२५ असोज, दाङ । महको लागि उर्वर मानिने दाङ जिल्लामा पछिल्लो समयमा मह उत्पादन घट्दै गएको छ ।
जिल्लामा पछिल्लो समयमा माहुरीको गोलामा वृद्धि भए पनि मह उत्पादन घटेको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कबाट मह उत्पादन घटेको देखिएको छ । कार्यालयका बाली संरक्षण अधिकृत पीताम्बर बस्नेतका अनुसार जिल्लामा आव २०६९÷७० मा छ हजार ८७० माहुरीका गोला रहेका थिए ।
ती गोलाबाट २१५ मेट्रिक टन मह उत्पादन भएको थियो । त्यसैगरी आव २०७०÷७१ मा सात हजार १०२ गोला रहेका थिए । जसबाट २२२ मेट्रिक टन मह उत्पादन भएको थियो । त्यसैगरी आव २०७१÷७२ मा सात हजार ६५२ गोला रहेकामा २३४ मेट्रिक टन मह उत्पादन भएको थियो ।
तर, प्रतिघारको उत्पादनका दृष्टिले भने आव २०६९÷७० मा ३१.२९ प्रतिघार वार्षिक उत्पादन भएको थियो । त्यसैगरी आव २०७०÷७१ मा ३१.२५ प्रतिघार तथा आव २०७१÷७२ मा ३०.६४ प्रतिघार वार्षिक रुपमा उत्पादन भएको थियो । यो आँकडाले महको उत्पादन भने घट्दै गएको देखिन्छ ।
मह उत्पादन घट्नुको कारण जिल्लामा चरन क्षेत्रको अभाव र आवश्यक औजारको उपलब्धता नहुनु रहेको कृषि कार्यालयले जनाएको छ । पछिल्लो समयमा तोरी खेती हुने क्षेत्र घट्दै जानुले मुख्य भूमिका खेलेको बाली संरक्षण अधिकृत बस्नेतले बताए ।
जिल्लामा १८ हजार हेक्टरमा तोरी खेती हुने गरेको कार्यालयको तथ्याङ्क छ । त्यसैगरी माहुरी पनि ज्यादै पुरानो वंश हुँदै गएको कारण पनि मह उत्पादन घटेको हुनसक्ने बस्नेतको भनाइ छ ।
कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा करिब १२ हजार माहुरीका गोला रहेकोे छ भने यहाँ करिब १५ हजार माहुरीको गोलाको लागि चरन उपबब्ध छ । माहुरी चराउनका लागि बाहिरी जिल्लाबाट समेत बर्सेनि ल्याउने गरिएको छ ।
जिल्लाका रामपुर, लक्ष्मीपुर, घोराही नगरपालिकाको माथिल्लो भाग, हापुर, धर्ना गाविस चरनका लागि उपयुक्त क्षेत्र मानिन्छन् । जिल्लामा उत्पादन भएको महमध्ये ८० प्रतिशत बाहिर जाने गरेको छ । यहाँको मह नेपालगन्ज, बुटवल, पोखरा, काठमाडौँलगायत सहरमा बिक्री हुने गरेको छ ।
प्रतिक्रिया 4