Comments Add Comment

एड्स संक्रमितलाई उपचारको दायरमा ल्याउनुपर्छः प्रधानमन्त्री ओली

Kp-oli१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभी परीक्षण सेवा जोखिममा परेका समुदायको पहुँचमा पुर्‍याई सबै सङ्क्रमितलाई उपचारको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

विश्व एड्स दिवसको अवसरमा एक सन्देश दिँदै प्रधानमन्त्री ओलीले औषधि उपचार सेवा एन्टिरेट्रोभाइरल (एआरभी)लाई विस्तार गर्दै सङ्क्रमण देखिएका सबै सङ्क्रमितको घरदैलोमा पुर्‍याउन हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए ।

एड्स दिवस मनाउन लागेको २८ वर्ष पुग्दा पनि नेपालले थुप्रै समस्याको सामना गर्नुपरेको बताउँदै ओली अबका दिनमा राष्ट्रिय एड्स परिषद् पनि थप सबल भई अब बन्ने रणनीति, नीति, योजना र कार्यक्रममा सहयोग पुर्‍याउनेछ भन्ने आशा लिएको उल्लेख गरेका छन् ।

त्यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रामजनम चौधरीले पनि आफ्नो सन्देशमा नेपालले हालै प्रकाशित गरेको राष्ट्रिय स्वास्थ्य नीति २०७१ ले पनि एचआइभीलाई प्रमुख चुनौतीका रुपमा राखेको उल्लेख गर्दै सो कार्यक्रमलाई थप प्रभावकारी बनाउनु पर्नेमा बताए ।

रणनीति (२०१६-२०२०)मा एन्टिरेट्रोभाइरल (एआरभी) औषधि उपचार सेवालाई अति आवश्यक आधारभूत स्वास्थ्य सेवाका रुपमा सूचीकृत गर्नुपर्नेमा जोड दिएको बताउँदै चौधरीले यसका लागि एचआइभीसम्बन्धी रणनीति तथा योजनाको कार्यान्वयनलाई पनि समीक्षा गरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

नेपालमा ३९ हजार दुई सय १४ मानिस एचआइभीको सङ्क्रमणमा रहेको अनुमान छ, जसमा २५ हजार चार सय ४९ पुरुष, १३ हजार आठ सय महिला रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क रहेको छ ।

नेपालमा ८५ प्रतिशत एचआइभी सङ्क्रमण असुरक्षित यौनसम्पर्कका माध्यमबाट हुनेगरेको केन्द्रका सूचना अधिकृत वीरबहादुर राउतले जानकारी दिए ।

नेपालले यस वर्ष एड्सविरुद्धको विश्व अभियानअन्तर्गत ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि एड्स महामारीको अन्त्य’ भन्ने नाराकासाथ आज एड्स दिवस मनाउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment