
२३ साउन, काठमाडौं । भारतको उत्तराखण्डमा मजदुरीका लागि गएका धादिङको ज्वालामुखी गाउँपालिकाका चार जना नेपाली पनि सम्पर्कविहीन भएका छन् । उनीहरुको खोजीका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमार्फत् भारतीय दूतावासलाई अनुरोध गरेको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानी ठेगाना भएका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएका हुन् ।
उनीहरु कामका लागि उत्तराखण्ड गएको र सम्पर्कविहीन भएको भनेर उनीहरुकै परिवारका सदस्यहरुबाट जानकारी पाएको प्रमुख जिल्ला अधिकारी घिमिरे बताए । ‘त्यसपछि हामीले पत्राचार गरेर गृह मन्त्रालयमार्फत् दूतावासलाई जानकारी गराएका छौं,’ उनले अनलाइनखबरसँग भने ।
साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ । त्यहाँ खोज तथा उद्धार कार्य जारी छ ।
यसअघि उत्तराखण्डको बाढीमा जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका एक जना सम्पर्कविहीन भएको स्थानीय जनप्रतिनिधिहरुमार्फत् जानकारी आएको थियो । धादिङका समेत चार जना थपिएपछि सम्पर्कविहीन हुने नेपालीको संख्या २२ पुगेको छ ।
जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार त्यहाँका १३ जना नेपाली सम्पर्कविहीन छन् । उनका अनुसार कुशे गाउँपालिका वडा नम्बर २ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, निम सिंह, रविन सिंह र परिचय नखुलेका अरु ७ जना बाढीपहिरोमा परेको जानकारी त्यहाँ रहेका नेपालीहरुले दिएका छन् ।
यसैगरी बर्दिया मधुवनका नरेन्द्र खड्का, सरस्वती खड्का, अमृता परियार र सुवास विक पनि बाढीमा परेर बेपत्ता भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् ।
यस्तै जुम्लाको तिला गाउँपालिका निवासी जनकबहादुर शाही पनि पहिरोमा परी बेपत्ता भएको जानकारी आएको त्यहाँका जनप्रतिनिधिहरुले बताएका छन् ।
स्थानीय पालिकाहरुले नेपालीहरु हताहत भएको सूचना आएको भन्दै उनीहरुको खोज तथा उद्धारका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया 4