Comments Add Comment

सागभात खान समस्या पर्ने ‘केपी दाइ’ को कथा !

गोपाल चिन्तन

लाग्थ्यो र अहिले त झनै लागिरहेको छ कि देश सँधै हावाका भरमा चलेको छ । आजभन्दा २२ वर्ष पहिले हामी केहीले २०१ मेगावाटको अरुण ३ आयोजना आफ्नै स्रोत र साधनले आफ्नै लागि निर्माण गरौँ र विदेशी सहयोग हाम्रो शर्त र स्वार्थमा चाहिएजत्तिमात्र ल्याऔँभन्दा हामीलाई सबैले हावामा उडाइदिए र अहिले पनि उडाइरहेका छन् । यिनको चेत कहिल्यै खुलेन । हुँदाहुँदा यिनै तत्वहरुले लोकतन्त्र र गणतन्त्रलाई समेत हावामा उडाइदिए । र, अहिले त सबै आफैँ हावामा उड्न थालेका छन् ।

Gopal-Chintanयथार्थताको धरातल छोडेर ओलम्कि धावक बैकुण्ठ मानन्धरलाई पनि मात गर्ने गरी अहिले त उडिरहेका छन् हाम्रै प्रधानमन्त्री के.पी. शर्मा ओली ।

ओली देशका सम्माननीय प्रधानमन्त्री हुन् । तर, यस लेखोटको प्रयोजनका लागि मेरो एउटा महान गाउँले दाइ, जो-

१. आठराईको इवा (मेरो गाउँ सीमा जोडिएको ह्वाकु) बाट गरिबी छल्न झापा आउनुभयो । झापा (हत्या) काण्डमा मुछिएर जेल पर्नुभयो । म त झापाली राजबन्दीहरुको रिहाइका लागि व्यक्तिगत रुपमै जीउज्यान छोडेर लागेँ ।

मेरा भाइबहिनी र साथीसङ्गीहरुले परिवारकै अभिन्न सदस्यसरह जेलजेलमा गएर खासगरी ओली, मैनाली र अधिकारी दाइहरूलाई माया गरे । दिनहुँ पत्रपत्रिका पुर्याउने (पत्रकार किशोर श्रेष्ठसमेत) देखि हरेक चाडबाडमा खानपान, फूलमाला र नाचगानसमेत गरे ।

जेलबाट छुटेपछि पुतलीसडकस्थित हाम्रो डेरा के.पी. दाइको आफ्नै घरसरह थियो । एउटै भान्सा र एउटै सानो खाटमा सुताइ त कति भयो कति । लुगाफाटोदेखि गोजी खर्चसम्म । नेपालदेखि अमेरिकासम्म । झन्डै नातासमेत जोडिएको । तर, एकदिन के.पी. दाइले मलाई भने –

“तपाइँ यो राजनीति साजनीतितिर नलाग्नुहोस् । मानवअधिकार नै ठीक छ । नत्र मेरैजस्तो हालत हुनेछ । दुःख पाइन्छ । साग चामल किन्ने पैसा पनि नभएर दुःख पाइनेछ ।”

पहिलोपटक मलाई झनन्न रीस उठ्यो । चरम घृणा जाग्यो । त्यसदिन सम्बन्ध सिद्धियो । खुशी लाग्छ,त्यसपछि उनलाई कहिल्यै साग चामलको दुःख भएन ।

प्रसङ्गवश, सी.पी.(मैनाली) दाइकी पत्नी निलम के.सी.लाई पाटन दरबार स्क्वायरको छिँडीमा औषधि गर्न भनेर १,००० रूपैयाँ र आरके दाइलाई बशन्तपुको डेरामा घर खर्च भनेर पत्रिका बेचेर १०/१५ सय रुपैयाँ दिने गरेको अहिलेजस्तो लाग्छ । तर, समय बलवान ! उस्तै परे अहिले त सबै अख्तियारका लागि योग्य साबित !

मलाई के लाग्थ्यो भने, यस देशमा अब एउटा बोल्दै नबोल्ने प्रधानमन्त्रीको खाँचो छ । गिरिजादेखि शेरबहादुर, प्रचण्ड, बाबुराम र सुशीलसम्म सबै धेरै बोलेर सिद्धिए

२. एमालेमा के.पी. दाइको उत्थान भयो । राष्ट्रघाती महाकाली सन्धि पारित गर्न ज्यान छोडेर लागे । नेपाललाई वर्षको १ खर्ब २१ अर्ब नाफा हुने भाषण ठोके । आखिर कुरा त हावै न थियो ! तर कुनैबेला वी.पी. को राजासँगजसस्तै के.पी.को भारतसँग घाँटी जोडियो । भारतको सहयोगमा प्रधानमन्त्री बन्न उनै धेरैपटक दिल्लीमा धर्ना बसेको कसलाई पो थाहा छैन र !

तर, फेरि समय बलवान । मेरा के.पी. दाइ अहिले इतिहासकै सबैभन्दा क्रान्तिकारी, देशभक्त र प्रगतिशील प्रधानमन्त्री बनेका छन् । आखिर, कुरा त हावै न हो । उनी यस देशका हामीजस्ता सबै क्रान्तिकारी, देशभक्त र प्रगतिशील सबैलाई एकसाथ लिएर हिँड्नुपर्नेमा हावामा एक्लै उडिरहेका छन् । केही अपवादबाहेक उनका आसेपासे र धुपौरेहरू रातारात क्रान्तिकारी मन्त्री र सल्लाहकार बनेका छन् । एकपटक परेको चिट्ठा । प्रभु ! कतै छौ भने यिनको सँधै भलो होस् !

३. सबै कुरा हावाबाटै, हावाकै भरमा र हावादारी रुपमै हुने भएपछि किन चाहियो पानी ? साम्राज्यवादी विश्व बैँकको पोल्टामा पुगेको अरुण ३ को खारेजीपछि खडा भएको वैकल्पिक ऊर्जा क्रान्तिको अवसरलाई पनि विश्वकै उत्कृष्ट अर्थमन्त्री रामशरण र समाजवादी भरतमोहनहरुले हावामै उडाए ।

पानीबाट बिजुली निस्केन । मुस्ताङको हावाबाट बिजुली निकाल्न बेलायतको गोर्खा कम्पनीको पछि लाग्नुभन्दा देशैभरि छरिएका खोलाहरुमा टर्बाइनको भाँडो थापेर खुरुखुरु बिजुली निकाल्न थाल्नु नि ! अनि अरुण ३,पश्चिम सेती, माथिल्लो कर्णाली र मस्र्याङ्गदीजस्ता विश्वकै सस्ता र राम्रा आयोजनाहरु आफ्ना लागि आफैँ निर्माण गर्न छोडेर (भारतीय कम्पनीसँग भएका विद्युत निर्यातमुखी सम्झौताहरु नाकाबन्दीको अवसरमा सबै आजै खारेज गरेर) हावाका भरमा एक वर्षभित्र त के १० वर्षभित्र पनि लोडसेडिङ्ग मुक्ति र ऊर्जामा आधारित आर्थिक क्रान्तिको सपना देख्नुभनेको हावामा बेलुन उडाएर चन्द्रमा पुगेको डिङ हाँक्नुमात्र हो ।

४. मलाई के लाग्थ्यो भने, यस देशमा अब एउटा बोल्दै नबोल्ने प्रधानमन्त्रीको खाँचो छ । गिरिजादेखि शेरबहादुर, प्रचण्ड, बाबुराम र सुशीलसम्म सबै धेरै बोलेर सिद्धिए ।

तर, अहिले त आइदिए झन् बढी बोल्ने- त्यही पनि अन्तिम घडीमा हतार-हतार संवैधानिक सहमतिको प्रक्रिया, सम्भावना र अवसरलाई मिचेर । त्यही हतारो र बलमिच्याइँको परिणाम हो संविधान जारी हुनेबित्तिकै शुरु भएको खासगरी मधेशी मोर्चाको विद्रोह र विभिन्न बहानामा त्यही विद्रोह र विखण्डनको पक्षमा भारतीय नाकाबन्दी ।

उता चिनियाँ र जापानीहरु हेर्दाखेरि कति लाटा लाग्छन् अनि हामी धेरै बाठा । तर, ती लाटाले गरेको विकास र हामी बाठाले गरेको विनाश पनि हेरौँ त ।

पश्चिमा मुलुकतिर पनि सत्तामा बस्नेहरूले बोलेका एक-एक शब्दको अर्थ कानुन बराबर हुन्छ । चुनावी घोषणापत्र र भाषणमा भनेका कुरा नपुर्याउनेले राजिनामा दिनुपर्छ । यता नेपालमा हामी बाहिरियाहरुको त के कुरा, स्वयम् एमालेभित्रका योग्य र इमान्दार भित्रियाहरुसमेत प्रधानमन्त्री भइसक्दा पनि ओलीको बोली नबदलिएको वा शैली नफेरिएको देखेर हैरान छन् ।

५. आखिर अहिले हावाभन्दा पहिले पानीबाटै बिजुली निकाल्न छिटो र सजिलो छ । दशौँ लाख हामी नेपाली युवाहरुलाई अरुण ३ देखि माथिल्लो कर्णालीसम्म आयोजना निर्माणको महान राष्ट्रिय अभियानमा खटाए हुन्छ । दासत्वरुपी बैदेशिक रोजगार बन्द गरे हुन्छ । घरघरमा थन्किएका गरगहना र रुपैयाँ बटुलेर लगानी जुटाए हुन्छ । गुगल सर्चबाट सिधै प्रतिस्पर्धात्मक मूल्यमा विश्वबाट आवश्यक विशेषज्ञ र टर्बाइन झिकाए हुन्छ ।

नेपालभित्रै ग्यास र पेट्रोल निकाले हुन्छ । बाटोघाटो सबै हामीले आफैँ बनाए हुन्छ, जस्तैः मेलम्ची जाने बाटोदेखि पानी ल्याउने सुरुङसम्म (यद्यपि मेलम्चीभन्दा सस्तो र छिटोमा खानेपानी त काठमाडौँ उपत्यकाभित्रै जति भने पनि छ) ।

कुनै बेला एकछाक भात र एक मूठो सागका लागि संघर्ष गरेर मजस्तालाई राजनीतिमा नलाग्न अर्ति दिने के.पी. दाइ आज अचानक यतिमाथि पुगेको उपलक्ष्यमा मभन्दा बढी खुशी हुने शायदः अरु कोही छैन

६. त्यसैले अहिले ओलीलाई आफ्नो बोली पूरा गर्ने गोली हान्न यथार्थमा म र हामीजस्ता मानिसहरू चाहिएको हो । तर, कुनै नेताको घोडा नभएसम्म चियापानको निम्तासमेत नपाइने यस देशमा अहिले हामीले हाम्रो कर्म र सिर्जनाको भाग खोज्नु वा योगदान गर्ने अवसरको माग गर्नु भनेको पनि आखिर सबै हावा हो,ठूलो हावा ।

प्रधानमन्त्रीले हावाबाट बिजुली निकालेर एक वर्षभित्र लोडसेडिङ्ग हटाइसक्छु भनी गरेको हावादारी गफभन्दा पनि हावा !

तर, पनि एमालेलाई धन्यवाद, जसले ओलीले कहिल्यै नदेखेको प्रधानमन्त्री हुने सपना पूरा गरिदियो । अनि त्यस विस्तारवादी भारतलाई पनि धेरै धन्यवाद, जसले मेरो एउटा गरिब, अनपढ र स्वार्थका लागि भारतपरस्त बन्न पुगेको गाउँलेलाई आज एकाएक राष्ट्रको क्रान्तिकारी र देशभक्त नायकको शिखरमा पुर्याइदियो ।

वास्तवमा मनभित्रैदेखि भन्ने हो भने कुनै बेला एकछाक भात र एक मूठो सागका लागि संघर्ष गरेर मजस्तालाई राजनीतिमा नलाग्न अर्ति दिने के.पी. दाइ आज अचानक यतिमाथि पुगेको उपलक्ष्यमा मभन्दा बढी खुशी हुने शायदः अरु कोही छैन । खाली मैले भन्ने अवसर र मौका नपाएरमात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment