Comments Add Comment

मूलधारबाट मधेसी नेताहरु किन बाहिरिए ?

रामरिझन यादव
ने.क.पा (माओवादी) बाट क.मातृका यादवको बहिरगमनलाई हामी एकताकेन्द्र मशालबाट आएकाहरुले गम्भीरताका साथ लिएका थिएनौं । उनले पार्टी परित्याग त्यतिबेला गरेका थिए जतिबेला माओवादी र एकताकेन्द्र मसालवीचको एकीकरण अन्तिम चरणमा पुगेको थियो । मातृकाको एकताकेन्द्र मसालसंग कहिल्यै राम्रो सम्वन्ध रहेन । त्यसैले हामीले के अनुमान गर्‍यौं भने एकीकरणवाट मातृका असन्तुष्ट रहेकोले पार्टी एकतालाई बहिरगमनको आधार बनाएको होला । तर, कुरा अर्कै रहेछ ।

Matrika, Goit and Jwala sing
माअाेवादीबाट बाहिरिएका मातृका, जयकृष्ण र ज्वाला सिंह


त्यस्तै जयकृष्ण गोइतको बहिरगमनलाई पनि हामीले मातृका यादवसंग दाजेर हेर्‍यौं । मधेसी राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष पदबाट विस्थापित गरेकोले गोइत अलग्गिएको हाम्रो अनुमान थियो । गोइतको हकमा पनि पदीय मर्यादाभन्दा अलग्गिनुको कारण मातृकासंग मिल्दोजुल्दो रहेछ ।

तर, नागेन्द्र पासवानउर्फ ज्वाला सिंहको माओवादी पार्टी परित्यागको कारण भने मातृका तथा जयकृष्णभन्दा नितान्त भिन्न थियो ।

अहिले माओवादीवाट निस्केकाहरुको अवस्था मातृका र जयकृष्ण गोइतभन्दा खासै भिन्न छैन । भूराजनीति नै यसका प्रमुख कारण हुन् ।

यतिमात्र होइन, नेपाली कांग्रेसवाट कोषाध्यक्ष महन्थ ठाकुरको अर्थपूर्ण पार्टी प्रत्यजन मननीय छ । तर, केन्द्रीय सदस्यद्वय जयप्रकाश गुप्ता तथा विजय गच्छेदारमाथि स्तरहीन आक्षेप लागे पनि दुवै वीचको पार्टी त्यजनमा आधारभूत अन्तरहरु पाइन्छन् ।

परन्तु एमालेवाट क. रामचन्द्र झा, जीतेन्द्रनारायण देव तथा महेन्द्र राय यादवहरुको पार्टी परित्यागको सामान भूराजनीतिक महत्व छ । अशोक राई र राजेन्द्र श्रेष्ठको बहिरगमनलाई पनि यसरी नै अथ्र्याउन सकिन्छ ।

अहिले पनि नेपाली कांग्रेस, एमाले र माओवादीमा मधेसी अनुहार नरहेका होइनन् । ठूलै संख्यामा छन् । तर, राष्ट्रिय छवि बनाएकाहरुको अवस्था घट्दो छ । एमाले र माओवादीमा त अब टुकी लिएर खोज्नुपर्ने अवस्थाको सिर्जना भएको छ । कांग्रेसलाई नेताद्वय विमलेन्द्र निधी र चित्रलेखा यादवले थेगेका छन् ।

तर राष्ट्र, राष्ट्रियता र प्रजातान्त्रिक समाजवादको खोल ओढेर पाँच दशकभन्दा बढी अवधिदेखि मधेस र मधेसी जनतालाई ठग्दै आएका नेकाको भण्डाफोर भैसकेको छ । यसपालि त झन नराम्ररी नांगिएका छन् । कम्युनिष्टका नाममा खेत खाइरहेको एमाले सबैभन्दा ठूलो मधेसी विरोधी पार्टी हो भन्ने कुराको पुष्टि पनि भैसकेको छ । मधेसको नामै नसुन्ने केपी शर्मा ओलीको ताजपोसीले एमालेको वास्तविकता उदांगिएको छ ।

त्यस्तै उपेक्षित जातजाति, भाषाभाषी, लिंग, वर्ग, क्षेत्रका जनताको एकताका मुटुको ढुकढुकी बनेका माओवादीले राज्यको एकात्मक तथा केन्द्रीकृत संरचनाको आत्मामाथि ठूलो चोट पुर्‍याए पनि त्यसको शारीरिक अंगमा खासै रुपान्तरण गर्न सकेनन् । फलस्वरुप मधेसमा माओवादीप्रति पनि वितृष्णा बढ्दो छ ।

अहिले यो लेखको विषयवस्तु नेपाली कांग्रेस, एमाले तथा माओवादीको नेतृत्व पंक्तिमा रहेका प्रायः सबै वरिष्टतम् मधेसी अनुहारहरुको पार्टी परित्यजनको कथा र व्यथा नै हो ।

एकीकृत नेकपा माओवादी

मधेसी, आदिवासी/जनजाति, दलित, महिला, उपेक्षित वर्ग र क्षेत्रको अधिकार पक्षपोषण गरेको हुनाले मओवादी जनयुद्धले दिन दुई गुणा रात चौगुणाको दरले फड्को मारेको थियो । मार्क्सवाद वा माओवादको मसम्म पनि नसुनेका र उच्चारणसमेत गर्न नसक्ने मधेसीहरु मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन पश्चात माओवादीको झण्डामुनि गोलवन्द भएका थिए । यसले जातीय वा राष्ट्रिय रुपमा मधेसीहरु कति प्रताडीत, शोषित, पीडित र दमित रहेछन् भन्ने कुराको ज्वलन्त उदाहरण प्रस्तुत गर्दछ । अझ मधेस विद्रोहले झन यसलाई पुष्टि गर्ने काम गर्‍यो ।

यसप्रकार, जनयुद्धका जगमा ०६२/६३ सालको ऐतिहासिक जनआन्दोलन र त्यसको परिपूरकको रुपमा मधेस विद्रोह सम्पन्न भएको थियो भन्ने कुरामा पनि कसैको मतेक्यत रहेन । तत्पश्चात उत्पीडित राष्ट्रियताहरुको आन्दोलनको भेल नै बग्यो । मूलतः माग जायज थियो, त्यसैले राज्यले उनीहरुसंग सम्झौता गर्न बाध्य भए ।

तर, कांग्रेस र एमालेले यसप्रकारको यथार्थपरक सोचको विपरीत परम्परावादी जातीय कुरालाई उठाएर माओवादीको वैचारिक राजनीतिमाथि प्रहार गरे, जो नितान्त वस्तुनिष्ट थिएन र छैन पनि । कांग्रेस र एमालेको यो अभियानलाई अवशेषको रुपमा बाँकी रहेका एकात्मक राज्यद्वारा पोषित सञ्चार माध्यमहरुले खुलेर गोयवल्स शैलीको रुपमा सघाएका थिए । यसले गर्दा माओवादीले आन्तरिक राष्ट्रियता विरोधीहरुलाई कसिलो जवाफ फर्काउन सकेन वा फर्काएको जवाफ कारगर सावित भएन । महान नेपाली जनता अलमलमा परे । दोस्रो संविधान सभामा कांग्रेस र एमालेले बाजी मारे । संविधान सभाभित्र उत्पीडित राष्ट्रियताको आन्दोलन कमजोर हुन पुग्यो ।

मातृका यादव तथा जयकृष्ण गोइतले पनि पार्टीसंग वैचारिक राजनीतिक मतभेदका कारण नै परित्याग गरेको हो । यी दुवै जना समग्र मधेस एक प्रदेशका समर्थक हुन्

अहिलेको मधेसी तथा थारु आन्दोलन माओवादीको जनयुद्धकालीन वैचारिक धरातलका आधारमा मात्र होइन, विगत करिव एक दशकदेखि विभिन्न राष्ट्रियताहरुसँग राज्यले गरेको सम्झौताको आधारमा उठेका छन् भन्ने सद्बुद्धि राज्य पक्षमा आओस् । तर, उदेकलाग्दो कुरा के छ भने यसको ठीक उल्टो र घोर आन्तरिक राष्ट्रियता विरोधी पार्टीसँग एकीकृत माओवादीको गठजोड हुन पुगेको छ ।

यसप्रकारको गठवन्धनले एकीकृत माओवादी विपरीत दिशातर्फ गएको हाम्रो बुझाइ छ । शायद त्यसैले होला, शोषित पीडित राष्ट्रियताको पक्षमा अन्तरपार्टी संघर्ष गरिरहेका हामी मधेसीहरुमाथि त्यतिवेला ठूलो वज्रपात हुन गयो, जतिवेला पार्टीले संविधान घोषणा भएको उपलक्ष्यमा हर्षोल्लासका साथ दीपावली मनाउने निर्णय गर्‍यो ।

आन्तरिक राष्ट्रियता विरोधी पार्टीहरुसँग लहैलहैमा लागेर गरिएको यो निर्णय वस्तुनिष्ट थिएन । हामी करिव १५ जना एमाओवादीका केन्द्रीय सदस्यहरुले पार्टीको यो निर्णय फिर्ता लिन अनुरोध गर्‍यौं । तर, अध्यक्ष प्रचण्डले हाम्रो प्रेस विज्ञप्तिमाथि रतिभर ध्यान दिनुभएन । बरु एकल निर्णयलाई देशभरि कार्यान्वयन गर्न उर्दी जारी गर्नुभयो । नारा, जुलुस र आम सभा गरेर विजयोत्सव मनाउनुभयो ।

यो हाम्रो राजनीतिक जीवनसंग गरिएको खेलवाड थियो भन्ने महसुस हामीले गरेका छौं । किनकि हाम्रो राजनीतिक आधारभूमि तराईमधेस हो ।

संविधान घोषणा गरे पनि हामी त्यति दुखी थिएनौं, जति दीपावली मनाएर पार्टीले महाभूल गर्‍यो । वास्तवमा आधा जनसंख्या बोकेको मुलुकको भूभाग रक्ताम्य थियो । संविधान घोषणा गरेकै दिन पनि शत्रुघन पटेल अमर शहिद भएका थिए । त्यसैले विजयोत्सव मनाउने अवस्था थिएन । अन्ततोगत्वा पार्टी छाड्न हामी (रामचन्द्र झा, महेन्द्र पासवान, रामरिझन यादव, रामकुमार शर्मा तथा घनश्याम यादव) बाध्य भयौं । पछि पार्टीले पनि हामीलाई निस्कासनको नाटक मञ्चन गर्‍यो ।

मातृका यादव तथा जयकृष्ण गोइतले पनि पार्टीसंग वैचारिक राजनीतिक मतभेदका कारण नै परित्याग गरेको हो । यी दुवै जना समग्र मधेस एक प्रदेशका समर्थक हुन् । पछि गोइतले समग्र मधेसलाई छु्ट्टै देश बनाउन तराई जनतान्त्रिक मुक्ति मोर्चा गठन गरी सशस्त्र विद्रोहको नीति अंगाले । तर मातृका ठामोठाम रहे ।

प्रारम्भमा माओवादीले पनि मधेसमा वसोवास गर्ने सम्पूर्ण मधेसीहरुलाई एउटै राष्टियता भित्र समेटेको थियो । मधेसी राष्टिय मुक्ति मोर्चा गठन हुँदा त्यसमा थारुहरुलाई पनि राखिएको थियो । तर पछि मातृका यादव जेल पर्दा पार्टीले मधेसमा दुइटा राष्टियताको नीति अवलम्वन गर्यो । थारुवान राष्टिय मुक्ति मोर्चा गठन गरेर थारुहरुलाई अलगथलग पारियो । स्वभावतः मातृकाले यसलाई कडा रुपमा प्रतिवाद गर्याे । तर पार्टीले एक होइन, मधेसलाई पाँच टुक्रामा विभाजित गरे । त्यही अनुकूल पार्टीको आन्तरिक संगठनात्मक संरचना निर्माण गर्यो । मातृका र प्रभु वीचको मनभेद मतभेदमा रुपान्तरण हुँदा पार्टीलाई आफ्नो अनुकूल हिँड्न सजिलो भयो । मातृका पार्टी नै परित्याग गरे ।

कांग्रेस – एमाले

कांग्रेसको वरिष्टतम् नेतामध्ये एक रहेका महन्थ ठाकुर पार्टीको कोषाध्यक्ष हुनुहुन्थ्यो । आफ्नो यौवनावस्थादेखि नै प्रजातान्त्रिक आन्दोलनमा होमिएका ठाकुरले जीवनका सम्पूर्ण उर्जाशील दिन नेपाली कांग्रेसमा विताए । त्यतिवेला मधेस समस्याको सम्वन्धमा राजनीतिक रुपमा संघर्ष गर्ने एक मात्रनेपाल सदभावना पार्टी थियो भने मधेसी जनधिकार फोरम नेपालले बौधिक अभ्यास गर्थ्यो । फाटफूट रुपमा अझ एक दुइवटा संस्था रहेको हुन सक्छ ।

Mahantha, Ramchandra and JP
कांग्रेस- एमाले छाडेका महन्थ, रामचन्द्र र जेपी

तर मधेसी समस्याको सम्वन्धमा गोष्ठि, सभा, अन्तक्रिरया हँदा नेपाली कांग्रेसको प्रतिनिधि पात्र महन्त ठाकुर हुने गर्थ्यो । यसरी वर्षौंवर्षसम्म मधेसी समस्याको नजिक रहेर अध्ययन गरेका ठाकुर अहिले पनि मधेसमा वसोवास गर्ने सम्पूर्ण मधेसीहरुको एउटा मात्र राष्ट्रियता छ भन्ने कुरामा दृढ हुनुहुन्छ । त्यसैले आफ्नो पार्टीको नाममा तराईमधेस राख्नु भएको छ । थारुहरुलाई महामंत्रीसम्म बनाउनु भएको छ ।

बुढेसकालमा पार्टी परित्याग गर्दा उनि मर्माहन्त हुन पुगेका थिए । २०४८ सालमा तात्कालीन प्रतिनिधि सभाको उपाध्यक्षवाट शुरु भएको उहाँको पदीय राजनीतिक यात्राकैंर्यौ पटकसम्म मंत्री भएर टुंगिएका छन् । किनकी नेपाली कंग्रेसमा रहदा सधै जित्दै आएका ठाकुर पार्टी परित्याग पश्चात एक पटक पनि जितेका छैनन् । यद्यपि उहामाँ कुनै पछुतो छैन ।

स्वभावले नै निष्कलंक महन्त ठाकुर मधेसी आन्दोलनका सवैभन्दा इमान्दार नेता मात्र होइनन्, कांग्रेसमा रहदा पनि उहाँमाथि कहिल्यै कुनै आरोप लागेन । तर मधेसीसमुदाय मुलुकको एउटा राष्ट्रियता हो भन्ने कुराको नीतिगत रुपमा पार्टी भित्र अभ्यास गर्नु पर्छ भन्ने कुराको सैद्धान्तिक व्याख्याले आयतन नपाएपछि नेपाली कांग्रेसवाट उनि बाहिरिए ।

जयप्रकाश गुप्ता र विजय गच्छेदारलाई एउटै तराजुमा तौल्नेहरुको संख्या कम छैन । तर गुप्ताको अभिष्ट मधेसी मुक्ति आन्दोलन रहेको पाइन्छ भने गच्छेदारको लागि मधेसी आन्दोलन राजनीतिक रुपमा सुरक्षित अवतरण वाहेक अरु केही देखिन्न ।

नेकपा (एमाले)

एमालेको मधेसको खम्वाको रुपमा स्थापित रामचन्द्र झालाई पद, पैसा र प्रतिष्ठा उपलब्ध नगराएका होइनन् । तर पनि उनि पार्टी छोड्न बाध्य भए । यसको मूल कारण पार्टीले अंगालेको मधेस नीति नै हो, जसको शुरुवात पहिलो संविधान सभावाट भएको थियो । राज्य पुनर्संरचना तथा शक्ति बाडफाड समितिले बहुमतवाट १४ प्रदेशको खाका पास गर्यो । एमाले तर्फवाट यस समितिमा प्रतिनिधित्व गरिरहेका पाँच जनामध्ये रामचन्द्र झा र महेश चौधरीले त्यसलाई समर्थन गर्यो । पार्टीले दवाव दिए पनि दुवै जना आफ्नो निर्णयमा अडिग रहनु भयो ।

राज्यपुनर्संरचना आयोगमा एमाले तर्फवाट दुई जना मध्ये जनकपुरका भोगेन्द्र झा पनि थिए । रामचन्द्र झाको सिफारिसमा उनलाई पठाइएको थियो । पछि मत विभाजन हुँदा झाले एमालेको साथ नदिई दुइटा मधेस प्रदेशको खाकालाई समर्थन गर्यो । यसवाट पनि के पुष्टि हुन्छ भने रामचन्द्र झा एमाले भित्र मधेसको पक्षमा वकालत गरेको हुनाले उनलाई पाखा लगाइएको हो । जीतेन्द्र नारायण देव तथा महेन्द्र राय यादवले मधेस इशूको आधारमा त्योभन्दा धेरै पहिले एमाले परित्याग गरिसकेका थिए । अहिले रघुविर महासेठ झिंगा धपाएर पार्टीमा बसिरहेका छन् ।

यसप्रकार नेका,एमाले तथा माओवादीबाट मधेसीहरुको बहिरगमनको प्रश्न धेरै पेचिलो छ । तर पनि विस्तारै विस्तारै मधेसीहरु सुरक्षित अवतरण तिर लागेका छन् । आन्तरिक राष्टियता बलियो नहुन्जेलसम्म यो क्रम जारी रहनेछ । यसलेगर्दा कथित मूलधारकाराजनीतिक शक्तिहरु खिइदै जाने सम्भावना बढदो छ । भारत विहारमा अस्ति भरखरै सम्पन्न निर्वाचनले यो कुरालाई दरोसंग पुष्टि गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment