
देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको सर्वसाधारण नागरिकले कसरी थाहा पाउने ? सैद्धान्तिक तर्क धेरै हुन सक्छन् तर नागरिकले बुझ्ने व्यावहारिक जवाफ हो– उनीहरूले महसुस हुने गरी गरिएको काम।
कैयौं चुनौती र आलोचनाका बावजुद पनि यही काम स्थानीय सरकारहरूले गरिरहेका छन् र, उनीहरूले संघीयताको उज्यालो बनेर देशको शासन प्रणालीलाई नागरिकको घरदैलोसम्म पुर्याइरहेका छन्।
यीमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा हासिल गरेका ६ वटा उत्कृष्ट स्थानीय तहहरू यस्ता नमूना पालिका हुन् जसको अभ्यास सबैका लागि उदाहरणीय र अनुकरणीय बन्न सक्छन्।
उनीहरूले आफ्नो क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाहलाई कसरी राम्रो बनाए र आफूलाई नागरिकको सेवामुखी संरचनामा बदले ? अनि, कसरी रचे सफलताको कथा ? हामी यस्तै ६ पालिकाका कथा भन्नेछौं।
रूपन्देहीको तिलोत्तमा नगरपालिका लगातार दोस्रो पटक उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट ६ मा छनोट भएको यो नगरपालिकाले जिल्लाभरिमा दोस्रो स्थान हासिल गर्यो।
तिलोत्तमा नगरपालिका अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि उत्कृष्ट स्थानीय तह घोषित भएको थियो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय गरी ९ क्षेत्रको कार्यसम्पादन मूल्याङ्कन गरी पुरस्कृत गर्दै आएको छ।
यी सबै सूचकहरूमा तिलोत्तमा नगरपालिकाले १०० मा ९७.२५ प्रतिशत अंक प्राप्त गरेको स्वमूल्यांकन घोषणा गरेको छ। यसमध्ये समग्र स्थिति ९८.८१ प्रतिशत, प्रक्रियागत स्थितिमा शतप्रतिशत र परिमाणात्मक स्थितिमा ९४.४४ प्रतिशत अंक स्वमूल्यांकन गरेको छ।

तिलोत्तमा अघिल्लो आर्थिक वर्ष जस्तै आर्थिक वर्ष २०८०/८१ मा पनि उत्कृष्ट बनेको हो। यो मूल्याङ्कनमा देशभरका ७५३ मध्ये ७३२ स्थानीय तह सहभागी भएको मन्त्रालयका स्थानीय तह समन्वय शाखाका रेशमलाल कँडेलले जानकारी दिए।
नगरपालिकाले आफ्नो दीर्घकालीन योजना र मध्यकालीन खर्चको संरचना बमोजिम निर्धारित समयमै वार्षिक बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्यांकन र भुक्तानी गरेकाले स्वमूल्याङ्कनमा उत्कृष्ट बन्न सफल भएको नगरपालिकाले जनाएको छ।
कुल सूचकमध्ये विकासका ५ वटै क्षेत्रहरू आर्थिक, सामाजिक, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासका क्षेत्रहरूमा समन्यायिक रूपमा बजेट विनियोजन गरी नतिजामूलक कार्यान्वयन गर्ने गरेकाले तिलोत्तमा लिसामा लगातार उत्कृष्ट बनेको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नारायण अर्याल बताउँछन्।
उनका अनुसार विभिन्न २६ वटा क्षेत्र/सूचकमा नगरपालिकाले अब्बल काम गरेको छ। नगरपालिकाले आफ्नै परियोजना बैंक बनाई आफ्ना योजनाहरूलाई नगरस्तरीय प्राथमिकता प्राप्त आयोजना (रु.१ करोडसम्म लागत भएका), नगर गौरवका आयोजना (रु.१ करोडभन्दा बढी ५ करोडसम्मका) र नगरस्तरीय स्वर्णिम आयोजना (रु.५ करोडभन्दा माथि) लाई प्राथमिकता क्रम तोकी आयोजना छनोट र कार्यान्वयन गरेको छ।
नगरपालिकाले निर्धारित समयमा नगर कार्यपालिकाको बैठक बसी आफ्ना पुराना निर्णयहरू कार्यान्वयन सम्बन्धमा छलफल र समीक्षा गर्ने गरेको, नगर सभा र नगर कार्यपालिकाका विषयगत समितिहरूको प्रभावकारी परिचालन गर्ने गरेको, नगरपालिका स्थापना भएयताको हालसम्मकै कम बेरुजु कायम र बढी बेरुजु फर्स्योट गरी आर्थिक अनुशासन कायम गर्नुले पनि लिसामा उत्कृष्ट हुन भूमिका खेलेको अर्यालले बताए।
यस्तै चौमासिक तथा वार्षिक समीक्षा र सार्वजनिक सुनुवाइ समयमै गरी सरोकारवालाहरूलाई समय–समयमा आफ्ना काम-कारबाहीबारे सुसूचित गर्ने, अन्तर्राष्ट्रिय संस्थाहरू सिटिनेट, मेयर फर पिस, यूसीएलजी एएसपीएसी र ओआईडीपीको सदस्यता लिई नगरपालिकाको सम्बन्ध र समन्वय अन्तर्राष्ट्रियस्तरमा समेत विस्तार गरी ओआईडीपी अवार्ड मार्फत नगरपालिकाको ख्याति विश्वभर फैलाउन मद्दत गरेको छ।
नगरले दुई वर्षदेखि एक वडा एक किलोमिटर सडक निर्माण योजना मार्फत वार्षिक रूपमा कम्तीमा पनि १७ किलोमिटर अस्फाल्ट प्रविधिको गुणस्तरीय सडक निर्माण नगरकै बजेटमा निर्माण गरी ग्रामीण शहर कनेक्टिभिटी मार्फत स्थानीय अर्थतन्त्रमा टेवा पुर्याएको छ।
नगरले आफैं धानिन सक्ने र आफ्ना विकास निर्माणका काम समेत आफ्नै आन्तरिक आय मार्फत गर्न सक्ने गरी आन्तरिक स्रोत मजबुत पार्ने काम गरेको, स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना तथा सञ्चालन, विपद् स्वयंसेवक छनोट तथा क्षमता विकास, अन्तर्राष्ट्रियस्तरको नगर सूचना केन्द्र सञ्चालन मार्फत विपद् व्यवस्थापनमा नमूना कार्य गरेको जनाएको छ।
विश्व बैंक, एशियाली विकास बैंक, यूएसएआईडी पीएफएम, सिटिज फर वुमन जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय गरी विकास निर्माण तथा वित्त व्यवस्थापन, रूपन्देहीमै पहिलो पटक नगरपालिकाको लगानीबाट हाइमास्ट र मिनीमास्ट लाइट जडान गरी उज्यालो तिलोत्तमा निर्माण, आईटी पार्क निर्माण, कर्मचारी र जनप्रतिनिधिको नियमित क्षमता विकास कार्यक्रम सञ्चालनले संस्थागत क्षमता वृद्धि भएको नगर प्रमुख रामकृष्ण खाँणले बताए।

नगरवासीको गुनासो सुनुवाइका लागि हेलो तिलोत्तमा कार्यक्रम सञ्चालन, सबै शाखाहरूलाई सूचनाप्रविधिमा जोडी सफ्टवेयर मार्फत कार्य सम्पादन, नगरवासीलाई नि:शुल्क रूपमा दुई स्थानबाट भिडियो एक्सरे सेवा प्रदान, ज्येष्ठ नागरिक उपचार तथा नि:शुल्क औषधि सेवा प्रदान, विद्यार्थीको कक्षा छोड्ने दर घटाई नगरपालिकालाई शैक्षिक रूपमा राष्ट्रियस्तरमा चिनाउन वार्षिक २ करोड रूपैयाँ लगानी गरी दिवाखाजा कार्यक्रम सञ्चालन, कुहिने र नकुहिने फोहोरमैलाको स्रोतमै वर्गीकरण गरी सार्वजनिक, निजी, सरकारी साझेदारी मोडलबाट फोहोरमैला व्यवस्थापन तथा अनुसन्धान केन्द्रको विकास गरेको नगर प्रमुख खाँणले बताए।
यस्तै, नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच नतिजामूलक कार्यसम्पादन सम्झौता, प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरूबीच कार्यसम्पादन सम्झौता गरी गुणस्तरीय कार्य सम्पादन, सेवाग्राहीको सहजताका लागि घुम्ती शिविर सञ्चालन, तिलोत्तमा इन्टर्नसिप कार्यक्रम, स्थानीय उत्पादनको प्रवर्धनका लागि मेड इन तिलोत्तमा कार्यक्रमले नगरलाई संस्थागत क्षमतामा अब्बल बनाएको नगर प्रमुख खाँणको भनाइ छ।
‘सडक यातायात गुरुयोजना निर्माण तथा कार्यान्वयन, दिगो विकास लक्ष्यहरूको स्थानीयकरण गरी कार्यान्वयन, जोखिम संवेदनशील भूउपयोग योजना निर्माण र कार्यान्वयन, आयोजनाहरू छनोट गर्दा नै सम्भाव्यता अध्ययन गरी उपयुक्त देखिएका कार्यान्वयनयोग्य आयोजना मात्र छनोट र कार्यान्वयनले संस्थागत क्षमता स्वमूल्यांकनमा तिलोत्तमा निरन्तर अब्बल भएको हो’, नगर प्रमुख खाँणले भने। गत आवमा कुल बजेटको ७५.१० प्रतिशत खर्च भएको पनि नगर प्रमुख खाँणले जानकारी दिए।
प्रतिक्रिया 4