Comments Add Comment

ब्लु-बुकलाई पनि स्मार्ट कार्डमा रुपान्तरण गरिने

Smart license-Card१५ मंसिर, काठमाडौ । यातायात व्यवस्था विभागले सवारी धनी प्रमाणपत्र (ब्लु-बुक) लाई पनि स्मार्ट कार्डमा रुपान्तरण गर्ने भएको छ ।
सोमबारदेखि सवारी चालक अनुमतिपत्रमा स्मार्टकार्ड प्रणाली लागू गर्ने घोषणा गरेको विभागले ब्लु-बुकलाई पनि उच्च प्रविधियुक्त विद्युतीय कार्डमा रुपान्तरण गर्ने योजना बनाएको हो ।

आगामी आर्थिक वर्षदेखि ब्लु-बुकलाई स्मार्टकार्डमा रुपान्तरण गर्न सुरु गरिने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए ।

ब्लु-बुकलाई स्मार्ट कार्डमा रुपान्तरण गरेपछि सवारी धनीलाई बोकेर हिँड्न र प्रयोग गर्न सहज हुनेछ । त्यसपछि सवारी धनी र सवारीका विवरणहरु विद्युतीय रेकर्डमा रहनेछन् ।

स्मार्ट ब्लु-बुक कस्तो हुन्छ ?

स्मार्ट ब्लु-बुक पनि स्मार्ट लाइसेन्सजस्तै क्रेडिट कार्डकै साइजको हुनेछ । यो पनि पोलिकार्बोनेटबाट बन्ने भएकाले टिकाउ, बलियो र बोक्न सजिलो हुने विभागले जनाएको छ । त्यसपछि सामान्य पर्समा पनि ब्लु-बुक बोकेर हिँड्न सकिने छ ।

यसमा सम्बन्धित सवारी र त्यसका धनीसँग सम्बन्धित सबै विवरणहरु राखिने छ । कार्डमा जडान हुने धातुको चीपमा सवारी र सवारी धनीसँग सम्बन्धित विभिन्न डाटाहरु रहनेछन् ।

ती डाटालाई पनि लाइसेन्सको जस्तै गरी यातायात विभाग र प्रहरीले साझेदारी गरेर हेर्न सक्छन् । स्मार्ट ब्लु-बुक प्रयोगमा आएपछि ब्लु-बुक च्यातिने र विवरण मेटिने समस्याहरु हट्नेछन् ।

यसको चिपमा रहने डाटामा पनि स्मार्ट लाईसेन्समा जस्तै चालकको औंठाछाप र बायोमेटि्रक क्याप्चरसहित वास्तविक विवरणहरु पनि राखिनेछ ।

विद्युतीय प्रविधिको भएको हुनाले फर्जी र नक्कली ब्लु-बुकलाई यसले विस्थापित गर्नेछ ।

सबै सवारीका बुकलाई स्मार्ट बनाएपछि सम्पूर्ण यातायत व्यवस्थालाई ‘डिजिटलाइज्ड’ गर्न सहज हुने विभागका प्रवक्ता बसन्त अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment