Comments Add Comment

कलिङ भिसा आएका ७ हजार कामदारका लागि खुल्यो मलेसिया

१७ चैत, काठमाडौं । सरकारले कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिन थालेको छ । यो सँगै झण्डै १० महिनापछि मलेसियामा कामदार पुन पठाउन सुरु हुने भएको छ ।

वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेखेर कलिङ भिसा आएकाहरुलाई मलेसिया जान अन्तिम श्रम स्वीकृति दिन अनुमति दिएको विभागका एक निर्देशकले अनलाइनखबरलाई जानकारी दिए ।

सरकारले मलेसिया जाने कामदारलाई विभिन्न बाहनामा थप शुल्क लगाएर ठगी गरिएको भन्दै गत जेठ १२ गतेबाट मलेसियाका लागि श्रम स्वीकृति दिन रोकेको थियो । विभिन्न विचौलिया संयन्त्रमार्फत कामदारलाई सिन्डिकेट लादेर ठगी भएको भन्दै श्रम मन्त्री गोकर्ण बिष्टले ठगी गर्नेमाथि कारवाही चलाएका थिए ।

ती संयन्त्रमाथि गृह मन्त्रालयमार्फत अनुसन्धान गरेर हाल अदालतमा ठगीको मुद्दा विचाराधीन अवस्थामा छ । यही बीचमा कामदारले मलेसिया जाँदा एक रुपैयाँ पनि शुल्क तिनुनपर्ने र लागेको सबै शुल्क रोजगारदाताले बेहोर्ने गरी दुई देशबीच श्रम समझदारी भएको थियो ।

समझदारीमा कलिङ भिसा आएकाहरुलाई तत्कालै जान दिने उल्लेख भएपनि पुरानो बिचौलिया (भेन्डर)मार्फत कामदारको भिसा प्रक्रिया अघि बढाउन नसकिने अडान नेपालले लिएको थियो । तर, मलेसियाले पनि तत्कालै भेन्डर नफेर्ने संकेत गरेको थियो ।

यसैका कारण श्रम समझदारीपछि पनि कलिङ भिसा आएकाहरुलाई पनि मलेसियाका लागि श्रम स्वीकति दिइएको थिएन । बीचमा २० जना कलिङ भिसा पाएका कामदार मलेसिया दूतावासको सिफारिसमा उडेका थिए ।

त्यसपछि सरकारले कलिङ भिसा आएका कामदारको विवरण म्यानपावरहरुसँग मागेको थियो । मन्त्रालय स्रोतका व्यवसायीले ७ हजार कलिङ भिसा आएका कामदारको सूची बुझाएका छन् ।

अब पहिलो चरणमा ती कलिङ भिसा आएका कामदारलाई पठाएर मलेसियामा खोल्ने तयारीमा सरकार छ । अब संस्थागततर्फबाट भिसा आइसकेकाहरु पनि मलेसिया उड्न पाउनेछन् ।

सरकारले केही समयभित्रै नयाँ कामदारलाई पनि मलेसिया जान दिने गरी प्रक्रिया अघि बढाउने बताएको छ । मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाइसकेकाले कामदारको स्वास्थ्य जाँचमा योग्य नयाँ अस्पताल तथा स्वास्थ्य संस्थालाई सूचीकृत हुन सरकारले सूचना जारी गरिसकेको छ ।

यसअघि मलेसियाले ३९ वटा स्वास्थ्य संस्थालाई मात्रै कामदारको स्वासथ्य परीक्षण गर्न सक्ने गरी तोकेको थियो । अब भने मापदण्ड पुरा गर्ने सरकारी स्वास्थ्य संस्थासहित सबैले यसमा दावेदारी राख्न पाउनेछन् । यसबाट स्वासथ्य परीक्षणमा विगतमा रहेको सिन्डिकेट पनि सकिने दावी श्रम मन्त्रालयको छ ।

मलेसियासँगको श्रम समझदारीको मर्ममै रहेर नयाँ कामदार पठाउन लागिएको सरकाकरो दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment