२५ असोज, काठमाडौँ । व्यवस्थापिका–संसद्ले व्यवस्थापिका संसद्को आन्तरिक कार्यविधि–२०७२ परिमार्जन र व्यवस्थापिका–संसद् नियमावली मस्यौदा समिति गठनसम्बन्धी दुई प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
संसद्को सोमबार बसेको बैठकले ती दुई प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । सभामुख सुवास नेम्वाङले कार्यविधि परिमार्जनसम्बन्धी प्रस्ताव र नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले नियमावली मस्यौदासम्बन्धी प्रस्तावलाई बैठकमा प्रस्तुत गरेका थिए ।
नियमावली प्रस्तावलाई एकीकृत नेकपा (माओवादी) का प्रमुख सचेतक गिरीराजमणि पोखरेल र नेकपा (एमाले)का सचेतक गोकुलप्रसाद घर्तीले समर्थन गरेका थिए । नयाँ संविधान जारी भएपछि संविधानसभा स्वतः व्यवस्थापिका–संसद्का रुपान्तरण भएको थियो ।
नेपालको संविधानको धारा २९६ को उपधारा १ बमोजिम व्यवस्थापिका संसद्ले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र समितिको गठन, काम कारबाही तथा अन्य कुरा नियमित गर्न र व्यवस्थापिका–संसद्का अन्य कार्यलाई सहज बनाउन सो नियमावली ल्याएको हो ।
सो नियमावली मस्यौदा समितिमा ६१ जना सांसदहरु रहेका छन् । समितिमा अइन्द्रसुन्दर नेम्वाङ, अतहरकमाल मुसलमान, आनन्दप्रसाद ढुङ्गाना, ईश्वरी न्यौपाने, उदय नेपाली श्रेष्ठ, एकनाथ ढकाल, कर्णबहादुर थापा, किरण यादव, कुन्तीकुमारी शाही, कुमार खड्का, कृष्णभक्त पोखरेललगायतका सांसद छन् । रासस
प्रतिक्रिया 4