्छन् ।

बिहान बोलेको कुरा बेलुका आफैंले काट्ने प्रवृत्ति देेखिन्छ । तर, कमरेड ओलीमा विचारमा स्थिरता पाइन्छ । उहाँले के कुरा बोल्ने पटकपटक सोच्नु हुन्छ र बोलेपछि त्यसैमा अडिने र त्यही विचारमा अरुलाई पनि सहमत गराउने बानी उहाँमा छ । जुन कुरा एउटा राजनेतामा हुनु पर्ने विशिष्ट गुण हो ।

कमरेड ओलीले जबजको आलोकमा कस्तो पार्टी निर्माण गर्ने ? पार्टी कामको वैज्ञानिक व्यवस्थापन, नेतृत्व निर्माण र जिम्मेवारीका सन्दर्भमा पार्टी संगठनलाई कसरी लोकतान्त्रिकरण गर्ने भन्ने अवधारणा पार्टीमा ल्याउनुभयो ।

कम्युनिष्ट पार्टीलाई विधि र प्रक्रिया सम्मत ढंगले संचालन गर्दै लोकतान्त्रिकरणको यो प्रक्रिया राज्यका निकाय र समाजसमेतमा पुर्याउने जबजको सोचलाई मूर्त रुप दिने कामको अगुवाई गर्नु भयो । जुन कुरा एमालेमा मात्र हैन मुलुकका अन्य पार्टी र संस्थाहरुले समेत आत्मसात गरिरहेका छन् । मुलुकको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्याउनु भएको यो महत्वपूर्ण योगदान हो ।

कमरेड ओलीमा विलक्षण नेतृत्व कौशलता छ । पार्टीको मूल नेता र राष्टको प्रमुख कार्यकारी नभएकै अवस्थामा पनि उहाँले लिएका विचार र अडानहरुमा पार्टी नीति बन्ने गरेको अवस्था थियो । मूल नेता नहुँदा पनि पार्टी संगठन उहाँको विचार अनुशार चल्ने र राज्यको प्रमुख जिम्मेवारी नसम्हालेको व्यक्ति भए पनि राज्यले पत्याएको व्यक्तिको रुपमा उहाँ स्थापित हुनु हुन्थ्यो । उहाँमा समय र परिस्थितिको ठीक ढंगले विश्लेषण गरेर विचार बनाउने, निष्कर्ष निकाल्ने र समयमै निर्णय लिन सक्ने क्षमता छ । कमरेड ओली एमालेको स्थायी समितिको सदस्य भएरमात्र पनि मुलुकको राजनीति र पार्टी राजनीतिलाई आफु वरपर घुमाउन सफल हुनु भएको थियो भने पार्टीको मूल नेताका रुपमा रहेपछि उहाँले पार्टीलाई कसरी अगाडि बढाइरहनु भएको छ, यो सबैमा जाहेर भएकै विषय हो ।

नेकपा एमालेको विचार निर्माणमा कमरेड ओलीको महत्वूर्ण योगदान छ । अझ पार्टीमा संकट पैदा भएका बखतमा उहाँको नेतृत्व क्षमता प्रदर्शन भएको छ । पार्टीमा आएका अनेकन अप्ठ्यारा मोडहरुमा उहाँले पार्टी र नेतृत्वलाई बचाएर ल्याउनुभएको छ । उहाँलाई पार्टीपंक्ति र दुनियाँले संकटको नेताको रुपमा बुझ्ने गरेका छन् ।

पार्टी निर्माणका अनेकन मोड र चरणहरुमा उहाँले लिएका विचार र अडानहरु प्राय सधै सहि सावित भएका छन् । पार्टीमा विचारधारात्मक बहस हुँदा होस् वा राष्ट्रिय राजनीतिका विभिन्न विषयहरुमा बहस र छलफल हुँदाहोस् उहाँले लिएका विचारहरु प्रायः सधै सही सावित भएका छन् ।

विचारमा जुझारुपन र व्यवहारमा लचिलोपन अपनाउने शैली जनपि्रय शैली हो, जुन कुरा नेतृत्वमा हुनु पर्दछ । कमरेड ओलीमा जुझारु र लचिलो हुन सक्ने दुवै गुणहरु छन् । उहाँले सोची विचारी लिएका विश्लेषण र निष्कर्षहरुमा उहाँ कहिल्यै कसैसित सम्झौता नगर्ने स्वभाव देखिन्छ भने सोही कुरा लागू गर्न भने उहाँ ज्यादै लचिलो देखिनु हुन्छ ।

कमरेड ओली नेकपा एमाले संसदीय दल, पार्टी र राज्यबाट अनुमोदन हुनु भएको छ । संसदीय दलमा निर्वाचित भएपछि त्यस जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गरिरहनुभएको छ । त्यसपछि आयोजना गरिएको पार्टीको नवौं महाधिवेशनमा कमरेड ओली पार्टी अध्यक्षमा निर्वाचित हुनुभयो र कुशलतापूर्वक नेतृत्व प्रदान गरिरहनुभएको छ भने अहिले उहाँ मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ र उहाँको नेतृत्व क्षमता विश्लेषण गर्न यो जिम्मेवारी पनि उहाँले कुशलतापूर्वक पूरा गर्नुहुनेछ ।

कमरेड ओली एमालेमा झापा आन्दोलनको नेतृत्व मध्येका अगुवा हुनुहुन्छ । उहाँ झापा आन्दोलनको विरासत हो । एमाले बन्नु र चल्नुमा झापा आन्दोलनको राप र तापले सधै मार्गदर्शन गरेको छ । र त्यो आन्दोलनको नेतृत्वकर्तामध्येका एक कमरेड ओली मुलुकको कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको मुल नेतृत्वका रुपमा झापा आन्दोलनको विरासतलाई कायम राख्न सफल हुनु भएको छ । अहिले राज्यकै प्रमुख कार्यकारी जिम्मेवारीमा पुग्नुभएको छ ।

कमरेड ओलीले दक्षिणपन्थदेखि उग्रवामपन्थसँग एकैसाथ जुझ्ने व्यक्तिका रुपमा परिचय बनाउनु भएको छ । राजाको एकछत्र राज चलेका बेला, कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भएका बेला र अन्य दलहरु पनि कमजोर भएका बेला निर्दलीय व्यवस्था र राजतन्त्रको अन्त र गणतन्त्र स्थापनाका लागि झापा आन्दोलनको सिर्जनाकर्ता मध्येका एक हुन् कमरेड ओली । उक्त आन्दोलनले राजतन्त्र र निरंकुश पञ्चायती व्यवस्थाका विरुद्धमा विगुल फुकी मुलुकवासीलाई उर्जा पैदा गरेको थियो । यसक्रममा उहाँले अत्यन्त कष्टसाध्य जीवनसमेत बिताउन बाध्य हुनुभयो । पछिल्लो कालमा उग्रवामपन्थी धारलाई रुपान्तरण र कम्युनिष्ट क्रान्तिकारी लोकतान्त्रिक धार निर्माण गर्न ज्यादै ठूलो संघर्ष गर्नुभयो । उहाँसमेतले यदि झापा विद्रोह नगरेको र कम्युनिष्ट आन्दोलनलाई पुनगर्ठन र एकतावद्ध नगरेको भए र उग्रवामपन्थका विरुद्धमा पछिल्लो कालमा आफु र आफु वरपर पार्टीपंक्ति र राज्यलाई गोलबन्द गर्न नसक्नु भएको भए सायद एमाले पार्टी र मुलुक अहिलेको यही अवस्थामा रहँदैन्थ्यो होला । त्यसैले उहाँ एक कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनको अथक योद्धा हो ।

उहाँका यिनै योग्यता, क्षमता, निष्ठा र नेतृत्वदायी भूमिकालाई उच्च सम्मान गर्दै मुलुकमा क्रियाशील विभिन्न पार्टीहरुको दृढ साथ सहयोगका साथ उहाँ राज्यको कार्यकारी प्रमुख प्रधानमन्त्रीमा विजय हुनुभएको छ, उहाँलाई हार्दिक बधाइ तथा सफलताको शुभकामना ।

(डा. दंगाल राष्ट्रिय योजना आयोगका सदस्य हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?