Comments Add Comment

मधेस सकसका १०० दिन: पहाड खोतलेर मुसो ?

madeshi suffer 100 days (4)

राजकुमार श्रेष्ठ

७ मंसिर, काठमाडौं । प्रदेशहरुको सीमांकनलाई लिएर तराई मधेसमा सुरु भएको आम हड्ताल सोमबार १०० दिन पुगेको छ । आखिर सय दिनमा के-के घटना भए ? र, के-के उपलब्धि प्राप्त भए ? यसबारे सत्तापक्ष र आन्दोलनकारी दुबैतिर विश्लेषण हुन थालेको छ ।

चारवटा मधेस केन्दि्रत दलले गठन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वैद्य माओवादीसँग मिलेर साउन ३१ र ३२ गते दुई दिन नेपाल बन्द आहृवान गरेपछि यो लामो आन्दोलन प्रारम्भ भएको हो । सोही बन्दलाई मधेसी मोर्चाले तराई मधेसमा आम हड्तालको रुप दियो र मधेस आन्दोलन सुरु भयो ।

मधेस आन्दोलनको यो १०० दिन निकै सकसपूर्ण रहृयो । अहिलेसम्म एसएसपीसहित ९ सुरक्षाकर्मीसहित ४८ जनाको मृत्यु भएको छ । यद्यपि मधेसी मोर्चाले आइतबार भएको सप्तरी घटनामा चार जनाको मृत्यु भएको भन्दै मृतकको संख्या ४९ पुगेको बताएको छ ।

यसबीचमा केही औपचारिक र धेरै अनौपचारिक सम्वादहरु पनि भएका छन् । तर, अझैसम्म राजनीतिक समझदारी जुट्न सकेको छैन । बरु आन्दोलनकारी र प्रमुख दलहरुबीच दुरी बढेको छ र आन्दोलन अराजक बन्ने खतरा अझ बढेको विश्लेषण हुन थालेको छ ।

आन्दोलनको तेस्रो दिन १ भदौमा सप्तरीमा गोली चल्यो । भारदहमा प्रहरीको गोली लागेर राजिव राउतको मृत्यु भयो । साउन ३२ गतेदेखि नै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेर बसेका आन्दोलनकारीले प्रहरीको गाडी तोडफोड गरेपछि झडप सुरु भएको थियो ।

मंगलबार प्रहरीले चलाएको गोलीबाट राउत मारिएपछि मधेस आन्दोलन अन्य जिल्लामा फैलियो ।

Madhesh andolan 100 days

मधेस आन्दोलनले ७ भदौमा हिंसात्मक रुप लियो । कैलालीको टीकापुरमा थारु आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा नेपाल प्रहरीका एसएसपीसहित सात सुरक्षाकर्मी र एक बालक मारिए । घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले केहीलाई भालाले रोपेर त केहीलाई जलाएर नृशंसपूर्वक हत्या गरेका थिए ।

आन्दोलनकारीबाट एसएसपी नै मारिएपछि सडकमा खटिएका सुरक्षाकर्मीहरु केही आक्रमक बने । भदौ १४ र १५ गते वीरगञ्ज तनावग्रस्त बन्यो र सुरक्षाकर्मीको गोली लागेर चारजनाको मृत्यु भयो ।

काठमाडौंमा नयाँ संविधानको विधेयकले अन्तिम रुप पाउँदै गर्दा तराई मधेसमा सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाउनेहरु बढे । २३ भदौमा महोत्तरीमा प्रहरीको गोलीबाट ३ आन्दोलनकारी मारिए भने दुई दिनपछि जनकपुरमा तीनजनाको ज्यान गयो

त्यही दिन आन्दोलनकारीले रौद्ररुप देखाए र आफ्नो आक्रमणमा परी घाइते भएका सशस्त्र प्रहरीका जवान थमन बिकलाई अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाटै थुतेर मारे

भदौ २९ गते रुपन्देहीको बेथरीमा सुरक्षाकर्मीले चलाएको गोली लागेर चार वर्षे बालकसहित चार जनाको मृत्यु भयो । बन्दका कारण रोकिएका गाडीहरुलाई स्कटिङ गरेर लैजाने क्रममा धर्नाकारीले रोकेपछि प्रहरीले गोली चलाएको थियो । सो घटनामा निर्दोष मानिसहरु मारिएको स्थानीयले बताउँदै आएका छन् ।

असोज ३ गते काठमाडौंसहितका शहरहरुमा नयाँ संविधान जारी भएको खुसीयाली मनाइरहँदा मधेसले ब्लाक आउट गर्‍यो । संविधानमा हस्ताक्षर गरेका सभासदहरुकै घरमा पनि वत्ती बलेन ।

जब भारत घुस्यो …

संविधान जारी भएपछि दक्षिण छिमेकी मुलक भारत खुलेर नेपालको अन्तरिक मामिलामा घुस्यो । संविधानसभाबाट दुई तिहाइभन्दा बढीले जारी गरेको नयाँ संविधानलाई भारतले स्वागत गरेन, बरु मधेसीको आन्दोलनको पक्षमा देखियो र उसले नाकाबन्दी गर्‍यो ।

भारतको नाकाबन्दीलाई बल पुग्ने गरी मधेसी मोर्चाले असोज ७ गतेबाट सीमा नाकाहरुमा धर्ना थाल्यो । दशगजा क्षेत्रमा मधेसी मोर्चाको धर्ना दिएको भर्नाको बाहना बनाएर भारतीय पक्षले अध्यावश्यकीय बस्तुहरुको आपूर्थि रोकेपछि काठमाडौं साँचै संकटमा पर्‍यो ।

दसैंको मुखमा भारतले गरेको नाकाबन्दीले इन्धनको चरम अभाव भएपछि त्यसको असर देशभर नै देखियो । मधेसीहरुको शब्दमा भन्ने हो भने बल्ल काठमाडौंले मधेस समस्या देख्यो र वार्ता थाल्यो ।

ऐतिहासिक मानव साङलो

Manab-Sanglo-rautahat

यो बीचमा मधेसी मोर्चाले असोज १४ गते तराई मधेसका जिल्लाहरुमा मानव सांलो प्रदर्शन गरे, जुन शान्तिपूर्ण र ऐतिहासिक थियो । हुलाकी राजमार्गमा बनाइएको विशाल मानव साङलोमा तराई मधेसका आम जनताको पनि उल्लेख्य संलग्नता थियो । यद्यपि त्यसमा पनि सीके राउतका कार्यकर्तासमेत घुसे र मोदीको ब्यानर समेत बोके ।

आान्दोलनकारीले राजमार्गमा स्कटिङ गरेर चलाइएका सवारी साधनमाथि ढुंगा हान्नेजस्तो हिंसात्मक विधि अपनाए । कतिपय चालकले हेल्मेट लगाएर बस चलाउनुपर्ने स्थिति आयो । अधिंकांश बसहरु सिसा फुटेको अवस्थामा चले त कैयौं यातायात व्यवसायी र यात्रुहरु घाइते बने ।

यहीबीचमा काठमाडौंमा नयाँ सरकार बन्यो । २४ गते एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहितको समर्थनमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भए । संविधानसभा बहिस्कार गरेर हिँडेको मधेसी मोर्चा कांग्रेस उम्मेदवारलाई भोट हाल्न संसदमा आयो । सभामुख, उपभामुख, राष्ट्रपति, उपराष्ट्रपति चयन भए ।

Gov-Madhesi-Barta

नयाँ सरकारले उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा वार्ता समिति बनायो । र, संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा असोज कात्तिक १५ गते भएको वार्ता निकै सकारात्मक भनियो । सरकारी वार्ता टोलीले मधेसी मोर्चाले उठाएको सीमांकनको मागलाई ‘रिकग्नाइज’ गरेको बनाएपछि दुबै पक्ष केही उत्साहित देखिए ।

तर, त्यो केही घण्टा पनि टिकेन । १६ गते बिहानै प्रहरीले वीरगञ्जको मितेरी पुलमा धर्ना बसेकाहरुलाई उठाएपछि सकारात्मक देखिएको वार्ताको माहोल एकाएक बिग्रियो । वीरगञ्ज दिनभर तनावग्रस्त बन्यो र झडपमा प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक मारिए

यो घटनाले मधेसमा भइरहेको आन्दोलनमा भारतको संलग्नतालाई पुष्टि गरेको थियो । तर, सरकारले यसलाई त्यो रुपमा अन्तराष्ट्रिय समुदायसँग राख्न सकेन, बरु भारत अझ रुष्ट बन्यो ।

वीरगञ्ज घटनापछि चिसिएको सम्वन्ध अनौपचारिक सम्वादहरुसँग केही सुमधुर बन्दै गरेको थियो । यो बीचमा तिहार र छठ पनि सकसमै बित्यो । दलहरुबीच शीर्षतहमै सम्वादसमेत भएको थियो ।

तर, मधेसी मोर्चाका आन्दोलनकारी केही अराजक देखिए । वीरगञ्जमा औषधि बोकेको गाडीमा आगजनी भयो । बिराटनगरमा बिरामी बोकेको एम्बुलेन्समाथि तोडफोड गरियो । त्यसको प्रतिक्रिया सप्तरीमा देखियो, जहाँ प्रहरीको गोली लागेर तीन जनाको ज्यान गयो ।

दलहरुबीच सम्वाद केही सकारात्मक भएकै बेला हुने गरेका यस्ता घटनाले आन्दोलनकारी र प्रमुख दलहरुबीच दुरी बढ्दो छ भने तराई मधेसमा भइरहेकेा आन्दोलन दलहरुको हातबाट बाहिर जाने र अराजकतातर्फ जाने खतरा बढेको विश्लेषण हुन थालेको छ ।

१०० दिनको उपलब्धि के ?

मधेसी मोर्चाले आन्दोलन सुरु भएको १०० दिनमा तराई मधेसका साथै काठमाडौंको माइतीघर मण्डलामा श्रद्धान्जली सभा गरेको छ । र, उसले आन्दोलन अझै चर्काउने बताएको छ ।

प्रमुख दलहरु सम्वादमा छन्, तर, अहिलेको सात प्रदेशको सीमांकन हेरफरमा कुनै ठोस सहमतिको लक्ष्यण देखिएको छैन ।  मधेसी मोर्चाको वार्ता टोली सदस्य एवं तमसपा वरिष्ठ नेता रामनरेश रायले भने, हाम्रो जुन माग छ, त्यसमा कुनै प्रगति भएको छैन ।’

कात्तिक १५ को वार्ता सकारात्मक भएपनि त्यसपछि ठोस प्रगति नभएको भन्दै उनले भने, नजिक-नजिक पुगेको भनिन्छ तर, अहिलेसम्म ‘चार पाइको विकारी, हातमा जिरो’ भने जस्तै भएको छ ।

सरकार वार्ता र सम्वादबाट मागहरु पूरा गर्नेभन्दा आन्दोलनलाई बदनाम गर्ने प्रयासमा रहेको मधेसी मोर्चाको आरोप छ । राज्यले जायग माग पूरा हुन्छ भन्ने गरेको भन्दै उनले भने, अब सरकारसँग धेरै विकल्प छैन । कि पुरै थारु, मधेसीलाई गोली हानेर सिध्याउनु पर्‍यो । होइन भने भएका सहमतिलाई कार्यान्वयन गर्न तयार हुनुपर्छ ।’

एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्डलाई दायाँ बायाँ राखेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफूहरुसँग सहमति गरेको भन्दै रायले भने, गिरिजाप्रसादले नाजायज सहमति गरेको हो भनेर खेद प्रस्ताव पारित गरोस्, हामी छाडिदिन्छौं । होइन भने राज्य जिम्मेवार भएर आओस् ।’

मधेसी मोर्चाका नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने १०० दिनको उपलब्धि मधेसीहरु विजायती हुन् भन्ने राज्यको व्यवहारले पुष्टि गरेको टिप्पणी गरे ।

मधेसी मोर्चामा आवद्ध सद्भावना पार्टीका महासचिव मनिष सुमन भन्छन्-१०० दिनको उपलब्धि भनेको हामीले आहृवान गरेको आन्दोलन जनआन्दोलनमा परिणत भएको छ ।’

तर, आफूहरुले उठाएको राजनीतिक मुद्दा सम्बोधनमा भने ठोस प्रगति नभएको उनले बताए ।  सरकारी वार्ता टोलीका सदस्य एवं स्वाथ्यमन्त्री रामजनम चौधरी अझै सहमतिको प्रयास भइरहेको बताउँछन् । उनी भन्छन्, सहमतिको वातावरण बनाउने लगायतका काम भइररहेको छ । तर, मुख्य मुद्दा सीमांकन नै हो । यसमा ठोस सहमति भइसकेको छैन ।’

सीमांकन हेरफेर गर्न प्रमुख दलहरु सहमत नभएसम्म समाधान ननिस्कने उनको निष्कर्ष छ ।

विगतमा १६ दिनमै सहमतिमा पुगेको मधेस आन्दोलन यसपटक नेपालको इतिहासकै लामो र सकसपूर्ण आन्दोलनका रुपमा देखापरेको छ । तर, आन्दोलनको उपलब्धि भने अहिलेसम्म हात पर्न सकेको छैन । पहाडलाई विम्वका रुपमा लिने हो भने मधेस आन्दोलनले सय दिन पूरा हुँदासम्म पहाड खोतलेर एउटा सानो मुसोसम्म समेत निकाल्न सकेको अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment