Comments Add Comment

कविता-ए हजुर ! यसो गरे कसो होला

सञ्जय खड्का

Sanjayaलाैकिक जगतमा अलौलिकताको
दैविक प्रभाव हुन्छ रे !
त्यसैले होला
यहाँ शक्ति रुपी बोक्सी र धामी हुन्छ रे !
बोक्सी त शक्तिशाली हुन्छ रे !
आफूले चाहेको जे पनि गर्न सक्छे रे !
त्यसो भए विश्वविद्यालय खोले हुन्छ
बोक्सी विद्या सिकाए हुन्छ
किन चाहियो बन्दुक अनि गोली र गठ्ठा ?
किन चाहियो प्रहरी र आर्मी ?
बोक्सीहरुको ब्यारेक बनाए हुन्छ,
राष्ट्रिय प्रतिरक्षाका लागि प्रयोग गरे हुन्छ,
अनि त, के को भारत के को चीन?
सबैभन्दा माथि नेपाल हुन्छ ।
धामी त झन् शक्तिशाली हुन्छ रे !
बोक्सी भन्दा एउटा शक्ति धामीमा बढि हुन्छ !
त्यसैले होला, भूतप्रेत, पिसाच, मुर्कुटा, मसान मन्साउन सक्छ रे !
जंगली , लगनी जे लागे पनि सल्टाउन सक्छ रे !
रोग जे सुकै होस फू गरेर हटाउन सक्छ रे !
अब हामीले एम.बि.बि.एस. पढ्न, पढाउन छोड्नुपर्छ,
ठूलो धन राशि खर्च गरेर डाक्टर बन्ने काम छोड्नुपर्छ ,
अब धामी विश्वविद्यालय खोले हुन्छ,
नामको अगाडि डा. होइन धा. लेखे हुन्छ ।
त्यसैले….
अब डा.गोविन्द केसीले अन्सन तोडे हुन्छ
टियु, केयु, पियु होइन डियु (धामी युनिभर्सिटी) खोले हुन्छ
टिचिङ्ग अस्पताल होइन, झारफुक अस्पताल खोले हुन्छ
स्वास्थ्य चौकी होइन, फुकफाक चौकी खोले हुन्छ ।
किन चाहियो र ?
किन चाहियो भिडियो एक्स् रे र सि.टी स्क्यान किन चाहियो ब्लड टेस्ट, त्यो टेस्ट र यो टेस्ट
सबै आखत हेरे पत्ता लागि हाल्थ्यो होला

भुतप्रेत पनि थरिथरिका हुन्छन् रे !
थरिथरि भुतका थरिथरिका स्वरुप हुन्छ रे !
विविधतामा पनि एकता हुन्छ रे !
अब भुतहरुको गठबन्धन बनाए हुन्छ
सदुपयोगितावादको सिद्धान्त अपनाए हुन्छ ।
राँके भूतलाई बत्ति बाल्न लगाए हुन्छ,
लोडसेडिङ्ग हटाउन लगाए हुन्छ,
भकुण्डे भुतलाई भकुण्डो खेलाए हुन्छ,
मसानलाई खेत बिराउन लगाए हुन्छ,
किच्कन्नीलाई विश्व सुन्दरी प्रतियोगितामा पठाए हुन्छ,
युवा भूतहरुको राष्ट्रिय युवा आयोग बनाए हुन्छ,
युवा भूतहरुलाई सशक्तिकरण गर्दै
देश निर्माणको काममा लगाए हुन्छ ।
बोक्सी भिलेन धामी हिरो हुन्छ रे !
प्रवृतिको दृष्टिले धामी सधैं सत्तापक्ष
बोक्सी चाँहि विपक्ष हुन्छे रे !
अब बोक्सी र धामीको गठबन्धन बनाए हुन्छ
रक्षा मन्त्रालय बोक्सीलाई दिए हुन्छ,
स्वास्थ्य मन्त्रालय धामीलाई दिए हुन्छ,
विज्ञान तथा प्रविधि मन्त्रालय कमलनयनाचार्यलाई दिए हुन्छ

आहा ! यस्तो गर्न सके त ….
यूनडिपिको रिपोर्टमा शतप्रतिशत नेपाली स्वस्थ्य हुन्थे होला
नेपालीहरु भूकम्प वा दैवी प्रकोपबाट सधैं सुरक्षित रहन्थे होला
नेपालीहरु वैदेशिक हस्तक्षेपबाट स्वतन्त्र हुन्थे होला
दिल्ली र वाशिंटनका शक्तिहरु काठमाडाैंमा केन्द्रीकृत हुन्थे होला
जाबो एटम बमले के लछार्छ?
बोक्सीले चाह्यो भने एकै वाणले बसी बसी धेरैलाई पछार्छ,
अनि त पोप फ्रान्सिस् ह्राम्रो स्वास्थ्यमन्त्री अगाडि झुक्थे होलान्,
वल्र्ड फस्ट लेडी हाम्रो रक्षामन्त्रीको अगाडि झुक्थी होलिन्
यूएनले एकमात्र भिटो पावर नेपाललाई दिन्थ्यो होला,
स्थायी समिति सदस्य बन्नका लागि
यूएस्, यूके अनि रुस, चिन र फ्रान्स
नेपाललाई गुहार्थे होलान् ।
भारत त झन् हजुर हजुर भन्दै
नेपालको चाप्लुसी गथ्र्यो होला ।
अहिलेको विश्वनायक माथि नाकाबन्दी हुन्थ्यो होला,
विश्वको शक्तिसन्तुलन यूनिपोलर हुन्थ्यो होला,
नाकाबन्दी गरिदिन्छु भन्नेलाई उल्टै मुखाबन्दी हुन्थ्यो होला
विश्वको शक्तिशाली राष्ट्र नेपाल हुन्थ्योहोला ।
ए हजुर !
साँच्चै यसो गरे कसो होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment