+
+
Shares

यस वर्ष पनि धादिङकै दुई पालिका उत्कृष्ट

नगरपालिकामध्ये धादिङको नीलकण्ठ नगरपालिका पहिलो हुँदा चितवनको खैरहनी नगरपालिका दोस्रो र रुपन्देहीको तिलोत्तमा नगरपालिका तेस्रो भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते २१:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय मामिला तथा प्रशासन मन्त्रालयले स्थानीय सरकार संस्थागत स्वमूल्यांकनमा धादिङको नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिकालाई उत्कृष्ट घोषणा गरेको छ।
  • नगरपालिकातर्फ नीलकण्ठ नगरपालिका पहिलो, खैरहनी दोस्रो र तिलोत्तमा तेस्रो स्थानमा रहेका छन् भने गाउँपालिकातर्फ बेनीघाट रोराङ पहिलो, रुरुक्षेत्र दोस्रो र अर्जुनचौपारी तेस्रो भएका छन्।
  • स्वमूल्यांकनमा शासकीय प्रबन्ध, वित्तीय व्यवस्थापन, सेवा प्रवाह लगायत दश शीर्षकमा मूल्यांकन गरिन्छ र यसले सेवा प्रवाह गुणस्तरीय र जवाफदेही बनाउने अपेक्षा गरिएको छ।

६ भदौ, काठमाडौं । संघीय मामिला तथा प्रशासन मन्त्रालयको स्थानीय सरकार संस्थागत स्वमूल्यांकनमा यस वर्ष पनि धादिङका दुई पालिका उत्कृष्ट ठहरिएका छन् ।

गत वर्षजस्तै यस वर्ष पनि स्वमूल्यांकनमा नगरपालिकातर्फ धादिङको नीलकण्ठ नगरपालिका र गाउँपालिकातर्फ पनि धादिङकै बेनीघाट रोराङ गाउँपालिका उत्कृष्ट भएका हुन् ।

शुक्रबार एक कार्यक्रमका बीच मन्त्री भगवती न्यौपाने र सचिव रविलाल पन्थले प्रतिवेदनसहित उच्च अंक प्राप्त गर्ने ३/३ वटा गाउँपालिका र नगरपालिकाको नाम सार्वजनिक गरेका हुन् ।

नगरपालिकामध्ये धादिङको नीलकण्ठ नगरपालिका पहिलो हुँदा चितवनको खैरहनी नगरपालिका दोस्रो र रुपन्देहीको तिलोत्तमा नगरपालिका तेस्रो भएका छन् ।

गाउँपालिकामध्ये धादिङको बेनिघाट रोराङ गाउँपालिका पहिलो हुँदा गुल्मीको रुरुक्षेत्र गाउँपालिका दोस्रो र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका तेस्रो भएका हुन् ।

उच्चतम अंक पाएका पहिलो भएका गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिले स्वमूल्यांकनको विषयमा आ–आफ्ना अनुभव तथा सिकाइ आदानप्रदान गरेका थिए ।

हालको कार्यविधिअनुसार विभिन्न दश वटा शीर्षकमा मूल्यांकन गर्छन् । शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा पालिकाले आफ्नै संस्थागत क्षमताको स्वमूल्यांकन गर्नुपर्ने व्यवस्था छ ।

स्थानीय तहहरूले सम्बन्धित विषयगत क्षेत्रका नीतिगत व्यवस्था, कार्यसंचालन प्रक्रिया तौरतरिका, वित्तीय अवस्था, सार्वजनिक सेवा प्रवाहको अवस्थालगायत सबै विषयगत क्षेत्रहरूमार्फत संस्थागत सबलता, सुधारात्मक पक्षहरूको पहिचान गर्न सरकारले यो प्रणाली विकास गरेको हो ।

यसले पालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई गुणस्तरीय, प्रभावकारी र जवाफदेही बनाउने अपेक्षा गरिन्छ । यसबाट अन्य पालिकासँग पनि प्रतिस्पर्धात्मक क्षमताको विकास हुने ठानेर सरकारले नतिजालाई सार्वजनिक गर्न बाध्य पारेको छ ।

सबै पालिकाको समान अस्तित्वलाई स्वमूल्यांकन पद्धतिले आत्मसात् गरेको अधिकारीहरू बताउँछन् । स्थानीय नागरिकहरूलाई समेत सम्बन्धित स्थानीय तहको अवस्थाका बारे जानकारी दिन नतिजा महत्वपूर्ण मानिन्छ ।

कार्यक्रममा मन्त्री न्यौपानेले मुलुकको विकासका लागि तीन तहको सरकारले आफ्नो गति बढाउन जरुरी रहेको बताइन् ।

सेवा प्रवाहका सवालमा स्थानीय तहहरूले अझै धेरै काम गर्न जरुरी रहेको उनको भनाइ छ ।

संविधानतः संघीय सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूलाई अगाडि बढाउने, प्रदेश सरकारले विकास निर्माणका कामलाई ध्यान दिने र स्थानीय तहले सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

उनले तीन तहको सरकारबीच आपसि सहकार्य र समन्वय गरेर अगाडि बढ्न सकेमात्र मुलुक र जनताको अवस्था परिवर्तन गर्न सकिने बताइन् ।

स्थानीय तहको सेवा प्रवाहको अवस्थाको मूल्याङ्कन गर्नको लागि कार्यसम्पादन मूल्याङ्कन प्रणालीको विकास गरिएको मन्त्री न्यौपानेको भनाइ छ ।

उनले भनिन्, ‘अब हामी हिँडेर मात्र पनि पुग्दैन । हाम्रो गतिलाई अगाडि बढाउनुपर्नेछ । यदि हामीले देशको विकास गर्ने हो भने हाम्रो आफ्नो गति पनि बदल्नुपर्नेछ । हामी दौडिनुपर्नेछ । जनप्रतिनिधिहरू पनि त्यसैअनुसार लाग्नुपर्नेछ र स्थानीय तहहरूले अझै धेरै ध्यान दिनुपर्नेछ । त्यसैले मन्त्रालयमा कार्यसम्पादन मूल्याङ्कन प्रणालीको विकास गरेको हो ।’

मुलुकको विकासका लागि विकसित देशहरुलाई पछ्याउँदै सेवा प्रवाहलाई चुस्त बनाउनुपर्नेमा उनको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?