+
+
Shares

धादिङको नीलकण्ठ : सरकारी मूल्याङ्कनमा सधैं उत्कृष्ट

कैयौं चुनौती र आलोचनाका बावजुद पनि यही काम स्थानीय सरकारहरूले गरिरहेका छन् र, उनीहरूले संघीयताको उज्यालो बनेर देशको शासन प्रणालीलाई नागरिकको घरदैलोसम्म पुर्‍याइरहेका छन् ।

मनिष दुवाडी मनिष दुवाडी
२०८२ भदौ ६ गते २१:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नीलकण्ठ नगरपालिकाले २०७५ सालमा स्वास्थ्य नीति बनाएको र २०७९ मा स्वास्थ्य ऐन लागू गरी १४ वडामा १९ स्वास्थ्य संस्थाहरू सञ्चालन गरिरहेको छ।
  • नीलकण्ठले आर्थिक वर्ष २०८०/८१ मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९८.५ अंक पाउँदै उत्कृष्ट नगरपालिका घोषित भएको छ।
  • पालिकाले गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, विपन्नको मृत्युसंस्कारमा नगद सहायता र २४ सै घन्टा विपद् उद्धार सेवा उपलब्ध गराएको छ।

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको सर्वसाधारण नागरिकले कसरी थाहा पाउने ? सैद्धान्तिक तर्क धेरै हुनसक्छन् तर नागरिकले बुझ्ने व्यावहारिक जवाफ हो– उनीहरूले महसुस हुने गरी गरिएको काम ।

कैयौं चुनौती र आलोचनाका बावजुद पनि यही काम स्थानीय सरकारहरूले गरिरहेका छन् र, उनीहरूले संघीयताको उज्यालो बनेर देशको शासन प्रणालीलाई नागरिकको घरदैलोसम्म पुर्‍याइरहेका छन् ।

यीमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा हासिल गरेका ६ वटा उत्कृष्ट स्थानीय तहहरू यस्ता नमूना पालिका हुन् जसको अभ्यास सबैका लागि उदाहरणीय र अनुकरणीय बन्न सक्छन् ।

उनीहरूले आफ्नो क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाहलाई कसरी राम्रो बनाए र आफूलाई नागरिकको सेवामुखी संरचनामा बदले ? अनि, कसरी रचे सफलताको कथा ? हामी यी ६ पालिकाका कथा भन्नेछौं । आउनुहोस्, धादिङको नीलकण्ठ नगरपालिकाको कथा पढौंः

००० ००० ०००

सबैले भन्छन्– लोकतन्त्र आयो । तर, यो कुरा सर्वसाधारणले कसरी थाहा पाउने ? उनीहरूको जीवनशैलीमा नयाँ व्यवस्थाले के फरक ल्यायो ? सुविधा के थपिए ? के केमा पहुँच बढे ?

मतदातासँग अन्तरक्रिया गरिरहँदा धादिङको नीलकण्ठ नगरपालिकाको नेतृत्वलाई यी प्रश्नहरूले घेरे । र, उनीहरूले शुरु गरे जनता प्रत्यक्ष लाभान्वित हुने कार्यक्रमहरू ।

शिक्षा र स्वास्थ्य मानिसका प्राथमिक आवश्यकता हुन् । त्यसैले समाजवाद उन्मुख भनिएको हाम्रो संविधानमै मौलिक हक अन्तर्गत राखिएका छन् शिक्षा र स्वास्थ्य पनि ।

स्पष्ट दूरदृष्टिसँगै कानूनी व्यवस्था पनि

काम कसरी गर्ने ? नीति, नियममा बाँधिएर कि मनमौजी तरिकाले ?

नेपालको शासकीय संचरना परिवर्तन भएपछि स्थानीय तहलाई २२ वटा क्षेत्रमा काम गर्ने एकल अधिकार संविधानले नै दिएको छ । ती अधिकार क्षेत्रहरूमा विधिसम्मत काम गर्न नीलकण्ठ नगरपालिका आफैंले ११८ वटा कानून निर्माण गरिसकेको छ । योसँगै यो पालिका सबैभन्दा धेरै कानून निर्माण गर्ने स्थानीय तहहरूमध्ये अग्रस्थानमा छ । यिनैमध्ये एक हो स्वास्थ्य नीति र कानून पनि ।

नीलकण्ठ नगरपालिकाले २०७५ सालमा नगर स्वास्थ्य नीति बनायो । त्यसैमा टेकेर बनाइएको नगर स्वास्थ्य ऐन, २०७९ मा गरिएको व्यवस्था अनुसार पालिकाको १४ वटा वडामा अहिले १९ वटा स्वास्थ्य संस्थाहरू सञ्चालित छन् ।

पहिले साविकका ७ वडा गाविसमा ७ स्वास्थ्य चौकी मात्र थिए । तीव्र शहरीकरण भइरहेको पालिकामा यी पर्याप्त थिएनन् । ऐन बनेपछि १२ वटा स्वास्थ्य संस्थाहरू थपिएसँगै स्वास्थ्य सेवामा नागरिकको पहुँच सहज बनेको छ । जनसंख्या धेरै भएका कुनै वडामा त तीनवटासम्म स्वास्थ्य संस्थाहरू सेवारत छन् ।

जनप्रतिनिधि पनि सञ्चो विसञ्चो सोध्दै घर–घरसम्म पुग्नुपर्छ भनेर पालिकाले ‘मेयरसँग जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ पनि सञ्चालन गर्दै आएको छ । यसअन्तर्गत पालिकाले २/३ महिनाको अन्तरमा गाउँ टोलमा पुगेर ज्येष्ठ नागरिक र दीर्घरोगीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गर्दै आएको छ ।

जन्मदेखि मृत्युसंस्कारसम्म सरकार

सामाजिक समावेशीकरण र जनउत्तरदायी शासनका कुरा सबैले गर्छन् । त्यो भनेको के हो ? नागरिकलाई कसरी बुझाउने ? सरकारलाई नागरिकको सुख–दुःखको साथी कसरी बनाउने, त्यो पनि नीतिगत रूपमै ?

नीलकण्ठले पालिकाका सम्पूर्ण गर्भवती प्रसूति महिलाको लागि एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । नगरभित्रका जुनसुकै ठाउँमा महिलाहरूले प्रसूतिका लागि स्वास्थ्य संस्थासम्म पुग्ने र डिस्चार्ज भएपछि घरसम्म पुग्दाको एम्बुलेन्स खर्च पालिकाले व्यहोर्छ ।

सामाजिक सुरक्षा भत्ता वितरणलाई बैंक मार्फत नै टोल–टोलसम्म पुगेर वितरण गर्ने व्यवस्था पनि पालिकाले गरेको छ ।

त्यस्तै, विपन्न स्वघोषणा गरेर आउने जोसुकै नगरवासीको मृत्युसंस्कारको लागि परिवारलाई पालिकाले नगद १० हजार दिइरहेको छ । यो सुविधाबाट गत वर्ष मात्रै २०० भन्दा बढी परिवारले लाभ लिए ।

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको सर्वसाधारण नागरिकले कसरी थाहा पाउने ? सैद्धान्तिक तर्क धेरै हुनसक्छन् तर नागरिकले बुझ्ने व्यावहारिक जवाफ हो– उनीहरूले महसुस हुने गरी गरिएको काम ।

विपद् खबर गरेर आउँदैन । त्यसको लागि नगर सधैं तयार रहनुपर्छ भन्ने थाहा छ नीलकण्ठ नगरपालिकाको नेतृत्वलाई । त्यसैले नगर क्षेत्रभित्र कुनै पनि विपद्को अवस्था आइपरेमा उद्धार र राहतको पनि व्यवस्था छ ।

विपद्मा समन्वय, सहकार्य र सुरक्षाको व्यवस्था मिलाउने गरी २४ सै घन्टा हटलाइन सेवा सहित कम्तीमा ३ जना जनशक्ति आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्ट्यान्डबाई रहन्छन् । यसले नगरक्षेत्र भित्र विपद्को अवस्थामा क्षति न्यूनीकरण र तत्काल उद्धार सुनिश्चित गरेको छ ।

कृषिप्रधान देशको स्थानीय सरकार कस्तो हुनुपर्छ ? एकाध घन्टा सबैले भाषण गर्न सक्छन् । तर, व्यवहारमा के छ ? नीलकण्ठले १४ वटै वडाहरूमा कृषि र भेटेरिनरीको काम गर्न भेटेरिनरी स्वयंसेवकहरू खटाएको छ ।

सँगसँगै, पालिकाले किसानलाई अतिरिक्त सुविधाका लागि मोेबाइल भेटेरिनरी स्वास्थ्यकर्मीको टिम परिचालन गरेको छ । स्थानीयहरूले पशुस्वास्थ्यको लागि फोन गरेको भरमा घर–घरमा स्वास्थ्यकर्मी पुग्ने अवस्था बनेको छ ।

पालिकामा कार्यालयमा जुनसुकै सेवा लिन जाने सेवाग्राहीलाई चियापानीको सुविधा छ । टोकन लिएर आरामसँग बसेर चिया पिउँदै पालो कुर्ने व्यवस्था पालिकाले मिलाएको छ ।

बजारक्षेत्रका सडकपेटी निर्माण, सडक बत्ती जडान, फोहोरमैला व्यवस्थापन लगायत काममा नगरपालिकाले टोल विकास संस्थालाई नै परिचालन गरेर काम गराउने गरेको नीलकण्ठ १२ का स्थानीय एवं टोल विकास संस्था महासंघका महासचिव द्रोणाचार्य सिम्खडाले जानकारी दिए ।

‘नगरभित्रका ५० भन्दा बढी टोल विकास संस्थाहरूले विकास निर्माणका काममा सहकार्यको मोडलमा काम भइरहेको छ’ उनले भने, ‘यसले विकास निर्माणमा स्थानीयको समेत अपनत्व बढेको छ ।’

स्वमूल्याङ्नमा सधैं उत्कृष्ट

यी उदाहरणहरू पालिकाले गरिरहेका साना तथा नागरिकका लागि ठूला लाग्ने केही प्रतिनिधि कामहरू हुन् । यस्ता अनेकौं व्यवस्थाले पालिकाका पछिल्ला वर्षहरूको सेवा प्रवाह छिटोछरितो, सहज र सबैको पहुँचमा पुगेको छ ।

यी उदाहरणहरूले स्थानीय तहको संस्थागत क्षमताको स्वमूल्याङ्कनका विषयगत क्षेत्रहरू सामाजिक समावेशीकरण, शासकीय प्रबन्ध, सेवा प्रवाह, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन लगायतको प्रतिनिधित्व गरेको छ ।

यस्तै, १० वटा विभिन्न विषयगत क्षेत्रका १०० वटा सूचकहरूमा काम गरेर विगतमा हरेक वर्ष उत्कृष्ट नगरपालिका छनोट भइरहेको नीलकण्ठ नगरपालिका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा आर्थिक वर्ष २०८०/८१ मा पनि उत्कृष्ट नगरपालिका बन्दै पुरस्कृत भएको छ ।

यीमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा हासिल गरेका ६ वटा उत्कृष्ट स्थानीय तहहरू यस्ता नमूना पालिका हुन् जसको अभ्यास सबैका लागि उदाहरणीय र अनुकरणीय बन्न सक्छन् ।

आर्थिक वर्ष २०८०/८१ मा देशभरका ७५३ स्थानीय तहमध्ये ७१४ स्थानीय तह यो मूल्याङ्कन प्रक्रियामा सहभागी भएका थिए । नीलकण्ठ नगरपालिकातर्फ उत्कृष्ट तीनमा परेको हो । आर्थिक वर्ष २०७९/८० को स्वमूल्याङ्कनमा पनि नीलकण्ठ प्रथम बनेको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा नीलकण्ठ लगायत देशभरका ३८ स्थानीय तहमा पाइलटिङको रूपमा यो कार्यक्रम शुरु गरेको थियो । त्यस बेला पनि नीलकण्ठ प्रथम बनेको थियो ।

कसरी हुन्छ मूल्याङ्कन ?

लिसामा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वय गरी १० वटा विषयगत क्षेत्रहरू रहेका छन् । यी विषयगत क्षेत्रहरूको ३ वटा आयाम र १०० वटा सूचकहरूको मूल्याङ्कनका आधारमा अंक प्रदान गरिन्छ ।

हरेक सूचकको अंकभार एक रहेको र लिसा प्रणालीमा सबै सूचकहरूको प्रमाण सहित स्थानीय तहहरूले दाबी पेश गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तर परीक्षण गर्ने गर्दछ । मन्त्रालयले स्थानीय तहहरूले गरेको दाबी र प्रमाणलाई मूल्याङ्कन गरेर अंक प्रदान गर्दछ ।

नीलकण्ठले आर्थिक वर्ष २०८०/८१ को लागि लिजा प्रणालीमा ९८.५ अंक दाबी गरेको थियो । धेरै अंक दाबी गर्ने स्थानीय तहमा नीलकण्ठ ११औं स्थानमा रहेको थियो । मन्त्रालयले गुणस्तर परीक्षण पश्चात् नतिजा सार्वजनिक गर्दा नगरपालिका उत्कृष्ट तीनमा परेको हो ।

पालिकाले भौतिक पूर्वाधारतर्फ ९२.३१ प्रतिशत अंक र वातावरण संरक्षण तथा विपत् व्यवस्थापनको विषयगत क्षेत्रतर्फ ९४.४४ प्र्रतिशत अंक दाबी गरेको छ भने बाँकी ८ वटा विषयगत क्षेत्रमा शतप्रतिशत गरी कुल ९८.५ अंक दाबी गरेको थियो ।

हरेक आर्थिक वर्ष सकिएको ६ महिनाभित्र उक्त आर्थिक वर्षको लागि आवश्यक कागजात, तथ्य, दाबी प्रमाणहरू मन्त्रालयले विकास गरेको लिसाको अनलाइन प्रणालीमा प्रविष्ट गर्नुपर्ने हुन्छ ।

हामीले हाम्रो सेवाप्रवाहलाई चुस्तदुरुस्त र सेवाग्राही मैत्री बनाउन पनि लिसाको यो मूल्याङ्कन प्रणाली एकदमै महत्वपूर्ण बनेको छ ।

मन्त्रालयले आर्थिक वर्ष २०७९/८० देखि स्थानीय तहहरूले दाबी गरेको अंकको गुणस्तर परीक्षण गर्न थालेको हो । त्यसअघि स्थानीय तहको आफ्नै दाबीका आधारमा उत्कृष्ट स्थानीय तह घोषणा हुँदै आएको थियो ।

नीलकण्ठ नगरपालिका २०७६/७७ मा दोस्रो, २०७७/७८ देखि २०७९/८० सम्म प्रथम नै बनेको पालिकाका प्रवक्ता प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।

‘यसका सूचकहरू नै हामी जनप्रतिनिधि र पालिकालाई जनताप्रति उत्तरदायी बनाउने खालका छन्’ उनले भने, ‘यसका सबै सूचकमा काम गर्न सकियो भने स्थानीय तहको संस्थागत क्षमता त्यसै बढ्छ ।’

उनले थपे, ‘हामीले हाम्रो सेवाप्रवाहलाई चुस्तदुरुस्त र सेवाग्राही मैत्री बनाउन पनि लिसाको यो मूल्याङ्कन प्रणाली एकदमै महत्वपूर्ण बनेको छ ।’

लिसा अर्थात् शासकीय कार्यसम्पादनको मापन

लिसाको नतिजा समग्र विकास निर्माणको सूचक नभई स्थानीय सरकारले शासकीय कार्यसम्पादनमा कति उत्कृष्टताको साथ काम गरिरहेको छ भन्ने एउटा मापन भएको स्थानीय शासन तथा लिसा विज्ञ दीपक कोइरालाले बताए ।

उनले भने, ‘स्थानीय सरकार सञ्चालनको सम्पूर्ण कार्यदिशा नै लिसाको सूचकहरूमा समेटिएको भएर पालिकालाई व्यवस्थित, मर्यादित र संगठित रूपमा सञ्चालन हुन लिसाले सहयोग गर्छ ।’

उनीहरूले आफ्नो क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाहलाई कसरी राम्रो बनाए र आफूलाई नागरिकको सेवामुखी संरचनामा बदले ? अनि, कसरी रचे सफलताको कथा ? हामी यी ६ पालिकाका कथा भन्नेछौं ।

स्थानीय सरकारले प्रमाणको आधारमा अंक दाबी गर्ने र मन्त्रालयले स्थानीय तहले पेश गरेको प्रमाणको अध्ययन विश्लेषण गरेर नतिजा निकाल्ने स्वमूल्याङ्कन प्रणालीको विकास गरिएको कोइरालाले बताए ।

एक साताअघि मात्रै सरुवा भइसकेका नीलकण्ठ नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले लिसाको मूल्याङ्कन प्रणालीले स्थानीय सरकारलाई सुशासनको बाटोमा हिंड्न सहयोग पुग्ने बताए ।

सुवेदीले भने, ‘सय वटा सूचक छन्, ती सबै सूचकहरूलाई आधार बनाएर दैनिक सेवा प्रवाहको योजना निर्माणदेखि नीतिनिर्माण र वित्तीय अनुशासनमा बस्न समेत यसले सघाउँछ ।’

लिसामा उत्कृष्ट नगरपालिका हुनु भनेको पूर्वाधार निर्माण र बजेट वितरणमा मात्रै नभई सब विषयगत क्षेत्रहरूमा नगरपालिकाले व्यवस्थित, मर्यादित र नियमसंगत ढंगले काम गरिरहेको छ भनेर प्रमाणित हुने सुवेदीले बताए ।

स्थानीय सरकार सञ्चालनमा पालिका कति सक्षम भयो, विधिविधान कति पछ्यायो, जनतालाई कति सुविधा दिनसक्यो भन्ने कुराको मापन नै लिसाको परिणाम रहेको पालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना बताउँछन् ।

‘नीलकण्ठले वित्तीय सुशासन भएको पालिकाको पहिचान बनाउनु नगरवासीको लागि गर्वकै विषय हो’ उनले भने, ‘पालिकाले विभिन्न दातृ निकायहरूसँग पनि समन्वय र सहकार्यमा पालिकाभित्र जीविकोपार्जन, विपद् जोखिम न्यूनीकरण र स्वास्थ्यको क्षेत्रमा काम गरेकोले हामी सफल भयौं।’

लेखक
मनिष दुवाडी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?