Comments Add Comment

ओलीको खर्च : १२ लाखको खाजा, एक लाखको पत्रपत्रिका र आइप्याड !

Kp oli Kharcha 1

८ मंसिर, काठमाडौं । मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण जनताका घरमा चुलो निभेका बेला प्रधानमन्त्री केपी ओलीको निवास बालुवाटारमा भने भोजभतेर र खाजा नास्तामा मात्रै साढे १२ लाख रुपैयाँ खर्च भएको छ ।

बालुवाटारमा विभिन्न समयमा बसेका बैठकमा खाजा-नास्ताबापत १२ लाख ६१ हजार १ सय ८९ खर्च भएको हो । उक्त रकम भुक्तानीका लागि प्रधानमन्त्रीको कार्यालयले मंगलबार बिल पेस गरेको छ ।

अनमोल क्याटि्रङ सर्भिसले भुक्तानीका लागि निदेवन दिएपछि प्रधानमन्त्रीको कार्यालयले खाजा खर्चको यस्तो बिल वेबसाइटमार्फत् सार्वजानिक गरेको हो ।

एक महिनामा १ लाख २८ हजारको पत्रिका ?

प्रधानमन्त्री ओलीले कात्तिक महिनामा १ लाख २८ हजार २ सय ५५ रुपैयाँ बराबरका पत्रपत्रिका पढेका छन् । आचार्य ट्रेडर एण्ड सप्लायर्स प्रालि.ले एक महिनामै यति ठूलो रकम बराबरको पत्रपत्रिकाको बिल पेश गरेको छ । जबकि कात्तिकमा दसैं तिहार परेकाले पत्रपत्रिका खासै निस्कँदैनन् ।

सवा लाखको आइप्याड !

त्यस्तै, प्रधानमन्त्री कार्यालयले १ लाख १७ हजार ४ सय ७ रुपैयाँको एप्पलको आइप्याड किनेको छ । सो आइप्याड प्रधानमन्त्री ओलीका लागि किनिएको हो या अरु कसैका लागि भन्ने खुलेको छैन । ओलीलाई आइप्याड बेच्ने ग्लोबल लिंक टेक्नोलोजीले सोमबार भुक्तानी माग्दै बिल पेस गरेको छ ।

Kp oli kharcha Doc

त्यसैगरी बालुवाटारमा १ लाख ४८ हजार ४ सय ३८ रुपैयाँ बराबरको आल्मुनियमको पार्टेसन गरेको बिल पनि प्रधानमन्त्री कार्यालयले पेस गरेको छ । त्यस्तै, मन्त्रिपरिषदको लोगो तथा ब्याच किन्न ५९ हजार ३ सय ५८ रुपैयाँ खर्च गरिएको छ ।

त्यस्तै उद्योग मन्त्री सोमनाथ पाण्डेसहितको टोली पाल्पा र रुपन्देहीको १ लाख ७ हजार ५ सय ४५ रुपैयाँ खर्च गरेका छन् भने युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलको रुपन्देही भ्रमणमा ३५ हजार ५ सय ९० रुपैयाँ खर्च भएको बिल पेस भएको छ ।

मन्त्रीको सम्पत्ति अहिलेसम्म गोप्य

प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको सम्पत्ति विवरण अहिलेसम्म सार्वजानिक भएको छैन । केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएको ४५ दिन नाघ्यो । तर, उनी र उनको सरकारमा सहभागी मन्त्रीहरुको सम्पत्ति विवरण अझैसम्म सार्वजानिक गरिएको छैन । एमाओवादीले आचार संहिता जारी गर्दै तत्काल सम्पत्ति विवरण सार्वजनिक गर्ने भने पनि एमाओवादीका मन्त्रीले पनि आफ्नो सम्पत्ति अहिलेसम्म गोप्य राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment