+
+
Shares

लिसामा उत्कृष्ट खैरहनी : चालुभन्दा पूँजीगत बजेट बढी, बेरुजु ०.४५ प्रतिशत

खैरहनी नगरपालिकाले आन्तरिक सुशासन, प्रशासनिक खर्चमा कटौती मात्रै गरेको छैन, हरेक वर्ष आन्तरिक राजस्व तथा पूँजीगत खर्च बढाउँदै लगेको छ।   

सुवास पण्डित सुवास पण्डित
२०८२ भदौ ९ गते ९:०३

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको सर्वसाधारण नागरिकले कसरी थाहा पाउने ? सैद्धान्तिक तर्क धेरै हुन सक्छन् तर नागरिकले बुझ्ने व्यावहारिक जवाफ हो– उनीहरूले महसुस हुने गरी गरिएको काम।

कैयौं चुनौती र आलोचनाका बावजुद पनि यही काम स्थानीय सरकारहरूले गरिरहेका छन् र, उनीहरूले संघीयताको उज्यालो बनेर देशको शासन प्रणालीलाई नागरिकको घरदैलोसम्म पुर्‍याइरहेका छन्।

यीमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा हासिल गरेका ६ वटा उत्कृष्ट स्थानीय तहहरू यस्ता नमूना पालिका हुन् जसको अभ्यास सबैका लागि उदाहरणीय र अनुकरणीय बन्न सक्छन्।

उनीहरूले आफ्नो क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाहलाई कसरी राम्रो बनाए र आफूलाई नागरिकको सेवामुखी संरचनामा बदले ? अनि, कसरी रचे सफलताको कथा ? हामी यस्तै ६ पालिकाका कथा भन्नेछौं। आउनुहोस्, चितवनको खैरहनी नगरपालिकाको कथा पढौं :

९ भदौ, चितवन। स्थानीय तहहरूले नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको, ‘गाउँ–गाउँमा सिंहदरबार’ कागजमा मात्र सीमित भएको, संघले अधिकार जति आफैंले राखेर स्थानीय सरकारलाई चेपुवामा पारेको जस्ता गुनासा बढ्दैछन्।

तर, चितवनको खैरहनी नगरपालिकाले भने विभिन्न अप्ठ्यारा र निराशा पन्छाउँदै आफूलाई अब्बल स्थानीय तहका रूपमा स्थापित गरेको छ।

यो नगरपालिका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा ल्याउने ६ वटा स्थानीय तहभित्र पर्न सफल भएको छ। विभिन्न १० वटा विषयगत क्षेत्रमा गरिएको परीक्षणमा नगरपालिकाले उत्कृष्ट अंक ल्याउन सकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले बताए।

नगरपालिकाले २४ पुस २०८१ मा पृष्ठपोषणका लागि पेश गरेको थियो भने २७ पुस २०८१ मा जिल्ला समन्वय समितिबाट पृष्ठपोषण सहित आएको प्रतिवेदन कार्यपालिका बैठकबाट पारित गरेर मन्त्रालयमा पठाएको थियो। मन्त्रालयले खैरहनी नगरपालिकाको २४ साउन २०८२ मा गुणस्तर परीक्षण सम्पन्न गरेको थियो।

मन्त्रालयले बनाएको १० वटा विषयगत क्षेत्र शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, विषयगत बजेट तथा योजना व्यवस्थापन, वित्तीय तथा आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वय जस्ता विषयमा पालिकाले पुष्टाईं गर्ने कागजात सहित गरेको स्वमूल्याङ्कन दावीलाई मन्त्रालयले गुणस्तर जाँच गरी अंक दिने गरेको छ।

मन्त्रालयले बनाएको अंक विभाजनमा भौतिक पूर्वाधारलाई १३, वित्तीय तथा आर्थिक व्यवस्थापनलाई ११, वार्षिक बजेट तथा योजनालाई ११, सामाजिक समावेशीकरणलाई १०, वातावरण तथा विपद् व्यवस्थापनलाई ९, संगठन तथा प्रशासनलाई ९, शासकीय प्रबन्धलाई ८, न्यायिक कार्यसम्पादनलाई ७ र सहकार्य तथा समन्वय क्षेत्रलाई सबैभन्दा कम ६ अंक राखिएको छ।

प्रत्येक १० वटै विषयगत क्षेत्र अनुसार समग्र अवस्था, प्रक्रियागत अवस्था र परिणामगत अवस्था गरी तीन वटा सूचकहरू उल्लेख गरिएको हुन्छ। प्रत्येक विषयगत क्षेत्रका सूचक अनुसार समग्र अवस्था २१, प्रक्रियागत अवस्था ३४ र परिणामगत अवस्था ४५ गरी तीन वटा सूचकहरूमा १०० अंकभार राखिएको छ।

सूचक क्षेत्र अनुसार १०० वटा सूचकहरू तय गरिएका छन्। लिसामा पहिला पालिकाले अंक दाबी गर्ने, त्यो दाबीलाई जिल्ला समन्वय समितिले अनुगमन गर्ने र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तर परीक्षण गर्ने गर्छन्।

जिल्लाका ७ वटा पालिकामध्ये सबैभन्दा बढी अंक लिसामा रत्ननगर नगरपालिकाले गरे पनि मन्त्रालयले गरेको गुणस्तर परीक्षणमा उसको दाबी पेश गरे जति हुन सकेन।

तर, खैरहनी नगरपालिकाले गरेको दाबीको गुणस्तर परीक्षण गर्दा उत्कृष्ट नगरपालिकामा पर्न सफल भएको हो। खैरहनीले भौतिक पूर्वाधारमा बाहेक सबै सूचकमा अधिकतम नम्बर दाबी गरेको थियो।

स्थानीय तहहरूको कार्यप्रक्रिया, उपलब्धि र विकास व्यवस्थापनको लेखाजोखा गर्न, सुधारका क्षेत्रहरू पहिचान गर्न तथा स्वस्थ प्रतिस्पर्धाको भावना जगाउन लिसा मूल्याङ्कन गरिंदै आएको छ। वित्त आयोगले समानीकरण अनुदान दिंदा लिसाको सूचकबाट पाएको अंकलाई पनि आधार लिन सक्ने व्यवस्था छ।

सोही मूल्याङ्कनको अन्तिम नतिजा अनुसार यी पालिकाहरूले राष्ट्रियस्तरमा उच्चतम अङ्क हासिल गरेका हुन्।

पालिकामा हरेक महिना कार्यपालिकाको बैठक बस्नुपर्ने, बैठकका एजेन्डा सहित ३ दिन अगाडि कार्यपालिका सदस्यलाई पठाउनुपर्ने, १० असारभित्र नगरसभा बस्नुपर्ने, असारभित्र पारित गर्नुपर्ने जस्ता थुप्रै संस्थागत प्रक्रियामा लिसाले नम्बर दिने गर्छ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार कुन मितिमा कुन विधि र प्रक्रिया अपनाएर कुन–कुन काम गर्ने भनिएको छ, त्यसलाई फलो गर्ने तथा संस्थागत विकासमा आफैंले आन्तरिक नियन्त्रण प्रणालीको विकास, क्षमता विकास योजना, पञ्चवर्षीय योजना, सडक गुरुयोजना क्षेत्रगत नीति तथा विधि र कानून बनाउने विषयलाई पनि लिसाले हेर्ने गर्छ।

कानून बमोजिमका विधि-प्रक्रिया पालना गर्दै खैरहनी नगरपालिकाले काम गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले जानकारी दिए। बजेट खर्च र तौरतरिका, आन्तरिक आयको हिस्सा बढाउँदै लगेको र बेरुजु १ प्रतिशतभन्दा कम भए–नभएको लिसामा हेर्ने गरिन्छ। यो पालिकाको बेरुजु केवल ०.४५ प्रतिशत रहेको छ।

अन्तरपालिका समन्वयमा पनि खैरहनीले उत्कृष्ट कार्य गरेको छ। पूर्वी चितवनका ४ पालिका मिलेर दमकल किनेर सञ्चालन गर्ने, रत्ननगर नगरपालिकासँग मिलेर खोलाको ढुंगा-गिट्टी उत्खननमा आलोपालो र सौहार्दपूर्ण सम्बन्ध बनाउने काम पालिकाले गरेको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताए।

खैरहनीका सबै वडामा मेलमिलाप केन्द्र राखिएका छन्। न्यायिक समितिले हेर्नुभन्दा अगाडि यस्तै केन्द्रमा रहेका सहजकर्ताले मेलमिलाप गराउने काम गर्छन्।

पालिकाका सबै शाखा तथा वडालाई लिसामा के-के गर्दा नम्बर आउँछ भन्ने जानकारी भएकोले पनि काम गर्न सहज भएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताए। जनप्रतिनिधि तथा कर्मचारीको बीचमा गहिरो विश्वास र समन्वयमा मात्रै यस्ता उपलब्धि सम्भव हुने उनले बताए।

नगर प्रमुख शशिकुमार खनियाँ

नगरपालिकाका प्रमुख शशिकुमार खनियाँले पालिकाका पदाधिकारी तथा जिम्मेवार व्यक्तिहरू इमानदार भई प्रणालीलाई अपनाएर काम गरे सफलता हात लाग्ने बताए। पालिका बनेपछि नै पूर्वाधार तथा सबै खालका व्यवस्थापनका काम गर्नुपर्ने भएकोले चुनौतीको सामना गरेर नगरपालिका उत्कृष्ट हुन सफल भएको नगरप्रमुख खनियाँको भनाइ छ।

‘समस्याहरू के–के छन्, तिनको समाधानका लागि कसले कहाँ के गर्न सक्छ भन्ने विषयमा योजना बनाएर लागियो, व्यक्तिगत स्वार्थ र महत्वाकांक्षा राखिएन’ नगर प्रमुख खनियाँले भने, ‘कमी–कमजोरी पत्ता लगाएर आवश्यकताको प्राथमिकीकरण गरी तिनलाई स्रोत र साधनको चाँजोपाँजो मिलाउने काम गरेको हो।’

गत वर्ष पालिका चौथो भएको स्मरण गर्दै नगरप्रमुख खनियाँले पालिकाले आवधिक, क्षेत्रगत योजना बनाउनेदेखि विभिन्न परीक्षणका काम गरेको बताए। काम मात्रै गर्ने तर तिनको डकुमेन्टेसनका काम भएनन् भने पनि समस्या हुने भएकोले जिम्मेवार व्यक्तिले त्यसको ख्याल गर्नुपर्ने नगरप्रमुख खनियाँको सुझाव छ।

निरन्तर बढ्दैछ राजस्व र पूँजीगत खर्च

खैरहनी नगरपालिकाले हरेक वर्ष आन्तरिक राजस्व तथा पूँजीगत खर्च बढाउँदै लगेको छ। पालिकाले आन्तरिक सुशासन, प्रशासनिक खर्चमा कटौती मात्रै गरेको छैन, पूँजीगत खर्च बढाउन अनेक उपाय समेत अवलम्बन गरेको छ। सामूहिक सहभागिता र मिहिनेतका आधारमा सम्पादन गरिएका कार्यहरू नतिजामा देखिन थालेको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताए।

पालिकाले आव २०७९/८० मा १५ करोड १४ लाख ४९ हजार र आव २०८०/८१ मा १७ करोड ३१ लाख राजस्व उठाएको थियो। नगरपालिकाले आव २०८१/८२ मा १९ करोड ४७ लाख आन्तरिक राजस्व उठाउने लक्ष्य लिएको भए पनि १७ करोड ३८ लाख राजस्व संकलन गरेको छ। पालिकाले चालु आर्थिक वर्षमा आन्तरिक आय १९ करोड ८० लाख ५० हजार उठाउने लक्ष्य लिएको छ।

प्रमुख प्रशासकीय अधिकृत सापकोटाले दिएको तथ्यांक अनुसार आव २०७९/८० मा चालु खर्च ८५.२९ र पूँजीगत खर्च ६८.९ प्रतिशत गरेको नगरपालिकाले आव २०८०/८१ मा चालु खर्च ८५.३२ र पूँजीगत ८३.०१ प्रतिशत गरेको थियो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ८८.४४ प्रतिशत चालु र ८५.०१ प्रतिशत पूँजीगत खर्च गर्न सफल भएको थियो। पछिल्लो तीन आर्थिक वर्षमा पालिकाले लगातार पूँजीगत खर्च बढाउँदै लगेको छ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ३ करोड ८५ लाखको बजेट ल्याएको छ। त्यसमा चालुतर्फ ५० करोड १ लाख ४८ हजार (४८.१६ प्रतिशत) र पूँजीगततर्फ ५३ करोड ८३ लाख ६५ हजार (५१.८४ प्रतिशत) बजेट विनियोजन गरेको उपप्रमुख कविता उप्रेतीले जानकारी दिइन्। उनले अघिल्लो आर्थिक (२०८१/८२) वर्षदेखि पालिकाले चालुभन्दा पूँजीगत खर्चमा बढी रकम विनियोजन गर्न थालेको जानकारी पनि दिइन्।

नगर उपप्रमुख कविता उप्रेती

नगरपालिकाले स्वमूल्याङ्नको रिपोर्ट तयार गरेर पठाएको वर्ष २०८०/८१ मा बजेटको आकार नै घटाएको थियो। २०७९/८० को (संशोधित) १ अर्ब ३६ करोड २३ लाख ७७ हजारको बजेटबाट ४१ करोड ३४ लाख ८० हजार घटाएर २०८०/८१ मा ९४ करोड ८८ लाख ९५ हजारको बजेट पेश थियो। सो वर्ष चालुमा ५०.८६ र पूँजीगतमा ४९.१४ प्रतिशत बजेट विनियोजन गरेको थियो। २०८१/८२ मा १ अर्ब १ करोड ५४ लाख ९५ हजारको बजेट विनियोजन गरेकोमा चालु ४९.१२ र पूँजीगत ५०.८८ प्रतिशत छुट्याएको थियो।

देशभरका निकै कम पालिका तथा सरकारहरूले मात्रै चालु खर्च कम र पूँजीगत खर्च बढी राखेर बजेट बनाउने गरेको उपप्रमुख उप्रेतीको भनाइ छ।

नगरपालिकाको अवस्था

२०७८ सालको जनगणना अनुसार नगरपालिकाको जनसंख्या ६७ हजार ३८५ छ। जसमा ३५ हजार ५३ महिला र ३२ हजार ३३२ जना पुरुष रहेका छन्। पालिकामा झन्डै ३५ प्रतिशत आदिवासी थारू जातिको बसोबास रहेको छ।

१३ वटा वडा रहेको पूर्वी चितवनको खैरहनी नगरपालिका ८५.५७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। मूलत: खैरहनी कृषिका लागि चर्चित छ। धान, तरकारी खेती, तोरी, केरा, दूध उत्पादन हुने मुख्य क्षेत्र नै खैरहनी नगरपालिकामा रहेको छ। पालिकामा आधारभूत खानेपानीको सुविधा उपलब्ध भएको घरधुरी ९० प्रतिशत पुगेको छ। ९ वटा खानेपानी आयोजना मार्फत नगरवासीलाई पिउनेपानीको व्यवस्था गरिएको छ।

यो पालिकामा सामुदायिक २७ र संस्थागत २१ गरी कुल ४८ विद्यालय छन्। सबै वडा कार्यालय भएको स्थानमा सडक, सञ्चार र विद्युत् सेवा उपलब्ध छ। नगरपालिकाको केन्द्रबाट सबै वडा कार्यालयसम्म पुग्नका लागि पक्की सडक रहेको छ। सबै वडा कार्यालयको आफ्नै पक्की भवन छ।

सबै वडाबाट सम्पत्ति कर लिन सक्ने व्यवस्था गरिएको छ भने ३ लाखसम्मका योजनाको सम्झौता वडा कार्यालयबाट नै हुने व्यवस्था गरिएको छ। यसले नगरपालिकाको सेवालाई विकेन्द्रीकरण गर्न मद्दत पुगेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले जानकारी दिए।

१३ वटै वडामा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन भएको छ। खैरहनीमा ठाडा खोलाहरू भएको र वर्षेनि बर्खामा विपद्को जोखिम हुँदै आएकोले तटबन्ध तथा वृक्षरोपणलाई प्राथमिकतामा राखिएको छ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटा

नगरपालिकामा हालसम्म पक्की सडक ८१.९ कि.मी., ग्राभेल सडक ७७.४ कि.मी., माटे कच्ची सडक ५१.५० कि.मी., मोजायक टायल ८.४ कि.मी. गरी जम्मा २१९.२ कि.मी. सडक निर्माण भएको छ। आर.सी.सी. नाला ढलान ३७.१७ कि.मी., तटबन्धन ४५.०१ कि.मी., कल्भर्ट ६४ वटा र पुल ५ वटा तयार भइसकेका छन्।

पालिकामा एक नगर अस्पताल, ३ स्वास्थ्य चौकी, ९ आधारभूत स्वास्थ्य केन्द्र, एक बर्थिङ सेन्टर, १५ वटा खोप केन्द्र, चार वटा निजी पोलिक्लिनिक, २० वटा निजी क्लिनिक संख्या र एक मानसिक अस्पताल छन्।

पालिकामा धानको सुपर जोन नै छ। सिंचाइका लागि कुलो निर्माण, बोरिङका काम गरिएको छ। खेती गर्न चाहने तर जमिन नभएका किसानलाई १० कट्ठासम्मको भाडा पालिकाले तिरिदिने गरेको नगरप्रमुख खनियाँले बताए।

विपन्न बालिकालाई १ गिलास दूध र एउटा अण्डाका लागि रकम दिने, बा–आमा स्वास्थ्य कार्यक्रम चलाउने, ४ महिनामा एक पटक घरमा नै पुगेर स्वास्थ्य जाँच गर्ने जस्ता काम पालिकाले गरेको छ। सीपमूलक तालिम सिकेर आयआर्जनका काम गर्न चाहनेहरूलाई तालिम दिने र पूर्वाधारमा समेत लगानी गर्ने गरेको नगर प्रमुख खनियाँले बताए। विशिष्टकृत योजना ल्याउनेलाई बीउ पूँजीका रूपमा पालिकाले आर्थिक सहयोग गर्दै आएको छ।

मन्त्रालयले एकीकृत प्रणाली मार्फत पालिकाको मूल्याङ्कन गर्ने

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उस्तै प्रकृतिका स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्याङ्कन प्रणाली, स्थानीय आर्थिक विकास मूल्याङ्कन र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली गरेर तीन वटा उस्तै प्रकृतिका मूल्याङ्कन गर्दै आएकोमा यस वर्षबाट यी तीन वटा प्रणालीलाई नै मर्ज गरेर एउटै प्रणालीको विकास गर्न लागेको छ।

पालिकाहरूले उस्तै प्रकृतिका डाटाहरू अलग–अलग पेश गर्नुपर्ने काम झन्झटिलो भएकोले अबदेखि भने एउटा मात्रै प्रणालीबाट पालिकाहरूको मूल्याङ्कन गर्ने गरी तयारी मन्त्रालयले गरेको छ। त्यसमा अंक नभई एसईईको जस्तो ग्रेडिङ सिस्टममा बनाएर ए प्लस, ए, बी प्लस जस्तो गरेर पालिकाहरूको मूल्याङ्कन हुनेछ।

पालिकालाई संस्थागत गरेर बाँध्न अहिलेको प्रणालीले काम गरे पनि अब भने नतिजालाई बढी भार अंक दिएर मूल्याङ्कन गर्ने प्रणालीको विकास मन्त्रालयले गरेको छ।

अब्बल पालिका-१

अब्बल पालिका-२

अब्बल पालिका-३

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?