Comments Add Comment

मोटो धानको खरिद मूल्य निर्धारण

paddy 1४ मंसिर, धनगढी । नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले नयाँ मोटो धानको खरिद मूल्य निर्धारण गरेको छ । गत असोजदेखि नै धान खरिदको मूल्य निर्धारण गर्न कृषकले माग गर्दै आएका भए पनि आइतबार मात्रै संस्थानले नयाँ धानको खरिद मूल्य निर्धारण गरेको हो ।

जिल्ला प्राथमिक खरिद समितिको बैठकले मोटो धान प्रतिक्विन्टल रु एक हजार ७५० मा खरिद गर्ने निर्णय भएको संस्थानको सेती अञ्चल कार्यालयका प्रमुख डिल्लीराज लम्सालले बताउनुभयो । स्थानीय बाजार भाउ र उद्योग वाणिज्य सङ्घले दिएको मूल्यलाई आधार मानी धान खरिदको मूल्य निर्धारण हुने गरेको छ ।

बैठकको निर्णयबमोजम आजबाट संस्थानको मोहनपुर र धनगढीस्थित गोदाममा काँटा सञ्चालमा ल्याई धान खरिद सुरु गरिएको छ । विगतमा जिल्लाको टीकापुर र भजनी लगायतका क्षेत्रमा समेत धान खरिद गर्दै आएको संस्थानले यस वर्ष भने ती क्षेत्रमा धान खरिदको व्यवस्था गरेको छैन ।

यद्यपि इन्धन आपूर्ति सहज भएमा र धान खरिदको कोटा केन्द्रबाट स्वीकृत भएमा जिल्लाको टीकापुरमा समेत काँटा सञ्चालनमा ल्याई धान खरिदको व्यवस्थासमेत गरिने लम्सालले बताए । ‘यस वर्ष २० हजार क्विन्टल धान खरिदको कोटा स्वीकृत भएको छ’ उनले भने । गत वर्ष संस्थानले ७० हजार क्विन्टल धान खरिद गरेको थियो ।

खरिद समितिको बैठकले धान खरिद कोटा वृद्धि गर्न स्वीकृतिका लागि सम्बन्धित निकायमा लेखी पठाउने निर्णयसमेत गरेको छ । केन्द्रबाट नै खरिदको आदेश ढिलो आएकाले ढिलो गरी धान खरिदको मूल्य निर्धारण गर्नु परेको लम्सालले बताए । घरका लागि चाहिने धान भण्डारन गरी बाँकी रहेको धान व्यापारीलाई बिक्री गरी सकेपछि संस्थानले धान खरिदको मूल्य निर्धारण गरेको हो ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष बर्खे धानको बालीको उत्पादन तीन लाख ५८ हजार ९३० मेट्रिक टन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment