+
+
Shares

शिक्षा र स्वास्थ्यमा बेनिघाटको उदाहरणीय प्रयास, लगातार दोस्रो वर्ष उत्कृष्ट

आवासीय विद्यालय सञ्चालन गर्न एउटा स्थानीय सरकारको बजेटले धान्ने कुरा पक्कै थिएन। अनि गाउँपालिकाले शुरु गर्‍यो, ‘शिक्षाका लागि भिक्षा अभियान।’

मनिष दुवाडी मनिष दुवाडी
२०८२ भदौ ८ गते ७:४४

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको सर्वसाधारण नागरिकले कसरी थाहा पाउने ? सैद्धान्तिक तर्क धेरै हुनसक्छन् तर नागरिकले बुझ्ने व्यावहारिक जवाफ हो– उनीहरूले महसुस हुने गरी गरिएको काम।
कैयौं चुनौती र आलोचनाका बावजुद पनि यही काम स्थानीय सरकारहरूले गरिरहेका छन् र, उनीहरूले संघीयताको उज्यालो बनेर देशको शासन प्रणालीलाई नागरिकको घरदैलोसम्म पुर्‍याइरहेका छन्।
यीमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा हासिल गरेका ६ वटा उत्कृष्ट स्थानीय तहहरू यस्ता नमूना पालिका हुन् जसको अभ्यास सबैका लागि उदाहरणीय र अनुकरणीय बन्न सक्छन्।
उनीहरूले आफ्नो क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाहलाई कसरी राम्रो बनाए र आफूलाई नागरिकको सेवामुखी संरचनामा बदले ? अनि, कसरी रचे सफलताको कथा ? हामी यस्ता ६ पालिकाका कथा भन्नेछौं। आउनुहोस्, धादिङको बेनिघाट रोराङ गाउँपालिकाको कथा पढौं :

बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ५ स्थित डाँडागाउँका स्थानीय राति खाना खाएर सुत्ने बेला केहीबेर जागै बस्छन्। उनीहरूको गाउँको एउटा घरमा भेला हुन्छन्। यसैमा थपिन्छन्, बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष सहितका जनप्रनितिधिहरू। साथमा हुन्छन्, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं विद्यालयका प्रधानाध्यापकहरू।

यो दृश्य बेनिघाट रोराङ गाउँपालिकाले सञ्चालन गरेको ‘टोलटोलमा अभिभावक शिक्षा, घरघरमा समीक्षा’ कार्यक्रमको हो। शिक्षा र चेतनामा निकै पछाडि परेको महसुस भएपछि बेनिघाट रोराङ गाउँपालिकाले अभिभावक शिक्षाको कार्यक्रम शुरु गरेको हो। दिनभरि सबै काममा व्यस्त हुने हुनाले पालिकाले यो कार्यक्रम कार्यान्वयन गर्न रातको समय खोजेको हो।

बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख कृष्णबहादुर थपलिया (विवेक) भन्छन्, ‘बिहान-दिउँसो काम गर्न जाने, कसैलाई भेट्नै नसकिने। अनि रातको खाना खाएपछि अभिभावकसँग भेटघाट गर्न थाल्यो, यो कार्यक्रम हाम्रो नियमित जस्तै छ।’

शिक्षाका लागि भिक्षा अभियान

गाउँपालिकाले शिक्षामा सुधार गर्नको लागि धेरै खाले योजना बनायो तर, अभिभावकलाई शिक्षित नबनाई बालबालिकालाई विद्यालय पठाउन सकिंदोरहेनछ भन्ने अनुभूति भएपछि अभिभावक शिक्षा कार्यक्रम शुरु गरिएको पालिकाले जनाएको छ। अहिले हरेक विद्यालय आफैंले पनि यो काम आफ्नो क्षेत्रमा नियमित जसो सञ्चालन गरिरहेको छ।

पालिकामा सीमान्तकृत चेपाङ र तामाङ समुदायको बाहुल्य रहेको छ। आफ्नै बारीको उब्जनीले बिहान–बेलुका पेटभरी खान नपुग्ने परिवार धेरै छन्। अनि भोको पेटमा शिक्षा लिन आऊ भन्नु आदर्शवादी कुरा मात्रै हुनेभयो।

त्यसै समस्यालाई समाधान गर्न पालिकाले आवासीय ‘बिग स्कूल’ को योजना बनायो। उक्त योजना अनुरूप अहिले गाउँपालिकाको वडा नं. ८ मा वरपरका गाउँहरूको विद्यालयलाई मर्ज गरेर (साना कक्षा बाहेक) २ देखि ५ कक्षासम्मको आवासीय विद्यालय सञ्चालन शुरु गरेको छ।

करिब २०० विद्यार्थी आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन्। आवासीय विद्यालय सञ्चालन गर्न एउटा स्थानीय सरकारको बजेटले धान्ने कुरा पक्कै थिएन। अनि गाउँपालिकाले शुरु गर्‍यो, ‘शिक्षाका लागि भिक्षा अभियान।’

महायज्ञ लगाएर, चन्दा उठाएर भए पनि गाउँपालिकाले दुर्गम गाउँहरूमा आवासीय विद्यालय सञ्चालन शुरु गरेको छ र आगामी वर्षहरूमा यसलाई अन्य दुर्गम वडाहरूमा पनि विस्तार गर्ने योजना बनाएको छ।

सीमान्तकृतको पोषण सुधार

गाउँपालिकाले आफ्नै खर्चमा पोषण सुधार केन्द्र सञ्चालन गरेको छ। विशेषगरी सीमान्तकृत चेपाङ र तामाङ समुदायको बाहुल्य रहेको गाउँपालिकाको विकटका भूगोलका बालबालिकाहरू पेटभरी खान नपाएकाले कुपोषणको सिकार हुने गरेका छन्।

त्यस्ता कुपोषित बालबालिकाको उपचारको लागि गाउँपालिकाले आवासीय पोषण सुधार केन्द्र स्थापना गरेको छ। त्यहाँ बसेर पोषण उपचार गरेको केही खर्च लाग्दैन। अभिभावकलाई समेत खाने–बस्ने सुविधा सहित कुपोषित बच्चाहरूलाई ३ महिनासम्म पोषण सुधारको लागि सुधार केन्द्रमा राखेर नि:शुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ।

त्यहाँबाट उपचार भएर घर फर्किने बालबालिकाहरूलाई गाउँपालिकाले नगद ५ हजार पोषण खर्च र १ जोर कपडा प्रोत्साहन स्वरूप प्रदान गर्ने गरेको छ।

३ वर्षअघिदेखि सञ्चालनमा आएको यो कार्यक्रममा हालसम्म ७६ जना बालबालिकाले उपचार पाइसकेका छन् भने हाल ५ जना उपचाररत रहेका छन्।

बेरुजु शून्य

आर्थिक वर्ष २०७९/८० मा बेनिघाट रोराङ गाउँपालिका देशभरमै शून्य बेरुजु रहने गाउँपालिका मध्येमा एक रह्यो। त्यस्तै सोही वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा पनि देशभरका गाउँपालिकामध्ये उत्कृष्ट गाउँपालिकामा छनोट भयो।

स्थानीय तह आफैंमा एउटा सरकार हो। हरेक स्थानीय तहसँग एकल अधिकार नै २२ वटा हुन्छन्। तर भौगोलिक विकटता र कठिनाइका अनेकौं पहाड छन् घरघरमा अधिकार पुर्‍याउन। तर पनि जनप्रतिनिधिहरू चुनावमा गरेको बाचा सम्झिएर अहोरात्र खटिइरहेका छन्।

काममा खटाइले मात्र पुग्दैन, सरकार सञ्चालनमा प्रशासनिक अनुशासन पनि हुनुपर्छ, जसमा पनि पालिका अब्बल देखिएको छ। पालिकामा १ अर्ब ३५ करोडको बजेट लेखा परीक्षण हुँदा गाउँपालिकामा शून्य बेरुजु देखिएको हो।

दोस्रो वर्ष पनि उत्कृष्ट

यी माथिका कामहरू बेनिघाट रोराङ गाउँपालिकाले पछिल्ला वर्षमा गरेका केही नमूना कामहरू हुन्। यी कामहरू गाउँपालिकाको संस्थागत क्षमता मूल्याङ्कनको बलियो आधारहरू हुन्।

यी र यस्तै कामहरूले गाउँपालिकालाई फेरि एकपटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदान गर्ने स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा देशभरका गाउँपालिकाहरू मध्येमा लगातार दोस्रो पटक उत्कृष्ट (प्रथम) हुन सफल बनायो।

स्वमूल्याङ्कनमा ९८.५ अंक दाबी गरेको गाउँपालिकाले मन्त्रालयको गुणस्तर परीक्षण पश्चात् ९१.७५ अंक प्राप्त गरी समग्र पालिकास्तरमा तेस्रो र गाउँपालिकास्तरमा देशकै पहिलो बन्यो।

बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्मदा घिमिरेले भनिन्, ‘लिसामा सफल हुनु भनेको नै समग्र गाउँपालिका कसरी सञ्चालन भइरहेको छ भन्ने एउटा उदाहरण हो।’

उनले थपिन्, ‘यसका सूचकहरू आफ्नै छन्, ती सूचकहरू पूरा गर्न गाउँपालिकाले आफ्नै प्रयास पनि गरेको होला, तर सूचक पूरा हुँदै गर्दा त्यसले गाउँपालिकाको सेवा प्रवाह, सुशासन र यहाँको अनुकरणीय अभ्यासहरूलाई पनि देखाउँछ।’

बेनिघाट रोराङ गाउँपालिका सीमान्तकृत समुदायको बाहुल्य रहेको र विकट भूधरातल समेटिएको गाउँपालिका हो। लिसा नतिजाको मापन विकास निर्माणका काममा मात्रै खोज्न नहुने पनि घिमिरेले बताइन्। लिसामा उत्कृष्ट हुनु भनेको जनप्रतिनिधि र कर्मचारीको राम्रो तालमेलको उदाहरण पनि एक हो।

कोही एक जनाले कुनै एउटा काम गरेको भरमा लिसामा सफल नहुने भएकाले योजनाबद्ध विकास निर्माण, संस्थागत क्षमता विकास र सेवाग्राहीमैत्री वातावरण निर्माण गर्न सक्नु नै लिसाको सफलता रहेको घिमिरेको भनाइ छ।

‘हामीले पालिकावासीलाई गरेका सेवाप्रवाहहरू, यहाँको सुशासनका प्रयास, नीतिगत सुधारका योजनाहरू, सामाजिक समावेशीकरण र वातावरण संरक्षणमा नियमित गरिरहेका कामहरूलाई लिसाको सूचकहरूमा जोडेर हामीले स्वमूल्याङ्कनमा प्रमाण सहित दाबी गरेका हौं’, प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भनिन्। उनले थपिन्, ‘मन्त्रालयले हामीले गरेको सप्रमाण दाबीलाई मूल्याङ्कन गरेरै उत्कृष्ट गाउँपालिकामा छानेको हो।’

लिसाको नतिजाले आदर्श र नमूना पालिकाको चित्रण गर्छ, आगामी दिनमा यस्तै नमूना बनिरहन र उदाहरण बनिरहन थप प्रेरणा दिनुका साथै अझ धेरै चुनौती पनि थपिएको घिमिरेले बताइन्।

पालिकाका जनप्रतिनिधिहरू विधिसम्मत सुशासनयुक्त स्थानीय शासन हुनुपर्छ भन्ने कुरामा एकमत रहेको र गाउँपालिकाले गर्ने हरेक निर्णयहरूमा आम नागरिकको सरोकारले विशेष प्राथमिकता पाउने गरेको घिमिरेको भनाइ छ।

प्राथमिकतामा सुशासन र सेवा

सुशासन र संस्थागत सुधारका लागि बेनिघाट रोराङ गाउँपालिकाले १०२ वटा कानून निर्माण गरेर काम गरिरहेको छ।

लिसामा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वय गरी १० वटा विषयगत क्षेत्रहरू रहेका छन्।

लिसामा रहेको १० वटा विषयगत क्षेत्रहरूको ३ वटा आयाम र १०० वटा सूचकहरूको मूल्याङ्कनका आधारमा अंक प्रदान गरिन्छ।

हरेक सूचकको अंकभार एक रहेको र लिसा प्रणालीमा सबै सूचकहरूको प्रमाण सहित स्थानीय तहहरूले दाबी पेश गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तर परीक्षण गर्ने गर्दछ। मन्त्रालयले गुणस्तर परीक्षणमा स्थानीय तहहरूले गरेको दाबी र प्रमाणलाई मूल्याङ्कन गरेर अंक प्रदान गर्ने गर्दछ।

गाउँपालिकाको आफ्नै दाबी पछि मन्त्रालयले गरेको गुणस्तर परीक्षणमा लगातार दोस्रो पटक गाउँपालिका उत्कृष्ट हुन सफल भएको हो।

बेनिघाट रोराङ गाउँपालिकाका लेखा अधिकृत सन्तोष अर्याल भन्छन्, ‘हामी २०७९/८० मा शून्य बेरुजु भएको पालिकामा दर्ज भयौं, २०८०/८१ मा पनि बेरुजु निकै कम छ।’

महिला, बालबालिका र समुदायसँग अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ ।

बेनिघाट रोराङ गाउँपालिका स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकले बताए। गाउँपालिकाको गर्नुपर्ने कामहरू धेरै नै भए पनि विशेष प्राथमिकता शिक्षा र स्वास्थ्यमा रहेको छ।

थपलियाले भने, ‘महायज्ञ लगाएर, चन्दा संकलन गरेर शिक्षामा लगानी गर्नेदेखि गाउँपालिकाकै खर्चमा स्वास्थ्यकर्मीहरू करारमा राखेर गाउँवासीको स्वास्थ्य सेवाको लागि परिचालन गरिएको छ।’

गएको शैक्षिक सत्रमा एसईईको नतिजा पनि राष्ट्रिय औसत भन्दा माथि रहेको र गत वर्षको पालिकाकै नतिजा भन्दा ३१ प्रतिशतले वृद्धि भएको थपलियाले जानकारी दिए। त्यस्तै कक्षा १२ को नतिजा पनि अपेक्षा गरेको भन्दा बढी सुधार भएको बताए।

साविकका गाविसहरूमा स्वास्थ्य चौकी मात्रै रहेको अवस्थामा अलिकति गतिलो उपचार खोज्न पनि चितवन र काठमाडौं जानुपर्ने बाध्यतालाई कम गर्न गाउँपालिकाकै पहलमा आधारभूत अस्पताल सञ्चालन गरिएको थपलियाले बताए। उनले भने, ‘कम्तीमा मेडिकल अधिकृतको सेवा २४सै घण्टा पाउने गरी व्यवस्था मिलाएको छौं।’

जनप्रतिनिधि र कर्मचारीको लोभलाग्दो सहकार्य

आर्थिक रूपले विपन्न समुदायको बाहुल्य रहेकाले गाउँपालिकामा रहेका कुपोषित बालबालिकाको उपचारका लागि पोषण गृह सञ्चालन गरिएको र जनसंख्या र भूगोललाई मध्यनजर गरी स्वास्थ्य संस्था विस्तार, स्वास्थ्यकर्मीहरूको क्षमता विकास तथा स्वास्थ्य संस्थाहरूको सेवा सुधार गरिएको थपलियाले बताए।

पालिकाले गरिरहेका यी र यस्तै कामलाई नै लिसामा जोडेर मूल्याङ्कन प्रक्रियामा सहभागी भएकाले मन्त्रालयको परीक्षणमा पनि सफल भएको अध्यक्ष थपलियाको भनाइ छ।

अन्य गैरसरकारी संस्था र निकायहरूसँग समेत उल्लेखनीय सहकार्य गर्दै पालिकाको विकासका लागि काम भइरहेको छ भने वातावरण संरक्षणका लागि तथा विपद् संवेदनशील विकासका लागि बायो इन्जिनियरिङ सहितको भौतिक पूर्वाधारमा जोड दिएको पालिकाले जनाएको छ।

स्थानीय सरकार जनतालाई डेलिभरी दिने सरकार भएकाले यो बलियो र सबल हुँदा जनतालाई राज्यको उपस्थिति घरदैलोमै भएको आभास हुन्छ। आगामी दिनमा पनि जनताकै सेवाका लागि अझै धेरै संस्थागत भएर काम गर्ने प्रतिबद्धता अध्यक्ष थपलियाले जनाए।

गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच तालमेल मिल्दा यसले समग्र सेवा प्रवाह र मूल्याङ्कनमा पनि राम्रो नतिजा आउने रहेछ भन्ने उदाहरण बेनिघाट रोराङ गाउँपालिका बनेको पालिका वडा नं. ५ का स्थानीय हेमनाथ थपलियाले बताए।

बेनिघाट रोराङ गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिहरूको सम्बन्ध लोभलाग्दो नै देखिएको छ र त्यसको मापन लिसाको उत्कृष्टताले पुष्टि गरेको वितेश आधारभूत विद्यालयका शिक्षक सूर्यजंग भट्टराईले बताए ।

अब्बल पालिका-१

अब्बल पालिका-२

लेखक
मनिष दुवाडी

दुवाडी धादिङमा कार्यरत पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?