स्पेन । करिब १० हजार नेपालीहरु बसोबास गर्दै स्पेनमा नेपाली राजदुताबास स्थापनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सकारात्मक रहेका बताएका छन्। एनआरएनए स्पेन लगायत संघ संस्थाका प्रतिनिधिहरुको भेटका क्रममा नवनिर्वाचित प्रधानमन्त्री ओलीले स्पेनका समस्यालाई आफूले मनन गरेको भन्दै सकारात्मक देखिएका हुन्।
प्रधानमन्त्री निबास बालुवाटारमा भएको छोटो भेटवार्ताका क्रममा, नेपाल सरकारले स्पेनमा दुताबास स्थापना गर्न पहिले नै निर्णय गरेर पनि कार्यान्वयन गर्न नसकेको र पटक-पटक डेलीकेसन आउँदा प्रगति हुन नसकेको भन्दै गुनासो राखे। जवाफमा प्रधानमन्त्री ओलीले गत जनबरीमा पनि यसबारे आफूले ज्ञापनपत्र बुझिसकेको हुँदा, आफूलाई सबै समस्याकोबारेमा जानकारी भएको भन्दै सकारात्मक देखिए।
यसअघि स्पेनको प्रतिनिधि टोलीले शुक्रबार परराष्ट्र सचिव शंकरदास बैरागीसँग पनि भेटबार्ता गरेको थियो। भेटपछि सचिव बैरागीले स्पेनका सम्पूर्ण समस्याहरुलाई खुलाएर मन्त्रालयलाई एउटा पत्र कोर्न सुझाव दिएका छन्। उनले आफ्नो तर्फबाट सक्दो पहल गर्ने र मन्त्रालय समक्ष स्पेनका नेपालीहरुको मागलाई पुर्याउने र कार्यान्वयनमा जोड दिने प्रतिबद्दता ब्यक्त गरे। स्पेनमा नेपालीहरुले भोग्नुपर्ने समस्याहरु, नेपालको मेडिकल रिपोर्टलाई दिल्लीमा मान्यता नदिईने,परिबार पुनर्मिलन प्रकियाका भोग्नु पर्ने झन्झटहरुको बारेमा जानकारी गराईएको थियो।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सल्लाहकार पुष्पराज तिमिल्सिना, सदस्य दीपक खरेल, प्रस्तावित सदस्य एकराज गिरी, एनआरएनए स्पेनका अध्यक्ष मुक्तबहादुर गुरुङ, प्रबासी नेपाली मञ्च स्पेनका अध्यक्ष दीनेश गुरुङ, महासचिब लक्ष्मण शर्मा, नेपाली जनप्रगतिशील मञ्च स्पेनका सचिव बिशाल ढुंगाना, एनआरएन क्षेत्रीय समिति म्याड्रिडका अध्यक्ष रोशन पाठक लगायतको टोलीले प्रधानमन्त्रीलाई भेट गरेको थियो।
पार्टी सरकारमा गएको छ सक्दो पहल गर्छुः पूर्ब प्रधानमन्त्री प्रचण्ड
एकिकृत नेकपा माओवादीका अध्यक्ष एबम पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पेनमा दूताबास स्थापना गर्न आफ्नो पार्टीले सक्दो पहल गर्ने बताएका छन्। दुताबास स्थापना गर्न एक पटक निर्णय भई सकेकोले पनि स्पेन पहिलो प्राथमिकतामा रहेको भन्दै आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्दता ब्यक्त गरे।
उनले अहिले पार्टी पनि सरकारमा गएको हुँदा यस बारे सबै जानकारी गराउने बचन दिएका छन्। केहि वर्षअघि सरकारले बहराईन ओमन र स्पेनमा दुताबास स्थापना गर्ने निर्णय गरेको थियो। तर अन्य दुई देशमा दुताबास स्थापना भई सके पनि स्पेनको हकमा भने अझै निर्णय कार्यान्वयन हुन सकेको छैन।
प्रचण्ड निवासमा भएको भेट बार्तामा एनआरएन स्पेनका निर्बतमान अध्यक्ष एकराज गिरीले दूताबास स्थापनाका लागि अहिलेसम्म भएका पहलहरु,बुझाईएका ज्ञापनपत्र, स्पेनका समस्याहरुको बारेमा जानकारी गराएका थिए।
भेट हुँदा सबै सकारत्मक तर हातमा लाग्यो शुन्य
स्पेनबासी नेपालीहरुले बिगत लामो समय देखि दुताबासको माग गर्दै नेपाल सरकार, परराष्ट्र मन्त्रालय, उच्च पदस्थ व्यक्तित्व,प्रमुख दलका नेताहरुको ढोका धाउँदै आए पनि कुनै ठोस प्रगती भने हुन सकेको छैन।
स्पेनमा आउँदा होस् वा नेपालमा नै पुगेर उच्चपदस्थ व्यक्तित्वहरुसँग भेटबार्ता बाक्लो बनाए पनि प्रगती भने हातमा लाग्यो शुन्य नै छ। सन् २०१५ सुरुवातमा नै एनआरएन स्पेनको नेतृत्वमा राष्ट्रपति,प्रधानमन्त्री,परराष्ट्रमन्त्री,परराष्ट्रमन्त्री सचिव लगायत प्रमुख दलका नेताहरुलाई भेट गरि ज्ञापानपत्र बुझाए पनि सम्बन्धित निकायबाट योबारे छलफल समेत हुन सकेको छैन। स्पेनस्थित गैरआवासीय नेपाली संघ लगायत संघ सस्थाहरु बिगत लामो समयदेखि दूताबासको माग गर्दै दवाब भने सृजना गर्दै आएका छन्।
गत बर्ष बार्सिलोनामा सम्पन्न सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाँचौ महिला सम्मेलनले पनि स्पेनमा नेपाली दुताबास आबश्यक रहेको भन्दै, घोषणा पत्रमा उल्लेख गर्दै नेपाल सरकारसँग जोडदार माग गरेको थियो।
प्रतिक्रिया 4