Comments Add Comment

महेन्द्रको स्थायी उपहार- धोती

प्रशान्त झा

महेन्द्रले सत्ता हातमा लिएपछि पक्राउ छलेर भारत पुग्न सफल नेपाली काङ्ग्रेसका विद्रोही नेताहरुलाई भारतले सहयोग गर्‍यो । भारतले अराष्ट्रिय तत्वहरुलाई प्रयोग गरेर आफूलाई कमजोर बनाउँदै सत्ताबाट हटाउने प्रयत्न गरिरहेको हरदम अनुभूत गरिरहन्थे महेन्द्र भनेर उनका वरपर रहने मानिसहरु सम्झन्छन् । पञ्चायत शासनभरि नेपाली काङ्ग्रेसका नेता र समर्थकलाई राज्यले अराष्ट्रिय तत्व (अत) भन्यो ।

Prasanta-Jhaत्यस समय चीन र भारतबीच लडाइँ सुरू भयो । महेन्द्र भाग्यमानी भए । जसै आफ्ना उत्तरी र दक्षिणी छिमेकीहरु एकापसमा लड्न थाले, उनले भारतीय संस्थापनलाई तर्साउन ‘चिनिया कार्ड’ प्रयोग गर्न थाले । अर्थात, चीनसँग राजनीतिक र आर्थिक सम्बन्ध प्रगाढ बनाउने र विकासकापूर्वाधार ल्याएर देश विकास गर्ने सम्भावना देखाएर भारतलाई त्रसित तुल्याए । महेन्द्रको यो कूटनीतिले भारतलाई सशङ्कित बनायो । यसो हुँदा नेहरुले भन्ने गरेजस्तो उत्तरी हिमालयहरु भारतीय सुरक्षा किल्ला हुने छैनन् ।

भारतीय प्रभाव क्षेत्रभित्रको नेपाल बफर स्टेट बनिनरहने अवस्था सृजना हुने भयो । नेपालको दरबारसँग सुमधुर सम्बन्ध स्थापित गर्न जरूरी छ भन्ने दिल्लीलाई महसुस भयो ।

राजा महेन्द्र पूरै चीनतिर नलहसिए पनि उनलाई चिढ्याउनु भारतका लागि ठूलो खतरा हुन्थ्यो । त्यही खतरा न्यूनीकरण गर्न भारतले निर्वासनमा रहेका नेपाली प्रजातन्त्रवादी अभियन्तालाई सहयोग गर्न छोड्यो । काङ्ग्रेसको एक तप्का जो भारतलाई आधार बनाएर नेपाली राज्यविरूद्ध हतियारबद्ध विद्रोह गर्न चाहन्थ्यो, उनीहरुको योजना तुहियो ।

ganatantraka-sangarshमहेन्द्रले आफ्नो सत्ता बलियो बनाउने काफी समय र स्थान पाए ।तर सत्ता बलियो बनाउने उनको अभियानमा ठूलो तगारो थियो तराई । त्यसका दुई कारण थिए । तराई नेपाली काङ्ग्रेसको बलियो पकड भएको क्षेत्र थियो र पहिले पनि लोकतान्त्रिक सङ्घर्षको रणमैदान बनेको ठाउँ तराई नै थियो । प्रजातान्त्रिक अभियन्ता र कार्यकर्ताले आफ्नै तजबिजले वा भारतको इसारामा शासन सत्तालाई अस्थिर बनाउन सक्छन् भन्नेमा ‘शाही राष्ट्रवादी’हरु भयग्रस्त थिए । कूलगत्तै सञ्चालन गरिएको छोटो सशस्त्र विद्रोह तराईमै भएकाले पनि तराईलाई नियन्त्रण गर्नुपर्छ भन्नेमा शासकहरु विश्वस्त थिए ।

कुलीन शासकहरुको मधेसीहरुमाथि कुनै विश्वास नभएकाले पनि तराईमा निगरानी बढाइयो । पहाडेहरुभन्दा अलग आफ्नो सांस्कृतिक पहिचान र भाषा कायम राखेका मधेसीहरु कुलीनहरुका लागि भारतीय मूलका मानिस थिए जो भारतबाट बसाइसराइ गरेर नेपाल पसेका थिए ।उनीहरुको राष्ट्रप्रतिको बफादारीमाथि शङ्का गरिन्थ्यो । मधेस भारतको स्वाभाविक प्रभाव क्षेत्र भएकाले नेपाली सत्तालाई कमजोर बनाउन र ‘मुलुक नै टुक्र्याउन’ पनि यो क्षेत्रलाई भारतले प्रयोग गर्न सक्ने दरबारको शङ्का थियो ।

महेन्द्र भाग्यमानी त थिए नै, उनी धूर्त पनि थिए । सम्भवतः नेपालको आधुनिक इतिहासका सबभन्दा धूर्त राजनीतिक खेलाडी थिए महेन्द्र । उनले राजतन्त्र नै राष्ट्रिय एकताको प्रतीक भएको कथानक तयार पारे । शाहवंशको गौरवशाली इतिहास, साझा भाषा नेपाली, साझा धर्म हिन्दु, र साझा भेषदौरासुरूवालले नै देशलाई एकताको सूत्रमा बाँधेर राख्ने उनको राष्ट्रियतासम्बन्धी कथानकको मजबुन थियो । ‘असली नेपाली’को यो परिभाषामा बाहुन र क्षेत्री समुदायका मानिस मात्र अटाउन सक्थे । त्यसैले उनीहरुले मात्रै असली नेपाली हुने सौभाग्य प्राप्त गरिरहे ।

राष्ट्रिय एकतामा खलल पुर्‍याउन सक्नेमा उनले भारतलाई नै बढी शङ्काको घेरामा राखेका थिए भने भारतीय मूलका मानिसले नेपाललाई खर्लप्पै निल्न सक्ने भनेर पनि असुरक्षित महसुस गरेका थिए । उनको यो डर नै राष्ट्रियताको कथानकमा पनि देख्न सकिन्छ । नेपालमा नागरिकताको प्रमाणपत्र लिन भारतीयभन्दा फरक देखिनुपर्ने सर्त राख्ने उनको निर्णयमा पनि त्यही डर देख्न सकिन्छ ।अरु सबै रङ्गका राष्ट्रवाद जस्तै महेन्द्रीय राष्ट्रवाद आधारभूत रुपमा असमावेशी थियो । राज्य औपचारिक र विधानतः हिन्दु भएकाले मुस्लिम दोस्रो दर्जाका नागरिक थिए । हिन्दु धर्म र त्यसले सिर्जना गर्ने विभेदलाई राज्यले नै औपचारिक मान्यता दिएपछि त्यही धर्मले सिर्जना गरेका विभेदका कारण दलनमा परेका दलितको उत्थान हुन सक्ने कुनै सम्भावना थिएन ।

थारु, मगर, तामाङ, गुरूङ, नेवार, लिम्बु, राई, र अन्य सबै आदिवासी जनजाति राज्यको मूलधारमा थिएनन् किनभने उनीहरु न हिन्दु थिए, न नेपाली भाषा नै बोल्थे । सबैले आफ्नै सांस्कृतिक अभ्यास र संस्कारलाई कायम नै राखेका थिए । मधेसी पनि असली नेपाली थिएनन् किनभने उनीहरु नेपाली भाषा बोल्दैनथे, धोती लगाउन छाडेका थिएनन्, राजतन्त्रलाई समर्थन गर्लान् भनेर विश्वास गर्न सकिने आधार थिएन, सीमापारिका मान्छेसँग सम्बन्ध भएकाले र सांस्कृतिकसमानता भएकाले उनीहरुमा ‘भारतीय गुण’ बढी थियो ।

नयाँ राजमार्गका छेउछाउमा गरिब पहाडे परिवारको बसोबास गराइयो जहाँ साना सहर र सामान्य आर्थिक गतिविधि सुरू भए । सिरहाको लहान, धनुषाको ढल्केबर, महोत्तरीको बर्दिबास, सर्लाहीको नवलपुर, रौतहटको चन्द्रनिगाहपुर जस्ता ठाउँमाउल्लेख्य मात्रामा पहाडेहरु बसोबास गर्न थाले

मधेसीहरुको बहिष्करण सिद्धान्तमा मात्र होइन, व्यवहारमा छर्लङ्ग देखिन्थ्यो । शाही सत्तालाई नै दिगो बनाउने हेतु लागू गरिएको शिक्षा प्रणालीमा राष्ट्रियताको यही परिभाषा लादिएको थियो । शिक्षणको एक मात्र भाषा नेपाली थियो । शाह राजाहरुले नेपाल देशको निर्माण गरेको कथा विद्यालयका पाठ्यसामग्रीमा लेखिएका थिए । पृथ्वीनारायण शाहले गरेको एकीकरणलाई धेरै आदिवासीले सैनिक कारबाही गरेर हडपेका हुन् भन्ने गरेको तथ्यलाई लुकाइयो । साथै, सन् १८१६ को एङ्लो-नेपाल युद्धताका स्वेच्छाचारी ढङ्गलेसीमाङ्कन गर्दा तराई नेपालको भूभाग बनेको तथ्यलाई पनि कहीँ उल्लेख गरिएन ।

छिमेकी भारतलाई उपनिवेश बनाउँदै गर्दा नेपाललाई स्वाधीन र स्वतन्त्र राखेकोमा शासकहरुको प्रशंसा गरियो । विद्यार्थीहरुलाई सन् १८१६ को युद्धमा नेपाललाई कसरी बेइज्जत गरियो भनेर बताइएन । राणा शासकहरु कसरी ब्रिटिसका सेवक बनेका थिए भन्ने तथ्य उजागर गरिएन । जनजाति समुदायबाट लगिएका ‘गोर्खाली लाहुरे’लाई कसरी उपनिवेशवादी सेनाका लागि कुनै सम्मान नभएको भाडाका सैनिक बनाइयो भन्ने पनि कतै लेखिएन । आफ्ना ब्रिटिस स्वामीको रक्षा गर्न नेपाली शासकले १८५७ को सिपाही विद्रोह दबाउन कस्तो भूमिका खेले भन्ने पनि कुनै पाठ्यसामग्रीमा लेखिएन ।

नेपाली भूभागमा परेका सगरमाथा हिमाल र लुम्बिनीको डम्फु मात्र पिटियो विद्यार्थीका अघिल्तिर । यस्तोखाले घमण्डसँगसँगै नेपाल भूपरिवेष्ठित मुलुक भएकाले बाहिरिया शक्तिहरु ठूलो चुनौती हुने डर पनि विद्यार्थीमा हालियो । तर, त्यस्ता खतराबाट ‘नेपालको एकता’लाई राजाहरुले जोगाउँदै आएको बखान रट्न लगाइयो । विद्यालयका पाठ्यक्रममा नेपाल भन्ने मुलुकको राजनीतिक र ऐतिहासिक अवधारणा निर्माण गर्दैगर्दा तराईलाई ‘खानाको भाँडो’ भन्नुबाहेक अरु केही लेखिएन । एउटा मधेसी विद्यार्थीले कक्षा कोठामा उसलाई पढाइने कुनै पनि विषयमा आफूलाई पाउँदैनथ्यो । न शिक्षणका लागि प्रयोग हुने भाषा उसको थियो, न बढाइचढाइ बखान गरिने ऐतिहासिक व्यक्तित्व नै उसको समुदायका थिए, न पहाडे सांस्कृतिक अभ्यास नै उसका थिए । तर, यो सिङ्गोप्रक्रिया उसलाई उसैको आफ्नोपनबाट अलग गराएर, उसैको जरा काटेर, शिक्षामार्फत ‘बढ्ता नेपाली’ वा ‘असली नेपाली’ बनाउने (दुश्) प्रयत्न थियो ।

त्यसपछि विभेदपूर्ण नागरिकतासम्बन्धी विधेयक ल्याइयो । नेपाली बाबुआमाबाट जन्मेको सन्तान प्रमाणित गर्न त्यस्ता आवश्यकता उल्लेख गरियो जो तराईवासीले जुटाउन लगभग असम्भव हुन्छ । नेपाली भाषा बोल्न जान्नुपर्ने सीमा तोकियो ताकि तराईमा बसोबास गर्ने गैर नेपालीभाषीले सहजै नागरिकताको प्रमाणपत्र लिन नसकून् ।

नागरिकताको प्रमाण नहुनु भनेको जग्गाजमिन खरिद गर्न नपाउनु हो । राज्यले दिने सुविधा उपभोग गर्न नपाउनु हो, र राजनीतिमा संलग्न हुन नपाउनु हो । यसरी नागरिकता लिन सबै तराईवासीलाई हम्मे बनाएपछि उनीहरु यी सबै कुराबाट वञ्चित हुने भए । अर्थात अनागरिक हुने भए । जीवनयापन गर्नका लागि उनीहरुसँग अरु कुनै उपाय थिएन । त्यसैले जे भन्यो, त्यो मान्नुपर्ने उनीहरुको बाध्यता थियो । तर, सँगसँगै भारतका दार्जिलिङ, सिक्किम, साथै भुटानबाट आउने नेपालीभाषीलाई भने सहजै नागरिकता दिएर नेपालका पहाड र तराईमा बसोबास गर्न लगाइयो ।

सन् १९५० देखि खासगरी जङ्गल फाँडिएपछि र औलो उन्मूलन भएपछि मानिस पहाडबाट तराई झर्ने क्रम सुरू भयो । पहाड विकट भएकाले र तराईमा जीवन सहज हुन्छ भन्ने बुझिएकाले यो बसाइसराइ एक हिसाबले स्वाभाविक नै थियो । तर, यसलाई महेन्द्रले योजनाबद्ध ढङ्गले द्रूत बनाए । उनले राज्यको तहबाट नीति नै बनाएर पहाडबाट मधेस बसाइसराइ गर्ने प्रक्रियालाईबढावा दिए । मधेसमा पहाडे जनसङ्ख्या बढी भयो भने स्थानीय राजनीति र अर्थव्यवस्था पहाडेको हातमा हुन्छ भन्ने विश्वासका साथ सो प्रक्रिया अघि बढाइएको थियो । उन्नाइसौं र बीसौं शताब्दीमा राणाहरुले आफ्ना भाइ भारदार र कर्मचारीलाई तराईका हजारौं बिगाहा जमिन बाँडेका थिए । जग्गा पाउने भाग्यमानी सबै पहाडे नै थिए । गलत भूमिसुधार ऐन र त्यसलाई तौलीतौली लागू गरेर महेन्द्रले पनि भर्खरै पहाडबाट बसाइ सरेका पहाडेलाई जग्गा बाँडे र विद्रोह गर्न सक्ने सम्भावना भएका मधेसी जमिनदारलाई पनि जग्गा थपिदिए ।

भारत र मधेसीप्रतिको उनको अविश्वास पूर्वपश्चिम राजमार्ग बनाउने उनको योजनाबाट पनि छर्लङ्ग हुन्छ । नेपाल-भारतको सीमाबाट लगभग एक माइल दुरीमा तराईका साना सहर जोड्ने एउटा पुरानो हुलाकी मार्ग थियो । त्यही हुलाकी मार्गलाई ठूलो बनाउनुसाटो नेपाल-भारत सीमाभन्दा धेरैमाइल पर राजमार्ग बनाउने योजना गरियो । यसो गर्दा ठूलो क्षेत्रफलमा हुने जङ्गल फँडानी र त्यसको असरलाई पनि बेवास्ता गरियो । सीमाछेउका मधेसी जनसङ्ख्या बढी भएको क्षेत्रबाट राजमार्ग बनाउँदा भारतलाई नेपालमाथि हैकम जमाउन सजिलो हुन्छ भन्ने नै अघोषित डर थियो ।

यो नयाँ राजमार्गका छेउछाउमा गरिब पहाडे परिवारको बसोबास गराइयो जहाँ साना सहर र सामान्य आर्थिक गतिविधि सुरू भए । सिरहाको लहान, धनुषाको ढल्केबर, महोत्तरीको बर्दिबास, सर्लाहीको नवलपुर, रौतहटको चन्द्रनिगाहपुर जस्ता ठाउँमाउल्लेख्य मात्रामा पहाडेहरु बसोबास गर्न थाले । त्यसैले यी ठाउँका महत्व पनि बढे र सँगै वैकल्पिक राजनीतिक केन्द्र पनि बन्दै गए ।

सिङ्गो देशलाई अञ्चलहरुमा विभाजित गरियो । तराई, पहाड, र हिमालका केही भाग मिसाएर ठाडो आकारका अञ्चल बनाइयो । जस्तो सगरमाथा अञ्चलअन्तर्गत सुदूर उत्तरमा एभरेस्ट बेस क्याम्पदेखि भारत बिहारको बोर्डरमा पर्ने तराईको राजविराज पनि पर्छ ।

यसरी अञ्चल निर्माण गर्नुको कुनै प्रशासनिक अर्थ देखिँदैन । यो मोडललाई समर्थन गर्नेहरुका दुई तर्क थिए । खोलानाला जस्ता स्रोतहरुको प्रचुर उपयोग हुने र सबै क्षेत्रका जनता एउटै अञ्चलमा बसोबास गर्दा राष्ट्रिय एकता कायम राख्न सकिने । त्यसैबेलादेखि मधेसी अभियन्ताले मधेसी बढी भएको क्षेत्रमा आफ्नै क्षेत्रीय पहिचान निर्माण हुन नदिने षड्यन्त्रका रुपमा यो मोडलको विरोध गरेका हुन् । जे होस्, निर्विवाद सत्य के भने सबै अञ्चल र तराईका जिल्ला पनि पहाडे कर्मचारीले नै चलाएका थिए । यी कर्मचारीले मधेसीलाई सधैं बाहिरिया ठाने ।

महेन्द्रले मधेसीसहित सबै समुदायका कुलीनलाई पञ्चायती व्यवस्थामा केही स्थान दिएका थिए । राजतन्त्रको वैधता र प्रभुत्वलाई स्विकार्ने र असली नेपाली हुन तयार झा, मिश्रा, वा चौधरी जो भए पनि स्थानीय शक्ति संरचनामा उसको ठाउँ सुरक्षित हुन्थ्यो । साथै, उसको बोलीलाई कानुन मानिन्थ्यो र उसको जमिनदारी पनि कायम रहन्थ्यो । उसलाई राष्ट्रिय पञ्चायतको सदस्यता दिइन्थ्यो वा सरकारी कर्मचारी बनाइन्थ्यो र राज्य नियन्त्रित अर्थ व्यवस्थाबाट लाभ उठाउन सक्ने स्थान दिइन्थ्यो ।

मधेसीसँग कस्तो सम्बन्ध राख्नुपर्छ भन्ने व्यापक खाका त स्पष्ट नै थियो । नागरिकताबाट वञ्चित गर र त्यससँगै जोडिएर आउने अधिकार नदेऊ । सङ्गठित प्रोपागान्डामार्फत गैरमधेसीको मस्तिष्कमा उनीहरुको राष्ट्रियताप्रतिको बफादारीमाथि शङ्का भर । उनीहरुले आफ्नो ठान्ने भूमिमा पराई भनेर उनीहरुको आत्मसम्मानलाई ध्वस्त पार । उनीहरुको राजनीतिक अधिकार सीमित होस् भन्ने निर्दिष्ट गर । उनीहरु बाहुल्य क्षेत्रमा पहाडे मूलका कर्मचारीको हातमा सबै अधिकार देऊ । उनीहरुलाई प्रतिनिधित्व नदिई उनीहरुकै स्रोतको दोहन गर । स्थानीय उच्च जातका मधेसी कुलीनलाई आफ्नो मुट्ठीमा राख वा खरिद गर वा दबाब दिएर शान्ति सुव्यवस्था कायम गर्दै सामन्ती संरक्षकको भरमा चल्ने अर्थव्यवस्था जारी राख । र, ‘राष्ट्रिय अखण्डता’माथि आक्रमण गर्न तम्तयार ‘विदेशी हात’को रणनीति औंल्याऊ ।

यति गर्दा एउटा मधेसीको चित्र तयार हुन्छ । त्यस्तो गरिब मधेसी गाउँलेको चित्र तयार हुन्छ जो टाढाको जिल्ला सदरमुकाममा रहेको सरकारी कार्यालयमा हात जोर्दै पुगेको हुन्छ । र, उसमाथि शासन गर्न पठाइएको उसको भाषा नबुझ्ने पहाडे अधिकृतसँग गमीगमी नेपाली भाषामा वाक्य कथेर नेपाली हुनुको प्रमाण अर्थात नागरिकता पाउन बिलौना गर्दै हुन्छ । केका लागि नेपाली नागरिकता ? त्यस्तो ‘नेपाली’ बन्नका लागि जसलाई हरेक दिन, ‘ओई साले धोती, तँ जहाँबाट आएको त्यहीँ जा’ भन्ने गरिन्छ । नेपालका लागि राजा महेन्द्रले दिएको स्थायी उपहार यही हो ।

(प्रशान्त झाद्वारा लिखित ब्याटल्स अफ द न्यू रिपब्लिक पुस्तकलाई उज्ज्वल प्रसाईले नेपालीमा अनुवाद गरेका छन् । सो अनुदित कृति फाईन पि्रन्टले बजारमा ल्याएको छ । सो कृतिको विमोचन आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुुँदैछ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment