Comments Add Comment

ठाकुरज्यू, तराई कसैको पेवा होइन

चिरञ्जीवी पौडेल
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आइतबार एक कार्यक्रममा खुलेरै अलग मधेस राष्ट्रको वकालत गरे । आवेश-उत्तेजनामा आएर वा जिब्रो लट्पटिएर होइन, पुरै होस हवासमा र निर्धक्क मुद्रामा उनी बोलिरहेका थिए । मधेसका भलाद्मी कहलाएका नेताको यो बोली आपत्तिजनक र भर्तसनायोग्य छ ।

Mahanta Thakur

ठाकुरले मधेसलाई अलग राष्ट्रका रुपमा परिभाषित गर्दै नेपाललाई बहुराष्ट्रिय राज्य घोषणा गर्नुपर्ने माग राखिरहँदा मञ्चमा कांग्रेसका प्रदिप गिरी उनीसँगै कुम जोडेर बसिरहेका थिए । बौद्धिक नेता भनेर चिनिने गिरीले ठाकुरको भनाइलाई कुनै प्रतिवाद गर्नु आवश्यक ठानेनन् । बरु, नेपाली राष्ट्रवादको चरित्रमाथि प्रश्न उठाउादै आगोमा घ्यू थप्ने काम गरे । दर्शक दीर्घामा खगेन्द्र संग्रौलादेखि विजयकुमारसम्म थिए । उनीहरु कसैले पनि ‘ठाकुर डक्ट्रिन’ माथि औंला उठाउने साहस गरेनन् ।

अहिलेसम्म घोषितरुपमा मधेस टुक्र्याउनुपर्ने माग उठाउने सीके राउतमात्रै देखिएका छन् । तर, मोर्चा अध्यक्ष ठाकुरको अभिव्यक्तिपछि राउत र ठाकुरबीच भेद छुट्याउन गाह्रोपर्ने अवस्था सिर्जना भएको छ । आन्दोलनरत मधेसी मोर्चाले आफूहरु मधेसलाई नेपालबाट टुक्र्याउने अभियानमा नरहेको बताउने गरे पनि मोर्चाकै प्रमुख नेताको मुखबाट मधेस अलग राष्ट्रको वकालत हुनुले आन्दोलनको नियतमाथि नै सन्देह उत्पन्न गरेको छ । यसको जवाफ मधेसी मोर्चाले दिनुपर्छ ।

ठाकुरले मधेस अलग राष्ट्रका रुपमा स्थापित हुने ‘क्राइटएरिया’ पुगेको भन्दै झूटा दलीलहरु पेश गरे । उनले तराईमा मधेसीहरुको अलग जनसंख्या, अलग संस्कृति र अलग भूगोल रहेको बताउँदै तराईलाई मधेसीहरुको पेवाका रुपमा व्याख्या गर्न खोजे । जबकि यथार्थको संसार अलग छ । न मधेसीहरु तराईका आदिवासी नै हुन्, न त्यहाँको भूगोलमा मधेसीको एकछत्र प्रभुत्व छ । भारतबाट आप्रवासीका रुपमा आएर नेपाली नागरिकता लिँदै उपस्थिति बढाउँदै लगेका आधारमा मधेसलाई अलग राष्ट्रको कामना गर्नु ठाकुरको दिवास्वप्न हो ।

इतिहासमा कहिल्यै पनि तराई र पहाड अलग राज्यका रुपमा रहेनन् । पृथ्वीनारायण शाहले एकीकरण गर्नुपूर्व स-साना टुक्राहरुमा रहँदा समेत तराई र पहाड अभिन्न रुपमा जोडिएका थिए । अहिले तराईको भूगोलमा जनसंख्या, भाषा, संस्कृति सबै छ्यासमिस छन् । तराईमा महन्थ ठाकुरको जति हक लाग्छ त्यति नै हक लाग्छ, बद्री न्यौपानेको ।

चिरञ्जीवी पौडेल
चिरञ्जीवी पौडेल

ठाकुरले मधेसलाई अलग राष्ट्रका रुपमा परिभाषित गर्ने क्रममा नेपाललाई बहुराष्ट्र घोषणा गर्नुपर्ने माग अघि सारे । त्यति चर्चामा नल्याए पनि नेपाललाई बहुराष्ट्रिय राज्य घोषणा गर्नुपर्ने माग मोर्चाको आधिकारिक हो । उसले सरकारको वार्ता टोलीसमक्ष राखेको ११ सूत्रीय मागपत्रको ११ औं नम्बरमा छ, यो माग । सत्तारुढ दल नेकपा एमालेको केहि समयअघि चितवनमा सम्पन्न भेलाले उक्त मागलाई मोर्चाको सबैभन्दा खतरनाक मागका रुपमा विश्लेषणसमेत गरेको थियो । यही बहुराष्ट्रवादको अवधारणामा टेकेर ठाकुरले मधेसलाई अलग राष्ट्र हुनुपर्ने बताएका हुन् ।

कुनै पनि देशलाई एकभन्दा बढी राष्ट्रहरुको संयोजनका रुपमा परिभाषित गर्ने अवधारणा हो बहुराष्ट्रवाद । १९४७ मा बहुराष्ट्रवादको सूत्र प्रयोग गरेर पाकिस्तानलाई भारतबाट अलग्याएका थिए, जिन्ना अलि मोहम्मदले । धर्मका आधारमा उनले भारतलाई बहुराष्ट्रिय राज्यको रुपमा परिभाषित गर्दै हिन्दू र मुस्लिमको अलग राष्ट्र हुनुपर्ने वकालत गरे र पाकिस्तानलाई अलग गरेर छाडे । त्यही पाकिस्तान पछि आफैं बहुराष्ट्रवादको शिकार बन्यो ।

जिन्नाकै बहुराष्ट्रवादको सूत्र लागू गरेर पाकिस्तानबाट बंगलादेशलाई अलग गरियो । यसपटक भाषालाई बहुराष्ट्रवादको आधार बनाइयो । बंगालभाषीको बाहुल्य रहेको भूभाग बंगलादेश बन्यो भने उर्दु भाषा बोल्नेहरु पाकिस्तानमा रहे । भारतले बहुराष्ट्रवादको सूत्र श्रीलंकामा पनि लागू गर्न खोज्यो । धर्मलाई बहुराष्ट्रवादको आधार बनाउँदै यसको प्रवर्द्धन गर्न भारतले लिट्टे जन्मायो । तमिललाई हिन्दु धर्म र सिंहालीले मान्ने बौद्ध धर्मका आधारमा विभाजित गर्ने प्रयास त्यहाा भारतले गरेको हो ।

अहिले आएर नेपालमा मधेस र पहाडलाई अलग राज्यका रुपमा परिभाषित गर्दै बहुराष्ट्रवाद थोपर्ने प्रयास सुरु भएको छ । यो नेपालबाट मधेसलाई टुक्र्याउने दीर्घकालिन रणनीतिको उपज भएको बताउँछन् एमाले नेता योगेश भट्टराई । उनको पार्टी एमालेको केही समयअघि चितवनमा सम्पन्न भेलाले मधेसी मोर्चाले उठाएको बहुराष्ट्रवादको माग सबैभन्दा खतरनाक रहेको विश्लेषण गरेको थियो ।

‘यो तत्कालै पूरा हुन्छ भने आशा गरेर उठाइएको माग होइन,’ भट्टराई भन्छन्, ‘मधेस विखण्डन गर्ने दीर्घकालीन सोचअन्तरगत सलाई कोरिएको मात्रै हो ।’ उनले विगतमा कहिल्यै पनि मधेस र पहाड अलग नरहेको भविश्यमा पनि अलग हुन नसक्ने बताए ।

यो पनि पढ्नुस्

नारायण वाग्लेले महन्थलाई सोधे-तमलोपा भारतले नै बनाएको हो ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment