Comments Add Comment

नेपाली विद्यार्थीले बनाए पेट्रोलविनै चल्ने मोटरसाइकल

Electric bike

पुष्प दुलाल

२२ माघ, काठमाडौं । तपाईको मोटरसाइकल अहिले पेट्रोलबाट चलिरहेको छ, तर त्यही मोटरसाइकललाई अब नेपाली विद्यार्थीहरुले बिजुलीबाट चल्ने मोटरसाइकलमा फेरि दिन सक्छन् ।

इन्धनको चरम संकट व्यहोरिरहेका नेपालीलाई पुल्चोक इञ्जिनियररिङ क्याम्पसका विद्यार्थीले शुक्रबार पेट्रोलविनै चल्ने मोटरसाइकल बनाएर देखाएका हुन् ।

इञ्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुको ६/७ जनाको टोलीले ४ दिन लगाएर इन्धनबाट चल्ने मोटरसाइकललाई बिजुलीबाट चल्ने मोटरसाइकलमा रुपान्तरण गरेका हुन् । निर्माणमा सहभागी विद्यार्थी क्षितिज भण्डारीले पेट्रोलमा चल्ने अहिले भइरहेका मोटरसाइकललाई ब्याट्री जडान गरेर चलाउन सकिने बताए । उनले भने- ‘पेट्रोलकै लागि भारतसँग झुक्नु त परेन नि ।’

Fire from solar

पुल्चोक इञ्जिनियरिङ क्याम्पसकै ३/४ वर्षअघिको ब्याचका विद्यार्थीहरुले पेट्रोल र बिजुली दुबैबाट सञ्चालन हुने मोटरसाइकल बनाउन सक्ने सोच बनाएको र त्यही अवधारणामा टेकेर आफूहरुले बिजुलीबाट मात्रै चल्नेगरी जडान गर्न सफल भएको भण्डारीले सुनाए ।

‘सिनियर दाइहरुले गरेजस्तै गर्ने सोच थियो तर त्यसका लागि हामीसँग पैसा पुगेन, अनि अहिलेको अवस्थामा पेट्रोल नचाहिने बाइक बनाउनु उपयुक्त हुन्छ भनेर यो बाइक बनाएका हौं,’ उनले भने- ‘भारतले इन्धन नदिँदा हामीले यति दुःख पाइरहेका छौं । पेट्रोल अनविकरणीय उर्जा हो, भोलि त्यो सकियो भने भएको बाइक के गर्ने ?’

आफूहरुले पेट्रोल इञ्जिनको मोटरसाइकललाई पनि बिजुलीबाट गुडाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको उनले बताए । अहिले बिजुलीबाट चार्ज गर्ने प्रविधि जडान गरिएको र यसबाटै आधारित रहेर सोलारबाट चार्ज गर्ने सिस्टम जडान गर्न पनि सक्ने उनले बताए । पेट्रोल बाइकभन्दा निर्माण गर्न र चलाउन दुबै सस्तो पर्ने उनले बताए ।

यो मोटरसाइकल दुईजनाको डबल लोड बोकेर उकालो पनि गुड्न सक्ने क्षमताको भएको भण्डारीले दाबी गरे । ब्याट्री फिट गरिएको मोटरसाइकलमा ३ वटा गियर हुन्छन्, जसले करेन्टको मात्रालाई नियन्त्रणमा राख्छ । बढी गतिमा जानुपर्‍यो भने बढी करेन्ट दिने गियरमा जानुपर्ने भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार यो मोटरसाइकलले आवाज निकाल्दैन र धुवाँ फाल्दैन । ब्याट्री फिट गर्दा पेट्रोलको ट्यांकीलाई पनि कुनै दख्खल पर्दैन, त्यसलाई पछि टेल हालेर समेत चलाउन सकिन्छ । ‘यो त हाम्रो सोचमात्र हो, यसको व्यवसायिक उत्पादन गर्दा बजारमूल्य, प्रतिस्पर्धालगायतमा पनि ध्यान दिनुपर्ने हुन्छ,’ उनले भने ।

मैनवत्ती बाल्नोस् बिजुली बल्छ !

पुल्चोक इञ्जिनियरिङ क्याम्पसको प्राङगणमा शुक्रबारदेखि सुरु भएको छैठौं ‘मेकानिकल इञ्जिनियरिङ प्रर्दशनी’ मा विभिन्न नयाँ आविस्कारहरु राखिएका छन् ।

प्रदर्शनीमा मेसिनबाट मकै छोडाउने, ट्यांकीमा पानी भर्ने, फूलको गमलामा पानी हाल्ने, मैनबत्ती बालेर त्यसको शक्तिमार्फत विजुली निकाल्ने, सोलारको छाता राखेर खाना पकाउने लगायतका आकर्षक मेसिन राखिएको छ ।

सोसाइटी अफ मेकानिकल इञ्जिनियरिङ स्टुडेन्टस् (सोमेस)ले उर्जामा आत्मनिर्भरता आजको आवश्यकता भन्ने मूल नारासहित प्रर्दशनी आयोजना गरेको हो । प्रर्दशनीमा ७० वटा स्टलहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment