Comments Add Comment

पत्रकार दुर्घटना बीमा सुरु, पहिलो दिन नै ५५४ को बीमा गरियो

Sherdhan-Rai

११ मंसिर, काठमाडौं । नेपाल सरकार र नेपाल पत्रकार महासंघको सहकार्यमा बिहीवारदेखि पत्रकार दुर्घटना बीमा सुरु भएको छ । पत्रकार दुर्घटना बीमा (व्यवस्थापन) निर्देशिका, २०७० अनुसार श्रमजीवी पत्रकारका लागि गरिएको यो दुर्घटना बीमा अन्तर्गत चोटपटकको कारणबाट ४५ प्रतिशतभन्दा बढी अशक्तता भएकोलाई पाँच लाख रुपैयाँसम्म र दुर्घटनबाट भएको उपचारवापत लाग्ने खर्चको हकमा बिलबमोजिम बढीमा दुई लाख रुपैयाँसम्मको खर्च व्यहोरिने भएको छ ।

बिमित व्यक्तिको मृत्यु भएमा, स्थायीरूपले पूर्ण वा आंशिकरूपमा अशक्त भएमा, दुर्घटनाको कारण उपचार गराउनुपर्ने भएमा बिमितले लाभ प्राप्त गर्ने निर्देशिकामा उल्लेख छ ।

बिमा योजनाअन्तर्गत प्रत्येक बिमित पत्रकारको बीमा शुल्कको ७५ प्रतिशत सरकारी कोषबाट र २५ प्रतिशत नेपाल पत्रकार महासंघमार्फत सम्बन्धित व्यक्तिबाट व्यहोरिएको छ । यसअन्तर्गत प्रति व्यक्ति वाषिर्क प्रिमियम तीन सय ३९ रुपैयाँ मध्ये सरकारी कोषबाट दुई सय ५४ रुपैयाँ ७५ पैसा र महासंघबाट ८४ रुपैयाँ ७५ पैसा व्यहोरिने छ ।

पहिलो चरणमा बिहीवार महासंघमा विवरण प्राप्त भई नेपाल सरकार सूचना विभागबाट प्रक्रिया पूरा गरी स्वीकृत गरिएका पाँच सय ५४ जना श्रमजीवी पत्रकारको बीमा गरिएको छ ।

बिमित हुनु सूचना विभागबाट जारी प्रेस पास र महासंघ सदस्यता नवीकरण भएको हुनुपर्ने प्रावधान छ विहीवार बीमा कार्यक्रममा छुट भएका अन्य पत्रकारको विवरण संकलन जारी रहने र अर्को चरणको बीमा कार्यक्रम चाँडै कार्यान्वयन गरिने महासंघले जनाएको छ ।

नेपाल पत्रकार महासंघमा आयोजित विशेष कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले पत्रकार दुर्घटना बीमाको शुभारम्भ गर्दै यसलाई अझ फराकिलो बनाउने प्रतिवद्धता व्यक्त गरे । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले श्रमजीवी पत्रकारको दुर्घटना बीमा शुभारम्भ गरेकोमा सरकारलाई धन्यवाद दिंदै श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, स्वास्थ्य बीमा, मिडिया नीति र कानुनको पुनरावलोकन, प्रशिक्षण प्रतिष्ठान स्थापनालगायतका विषयको पनि चाँडै सम्वोधन हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment