Comments Add Comment

बसपार्कभरि आवादी, सडकभरि गाडी पार्किङ !

२६ चैत, पोखरा । पोखरेलीले देखेको एउटा पुरानो सपना हो, ‘एउटा सुन्दर र व्यवस्थित बसपार्क होस् । त्यही बसपार्कबाट गन्तव्यसम्मको यात्रा गरौंला ।’ सुन्दर र व्यवस्थित बसपार्कको त्यो सपना उनीहरुले २०३२ सालतिरै बुनेका थिए । अहिले त्यो सपना बासी भइसकेको छ, त्यही बासी सपनाले पोखरेलीलाई झस्काइरहन्छ । पाहुनालाई स्वागत गर्ने पोखराको आँगन नै कुरुप हुँदा मन कुँडिएर आउँछ ।

‘अपुरो’ पोखरा बसपार्कको इतिहास

२०३२ सालमा पोखरा नगर उपत्यका विकास समितिले सुन्दर र व्यवस्थित बसपार्क बनाउन २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । बसपार्कको बीचमा पृथ्वीराजमार्ग पर्ने भएकाले त्यसलाई छोडेर १ सय ८७ रोपनी जग्गा बसपार्कका नाममा छुट्याइएको थियो ।

२०३३ सालमा उक्त जग्गा ४ किल्लामा छुट्टिएरै राजपत्रमा समेत प्रकाशित भइसकको थियो । राजपत्रमै योजना परिसकेपछि ‘बसपार्क बन्छ’ भनेर पोखरेलीले विश्वास गरे । तर कारणवश बसपार्क बन्न सकेन । त्यसपश्चात विभिन्न कालखण्डमा विभिन्न पक्षले बसपार्कको सपना देखाइरहे, पोखरेलीले पत्याइरहे, झुक्किरहे ।

सुरुमा जग्गा अधिग्रहण गर्दा समितिसँग भएको सहमतिअनुसार मुआब्जा नपाएको भन्दै अदालतमा मुद्दा पनि हालेका थिए । २०५२ सालमा सर्वाेच्च अदालतले जग्गाधनीलाई क्षतिपूर्ति दिनुपर्ने फैसला पनि गर्‍यो । तर, बसपार्क नबन्दा अधिग्रहण गरिएको जग्गा त्यत्तिकै रह्यो । पोखरा विमानस्थल बनाउँदा वरिपरि व्यापार गरेर बस्नेहरुलाई १५ वर्षका लागि निःशुल्क व्यापार गर्न सहमति गरेर बसपार्क क्षेत्रमा ल्याइएको नगर उपत्यका समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछाने बताउँछन् ।

विस्तारै सुकुम्बासी प्रवेश गर्न थाले । जग्गाको मुआब्जा बुझिसकेकाहरु पनि फेरि फर्किएर त्यहीँ घर ठडाउन थाले । विमानस्थलबाट सारिएका व्यापारीले समेत अवैध रुपमा संरचना बनाउन थाले ।

समितिले नै पनि अधिग्रहण गरिएको जग्गालाई घडेरीको रुपमा बिक्री वितरण गरेको दाबी गरिन्छ । जग्गा घडेरीका रुपमा बेचबिखनको काम २०६१ सालदेखि सुरु भएको थियो । त्यसबेला विष्णु प्रसाद बास्तोला समितिको नेतृत्व गरिरहेका थिए । स्रोत भन्छ, ‘त्यसपछि लगातार समितिका तत्कालिन अध्यक्ष अशोक पालिखे, क्षेत्रबहादुर केसीको पालासम्म व्यक्ति तथा संस्थालाई जग्गा बाँड्ने काम भयो ।’

बसपार्क बनाउन अधिग्रहण गरिएको जग्गा आवास क्षेत्रमा प्रयोग भएपछि आकार खुम्चिँदै गएको लामिछाने सुनाउँछन् । ‘सुरुमा बसपार्कका रुपमा जग्गा ल्याइएको थियो तर, विचौलिया प्रवेशपछि खुम्चँदैमात्रै गएन, आवास क्षेत्रजस्तो भयो,’ उनी भन्छन् ।

प्रत्येक पटकको चुनावमा राजनीतिक दलले त्यही कुरा उठाउँछन् । चुनाव जित्छन् तर, समस्या भने ज्यूँका त्यूूँ छ । उनीहरुले बसपार्कको सुकुम्बासी वस्ती व्यवस्थित गर्ने सपना बाँडेर ‘भोट बैंक’ बनाइरहेको सरोकारवालाको टिप्पणी छ ।

व्यवस्थित र सुन्दर बसपार्क बनाउने भन्दै अधिग्रहण गरिएको जग्गामा अहिले ४ सय ८० वटा ‘सुकुम्बासी’ टहरा ठडिएका छन् । सयभन्दा बढी पक्की संरचना बनेका छन् । विमानस्थलबाट आएकाहरुले बनाएको ६० भन्दा बढीले अवैध संरचना पनि छन् ।

सबै अवैध संरचनामात्रै हटाउने हो भने करिब २५ रोपनी जग्गा प्रयोगमा आउने जानकार बताउँछन् ।

२०६४ सालतिर सर्वदलीय बैठक बसेर बसपार्क निर्माण कार्य सुरु गर्ने निर्णय पनि भएको थियो । त्यसबेला तत्कालिन नेकपा एमाले कास्कीका सचिव स्व. रवीन्द्र अधिकारी, कांग्रेसका सभापति यज्ञबहादुर थापा र माओवादीका सचिव राजकाजी गुरुङको उपस्थितिमा निर्णय भएको समितिका पूर्वअध्यक्ष लामिछानेले जनाउँछन् ।

‘त्यतिबेला त्यहाँ रहेका सुकुम्बासी र व्यापारी सबैले जग्गा छोड्ने र बसपार्क बनाउन सुरु गर्ने निर्णय पनि भइसकेको थियो,’ लामिछाने भन्छन्, ‘बसपार्क बनाउन त्यतिबेला १२ करोडको लागत पनि तयार भइसकेको थियो । हामीसँग ९ करोड रुपैयाँ थियो । तर, पछि त्यो योजना पनि त्यत्तिकै सेलाएर गयो ।’

पार्कभरि घर, सडकभरि पार्किङ !

पोखरामा दैनिक सयौं सवारी साधन पृथ्वीराजमार्ग भएर ओहोरदोहोर गर्छन् । ती सवारीको चाप झेल्न पोखरामा बसपार्क छैन ।

पृथ्वीचोकमा बन्ने भनिएको बसपार्क नबनेपछि कुनै बस पोखरा पृथ्वी नारायण क्याम्पस गेटअघि पार्किङ हुन्छन् । बजार क्षेत्रमा चल्ने ट्याक्सी चोकचोकमा यात्रु कुरेर बस्छन् । जसले गर्दा सडक साँघुरोमात्रै भएको छैन, अव्यवस्थित समेत हुँदै आएको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनबहादुर शाही पोखरामा व्यवस्थित बसपार्क नभएकै कारण समस्या उत्पन्न भएको बताउँछन् । बसपार्क वरिपरि टहरैटहराले भरिएका कारण धेरै पर्यटकलाई ‘बसपार्क कहाँ छ ?’ भन्नेबारे थाहै नपाएको उनको गुनासो छ । ‘व्यवसिस्थत बसपार्क छैन । बाटोमै भाडामा काउन्टर लिएर गाडी छुट्याइरहेका छौं,’ उनले गुनासो गरे, ‘अन्य जिल्ला तथा सहरमा समेत बसपार्क भइसकेको अवस्थामा सवारीको चाप हुने पोखरामा नै बसपार्क छैन ।’

राजनीतिक खाचातानी एवं अस्थिरता कै कारण बसपार्क बन्न नसकेको शाही आरोप लगाउँछन् । लामो समयसम्म बसपार्क नबनेपछि पटकपटक बसपार्क पृथ्वी बस व्यवसायी समितिलाई जिम्मा दिन आग्रह गरिएको समेत उनले जानकारी दिए । ‘बसपार्क नबनेपछि हामी आफैं तम्सिएका पनि थियौं तर, उहाँहरुबाट हामी बनाउँछौं । बरु सहकार्य गर्नुपरे गरौंला भन्ने जवाफ दिनुभएको थियो,’ उनले भने ।

समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछाने बसपार्कलाई ‘भोट बैंक’ का रुपमा लिनाले पूर्णता पाउन नसकेको बताउँछन् । ‘धेरै राजनीतिक दलको भोट यहाँका सुकुम्बासीबाट आउँछ । उनीहरुलाई हटाउने चेष्टामात्रै गरेपनि थुप्रै भोट घट्छ,’ उनले भने, ‘पोखरा बनाएर पो भोट बढ्छ त ! नबनाएर उल्टै बिगारेर भोटको आश गरेर कहीं हुन्छ ?’

बसपार्कमा अव्यस्थित बसोबास गरिरहेका सुकुम्बासी ‘समस्या’ नभएको लामिछानेको ठम्याइँ छ ।

बसपार्क बनाउन प्रयास र इच्छाशक्ति नभएकै कारण निर्माण कार्यले पूर्णता पाउन नसकेको सुनाउँछन् ।

बसपार्कमा बसिरहेकाहरुको ‘चित्त’ बुझाउने काम राज्यको भएको भन्दै उनलले भने, ‘त्यहाँ बसिरहेकासँग राज्यले एकपटक राम्रोसँग सहमति गरेर जानुपर्‍यो । उहाँहरु हाँसीहाँसी जान तयार हुनुहुन्छ । प्रयास नै नभएपछि कसरी बसपार्क बन्छ त ?’

बसपार्क बनाउने काम सुरु हुँदैछः मेयर जिसी

नगर विकास ऐनमा संशोधनसँगै प्रत्येक स्थानीय तहमा आवश्यक्ता अनुसार नगर विकास समिति गठन गर्न सकिने भएको छ ।

नयाँ ऐन अनुसार गठित समितिमा सम्बन्धित स्थानीय तहका प्रमुख वा अध्यक्ष अध्यक्ष हुनेछन् ।

यसअघि राजनीतिक नियुक्तिका रुपमा सोझै समितिको अध्यक्ष हुन पाउँथे तर, संशोधित ऐनअनुसार पोखरा महानगरका मेयर मानबहादुर जिसी समितिको अध्यक्ष हुनेछन् । उनी समितिमा आउने ऐनसँगै पोखरा बसपार्कको भविष्यबारे पुन चर्चा सुरु भएको छ ।

मेयर जिसीले पोखरा बसपार्क बनाउन महानगर लागिपरेको दाबी गरे । उनले पोखरा बसपार्कको अव्यस्थित बसाइबारे ‘यथार्थ कुरा’ बुझ्न छानवीन समिति बनाइसकेको जानकारी दिए ।

‘पोखरा –९ का वडाध्यक्षको नेतृत्वमा समिति गठन गरेका छौं । समितिले बसपार्कका वास्तविक र नक्कली सुुकुम्बासीबारे छानवीन गर्नेछ,’ उनले भने, ‘चैत मसान्तसम्ममा समितिले प्रतिवेन बुझाइसक्छ । त्यसपछि अध्ययन गरेर हामी काम सुरु गर्छौं ।’

पोखरा बसपार्क बनाउन पर्याप्त रकम भएपनि त्यहाँ रहेका अनाधिकृत बसोबासले समस्या पारेको मेयर जिसीको भनाइ छ । ‘सुकुम्बासी बस्ती छ । त्यसले चुनौति थपेको छ । तर, हामी स्थानान्तरण गरेर हुन्छ कि ! क्षतिपूर्ति दिएर हुन्छ । काम सुरु गरेरै छोड्छौं,’ उनले भने । बसपार्कलाई आधुनिक ‘सिटी बसपार्क’ बनाउने तयारी रहेको र आफ्नै कार्यकाल बनाइसक्ने उनको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment