
८ भदौं, चितवन । विश्वकै दुर्लभ मानिने एकसिङे गैंडा गणना यसै वर्ष गर्ने तयारी गरिएको छ । यसै वर्षको फागुन/चैतसम्म गर्ने गरी आवश्यक स्रोतको जोहो गर्ने काम भइरहेको निकुञ्ज विभागका महानिर्देशक डा.रामचन्द्र कँडेलले बताए ।
चालु आर्थिक वर्षको बजेटमा सरकारले गैंडा गणनाका लागि २० लाख रकम विनियोजन गरेको छ । सरकारसँग विभागले डेढ करोड रकम माग गरे पनि २० लाख मात्रै बजेट विनियोजन गरिएको हो ।
गैंडा गणनाका लागि एक करोड ५० लाख रुपैयाँको हाराहारीमा खर्च हुने महानिर्देशक डा.कँडेलले जानकारी दिए । बाँकी रकम विभिन्न अन्य सहयोगी संस्थामार्फत जुटाउने विभागको योजना छ ।
विभागले निकुञ्जको दिगो व्यवस्थापन तथा गैंडा गणना जस्ता कार्यमा नीजि क्षेत्रलाई कसरी जोड्न सकिन्छ भन्ने बारेमा पनि छलफल गरिरहेको डा.कँडेलले बताए ।
उद्योग वाणिज्य महासंघ, विभिन्न बैंक तथा वितिय संस्थाहरुलाई पनि समेटेर यस अभियान जोड्ने प्रयासमा विभाग रहेको डा.कँडेलले बताए । निजी क्षेत्रको सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमलाई निकुञ्ज व्यवस्थापनसँग जोड्न विभाग लागेको उनले बताए ।
बजेट अभावमा गत वर्ष २०८१ फागुन/चैत महिना भित्र हुनुपर्ने गणना हुन सकेको थिएन । यसअघि २०७७ (सन् २०२१ ) साल चैत ९ गतेदेखि २७ गतेसम्म गैंडा गणना गरिएको थियो । हरेक चार चार वर्षमा गैंडा गणना गर्ने भनिए पनि विभिन्न कारणले हरेक वर्ष पछाडि धकेलिँदै आएको छ । सन् २०१५ पछि सन् २०२१ मा गणना भएको थियो । २०८१ (सन् २०२५) भित्रै हुनुपर्नेमा गणना हुन नसकेर अब सन् २०२६ मा मात्रै गैंडा गणना गरिने भएको हो ।
गैंडा गणनाका लागि करिब ५० लाख बराबरको सहयोग गर्दै आएको अमेरिकी परियोजना जल जंगल अचानक स्थगित भएपछि गत वर्ष गणना रोकिएको निकुञ्ज विभागका महानिर्देशक डा.कँडेलले बताए ।
गत वर्ष सरकारले पनि बजेट विनियोजन गरेको थिएन । गैंडा गणनामा अघिल्लोपटक नेपाल सरकारको एक करोड १० लाख र विभिन्न सहयोगी संस्थाले ३० लाख गरी एक करोड ४० लाख रकम खर्च भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले बताए ।
प्रमुख संरक्षण अधिकृत डा.पन्तले ‘लजिष्ट्रिक’ व्यवस्थापनमा बढि खर्च लाग्ने बताए । गैंडा गणनाका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जेडएसएल नेपाललगायतका संघसंस्थाले सहयोग गर्दै आएका छन् ।
गैंडा गणनाका लागि विभिन्न दातृ निकायको समेत मुख ताक्ने गरिन्छ । सरकारले मागे जति बजेट नदिँदा दातृ निकायलाई जोड्नु परेको महानिर्देशक डा.कंडेलले बताए ।
गैंडा गणना चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हुने गर्दछ ।
विभागका प्रवक्ता तथा उपमहानिर्देशक वेदकुमार ढकालले गैंडाको संख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन गैंडा गणना आवश्यक भएको बताए । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने उनले बताए ।
‘साउन, भदौं र असोज बर्खा मास नै हुन्छ, चाडपर्व पनि सुरु हुन्छ, त्यसपछि मंसिर पुस माघ जाडो र कुहिरो लाग्ने भएकोले फागुनको अन्तिम वा चैतको पहिलो हप्ता मात्रै गणनाको काम थालिन्छ’, विभागका प्रवक्ता ढकालले भने, ‘२०/२५ दिनमा गणना गरे सकिन्छ भन्ने योजना बन्छ ।’
गैंडा गणना एक महिना भित्र नै सकिन्छ । रियल टाइम डाटा लिने र डाटाको स्क्रिनिङ धेर गर्नु नपर्ने भएकोले नतिजा पनि चाँडै नै सार्वजनिक हुन्छ ।
गणनाबाट आउने नतिजाका आधारमा गैंडाको घाँसे मैदान व्यवस्थापन, गैंडाको संख्या कुन ठाउँमा कस्तो छ भनेर सोही आधारमा योजना बनाउन सहज हुने र संरक्षणको योजना पनि बन्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.पन्तले बताए ।
प्रमुख संरक्षण अधिकृत डा. पन्तले गैंडा गणना संख्या मात्रै थाहा पाउने भन्दा पनि गैंडाको संरक्षणका लागि योजना बनाउने, रणनीति बनाउने तथा गैंडाको उचित वासस्थापनको व्यवस्थापन गर्नेसम्मका विषय जोडिएकोले यसलाई प्राथमिकतामा राख्ने गरिएको बताए । गैंडा विश्व कै दुर्लभ र नेपाललाई चिनाउने प्राणी भएकोले यसलाई पनि उच्च प्राथमिकतामा राख्नुपर्ने उनको धारणा छ ।
गैंडा गणना कार्यलाई वैज्ञानिक एवम् व्यवस्थित बनाउन कुनै पनि गैंडा नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ विभिन्न ब्लक बनाएर प्राविधिकले एक-एक गरी गैंडा गणना गर्छन् । गैंडाको वासस्थान रहेको सबै स्थानमा ५० देखि एक सय मिटर दूरीमा जीपीएस, दुरविनसहित प्राविधिकहरु बसेर गैंडा स्वीप गर्दै गणना गरिने डा.पन्तले बताए ।
निकुञ्जलाई गणनाका लागि हात्ती, दूरविन, क्यामेरालगायत प्रयोग गरिन्छ । हात्तीमा बसेका गणकहरूले ब्लक ब्लक बनाएर प्रत्यक्ष रूपमा स्वीप गरेर एक–एक गरी गैंडा गणा गर्ने गर्छन् । गैंडा गणनामा दूरबिन प्रयोग गरिन्छ । फोटोहरुसमेत लिइन्छ । जीपीएस लोकेशन पनि राख्ने गरिन्छ । गैंडा गणना गर्दा ५० वटा हात्तीसहित झण्डै २५० भन्दा बढि विभिन्न जनशक्तिको आवश्यकता पर्दछ । गैंडा गणना गर्दा जोखिम पनि हुने भएकोले सुरक्षाको विषय पनि उठ्ने गर्दछ ।
अघिल्लोपटक १९ वटा ब्लक बनाएर १८ दिन (चैत ९ गतेदेखि २७ गतेसम्म) गणना गरिएको थियो । गणनाका क्रममा एक जनाको ज्यान समेत गएको थियो भने, ८ जना घाइते भएका थिए ।
देशभर ७५२ गैंडा
सन् २०२१ मा गरिएको गैंडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा गरेर ७५२ गैंडा रहेको तथ्यांक सार्वजनिक भएको थियो । सन् २०१५ मा रहेका ६४५ गैंडा १०७ गैंडा बढेर ७५२ पुगेको भन्दै संरक्षणकर्मीहरूले खुसी पनि मनाएका थिए ।
सन् १९६० को दशकमा गैंडाको संख्या घटेर करीव एक सयको हाराहारीमा पुगेको थियो । नेपालमा सन् १९५० को दशकमा ८ सय वटा गैंडा थिए । यसपटक हुने गणनामा गैंडाको संख्या सन् १९५० को हाराहारीमा पुगेको हुन सक्ने विज्ञहरू बताउँछन् ।
सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैंडाबाट बढेर ३८, शुक्लाफाँटमा ८ बाट बढेर १८ पुगेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जमा रहेका ६९४ गैंडामध्ये गणना यताका आर्थिक वर्ष २०७७/०७८ मा ३३, आ.व.२०७८/०७९ मा ३७, आ.व. २०७९/०८० मा २२, आ.व.२०८०/०८१ मा २१ र चालु आव २०८१/०८२ मा २८ वटा गैंडा विभिन्न कारणले मरेका छन् । समग्रमा पछिल्लो पाँच आर्थिक वर्षमा १४१ गैंडा मरेका छन् ।
सन् २०१५ मा पर्सा राष्ट्रिय निकुञ्जमा तीन गैंडा रहेकोमा सन् २०२१ मा पनि तीन बटा मात्रै गैंडा भेटिएका थिए । सन् २०२१ को गणनामा छुट्टिएको भालेको संख्या १४६ र पोथीको संख्या १९८ रहेको थियो । लिङ्ग पहिचान नभएको संख्या ४०८ छ रहेको थियो । सो गणनामा बयश्क गैंडा ५२०, अर्ध वयस्क ९६ र बच्चा १३६ रहेको पाइएको थियो ।
नेपालमा सन् १९५० मा ८००, सन् १९५५ मा ४००, सन् १९६० मा ३००, सन् १९६५ मा १००, सन् १९७० मा १०८, सन् १९७५ मा १४७, सन् १९८० मा ३१०, सन् १९८५ मा ३१०,सन् १९९० मा ३५८, सन् १९९५ मा ४६६, सन् २००० मा ६१२, सन् २००५ मा ४०९, सन् २०१० मा ४३५ र सन् २०१५ मा ६४५ र सन् २०२१ मा ७५२ गैंडा फेला परेका थिए । चितवन राष्ट्रिय निकुञ्जमा ८५० वटासम्म गैंडा अटाउन सक्छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जमा १००, शुक्लाफाँटामा ५० र कोशीटप्पुमा ४० वटा गैंडा अटाउने विज्ञहरूले बताउँदै आएका छन् .
प्रतिक्रिया 4