+
+
Shares

पोखराका व्यवसायीको आह्वान : आगजनीमा संलग्नलाई कारबाही गरौं, चुनावमा जाऔं

अमृत सुवेदी अमृत सुवेदी
२०८२ असोज २३ गते १५:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा २४ भदौको जेनजी आन्दोलनमा सरकारी संरचना, नेताका घर र व्यापारिक प्रतिष्ठानमा तोडफोड र आगजनीले ३ अर्बभन्दा बढी क्षति पुगेको छ।
  • आन्दोलनमा गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापा परिवारका व्यवसाय, प्रदेश सांसदहरूका होटलहरू र साना व्यवसायीका स्टलहरू जलाइएका छन्।
  • पोखरा उद्योग वाणिज्य संघले तोडफोडमा संलग्नलाई कारबाही गर्न र समयमै चुनाव गराउन निजी क्षेत्रले भूमिका खेल्नुपर्ने बताएको छ।

२३ असोज, पोखरा । २४ भदौको जेनजी आन्दोलनका क्रममा पोखराका सरकारी संरचनादेखि नेताका घर र व्यवासायीका व्यापारिक प्रतिष्ठानमा लुटपाट, तोडफोड र आगजनी भयो ।

जेनजी आन्दोलनमा पोखराका व्यापारिक मल, होटल, रिसोर्ट गरी ३ अर्बभन्दा बढी क्षति भएको अनुमान गरिएको छ ।

आन्दोलनका क्रममा व्यवसायी तथा गण्डकी प्रदेश मन्त्री विन्दुकुमार थापाको बगैंचा रिसोर्ट, अंशुभरा स्क्वायर भवन पहिलो निशानामा पर्‍यो । मन्त्री थापाकै भाइ ध्रुवको गाडी स्वरुम र घर जलाइयो ।

आन्दोलनकारीले भरत पहारी परिवारले चलाएको होटल सरोबर, प्रदेश सांसद गणेशमान गुरुङको होटल गुडविल जलाएर ध्वस्त पारे ।

प्रदेश सांसद देवका पहारीको होटल एडम र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लगानी रहेको भन्दै तोडफोड र आगजनी भयो । साना व्यवसायीले थोरै लगानी गरेर चलाएका स्टलहरू रहेको सिर्जना मिनी मार्ट पनि जलाइयो ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार निर्माण भइसकेको भए पनि निजी क्षेत्र भने अझै त्रसित र भयवित देखिएको छ ।

मन्त्री थापा परिवारले अढाइ महिनाअघि मात्र पोखरा लेकसाइडमा बगैंचा रिसोर्ट पराराष्ट्रमन्त्री तथा देउवा पत्नी आरजु देउवा राणाको हातबाट उद्घाटन गराएका थिए । उनको अंशुभरा स्क्वायरमा विभिन्न व्यवसायीहरूले ब्यापार चलाइरहेका थिए । दुवै ध्वस्त बनाइए ।

बगैंचा रिसोर्ट मन्त्री थापा पुत्र सौगातको नेतृत्वमा सञ्चालन भइरहेको थियो । सौगातलाई लागिरहेको छ, ‘बुबा सांसद मन्त्री हुनुभन्दा अगाडि नै कुशल व्यवसायी हुनु, लगानी गर्नु र रोजगारी सिर्जना गर्नु के अपराध भयो ?’

दाइ मन्त्री भएकै कारण नेपाल अटो मोबाइल एसोसिएसन नेपालका पूर्वअध्यक्ष तथा लायन्स क्लबका पूर्वअध्यक्षसमेत रहेका ध्रुव थापाको व्यवसायसमेत जलाएर ध्वस्त बनाइयो ।

पोखरामा ४४ वर्षअघि खुलेको होटल हो, होटल सरोबर । विभिन्न आरोह-आरोह पर गर्दै नयाँ बनाइएको होटल सरोबरमा चीन र अमेरिकामा इन्जिनियरिङको पढाइ सकेर आएका तन्नेरी प्रतीक पहारी जोडिएका थिए ।

बुबा, ठूलोबुबा समेतको सपना र मिहिनेतबाट खुलेको होटललाई नयाँ सोच र लगानीका साथ प्रतिकले देशमै केही गरेर देखाउने हुटहुटी देखाइरहेका थिए । पुल्चोक इन्जिनियरिङ क्याम्पसका पूर्वडीन प्राडा भरत पहारी पोखरा महानगरको भवन मापदण्ड समितिको संयोजकसमेत बनेका थिए ।

उनलाई आफ्नो होटललाई समेत उन्मुक्ति दिने गरी मापदण्ड तयार पारेको आरोप लागेको थियो । पहारी संयोजकत्वको समितिको प्रतिवेदन महानगरले अस्वीकार गर्न, उनलाई पनि गल्ती गरेको भए कानुनी दायरामा ल्याउन सक्थ्यो तर पछिल्लो पुस्ताको सपना र सोचसमेत जोडिएको होटल नै खरानी बनाइदिएपछि प्रतीकको मन भक्कानियो ।

लेकसाइडको बरपिपल रिसोर्ट लमजुङको श्रीमञ्ज्याङ लामा गाउँबाट पोखरा आएका जितु गुरुङले होटल गाइड, प्रतिनिधि हुँदै सानो होटलबाट यहाँसम्म ल्याएका हुन् । गाउँबाट १ हजार रुपैयाँ लिएर ३० वर्ष अगाडि पोखरा छिरेका गुरुङले अनेक श्रम, पसिना बगाउँदै लामो संघर्ष र मितिनेतपछि रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।

अहिलेसम्मको अनुभव, लगानी र बैंकको ऋणबाट खडा गरेको रिसोर्टमा माओवादी अध्यक्ष प्रचण्डको लगानी भन्दै जेनजी आन्दोलनमा आगो झोसिदिए । उनको रिसोर्टका ३ वटा भवनमा आगो लगाइएको । विदेशी पर्यटकको भागाभाग भयो ।

उनले मात्र १२० जनालाई रोजगारी दिएका छन् । हरतरहको परिश्रमबाट यहाँसम्म आइपुगेका गुरुङ भन्छन्, ‘मिहिनेत, सपना, सोच र अहिलेसम्मको लगानी तथा ऋणबाट रिसोर्ट खोलेको हुँ, कसैको एक पैसा लगानी छैन तर आगो लगाइयो । तर मनोबल गिर्न दिएको छैन, देशमा स्थिरता आओस् यत्ति हो ।’

पोखराको पर्यटनलाई नजिकबाट चिनेका र ४०औं वर्षदेखि यही क्षेत्रमा लागिरहेका अनुभवी व्यवसायी तथा चिन्तक हुन्, वासु त्रिपाठी । उनले गण्डकी क्षेत्रकै पर्यटनलाई नजिकबाट छामेका मात्र छैनन्, पर्यटकहरूलाई घुमाउँदै पैतालाले नापेका समेत छन् ।

ट्राभल्स, ट्रेकिङ क्षेत्र हुँदै होटल एडम चलाइरहेका त्रिपाठीले केही समयअघि मात्र ठूलो लगानीमा होटल विस्तार गरेका थिए । दशकौंदेखि पर्यटन क्षेत्रमै लागिरहेका त्रिपाठी परिवारका निम्ति पत्नी देवका पहारी एमालेको सांसद हुनु, राजनीतिमा लाग्नु अपराधजस्तो बनाइयो । देवका एमालेको प्रदेश सांसद भएकै कारण होटलमा आगो लगाइयो ।

दशकौंदेखि होटल तथा पर्यटन क्षेत्रमै क्रियाशील भएका गणेशमान गुरुङ एमालेबाट गण्डकी सभा सदस्य भएकै कारण होटल गुडविलमा आन्दोलनकारीले आगो लगाइदिए । देउराली हिमालयन देउराली रिसोर्ट हुँदै गुडविलसम्म आइपुगेका गुरुङको लेकसाइडको होटलमा तोडफोड, लुटपाट र आगजनी गरिएको थियो । होटल संघ पोखराका अध्यक्ष लक्षमण सुवेदीकाअनुसार ठूलो लगानीमा खुलेको होटलले मार खेप्दै लिलामी हुने अवस्थामा थियो तर जेनजी आन्दोलनका नाममा जलाएर ध्वस्त बनाइयो ।

देशभरजस्तै पोखरामा पनि घाटभटेनी सुपरमार्केट आन्दोलनकै क्रममा जलेर ध्वस्त भएको छ । मन्त्री तथा नेता, ठूला व्यवसायीका मात्र होइनन्, साना व्यवसायीका टहरामासमेत आगो लगाइएको थियो ।

आन्दोलनका नाममा जसरी निजी क्षेत्रमाथि आक्रमण भयो, त्यो भर्त्सनायोग्य भए पनि व्यवसायीहरूले भने मनोबल उच्च बनाउँदै उठ्ने तर वातावरण भने सरकारले बनाइदिनुपर्ने बताएका छन् । जेनी पुस्ताको माग र परिवर्तनलाई आत्मसात गर्दै व्यवसायी अगाडि बढ्ने तर सरकारले तोडफोड र आगजनी गर्नेलाई कारबाहीको दायरामा भने ल्याउनुपर्ने आवाज उनीहरूको छ ।

देशमा नयाँ प्रधानमन्त्री आएकाले आशा बढेको बताउँदै होटल सरोबरका प्रतीकले तोडफोड र आगजनी गर्नेलाई कारबाहीको मागसमेत गरे । सरकारले त्यस्ता व्यक्तिलाई संरक्षण गर्ने काम गर्ने हो भने व्यवसायीको मनोबल गिर्ने उनको भनाइ थियो ।

‘देशमा प्रथम महिला प्रधानमन्त्री चुनिनुभएको छ, यो गौरवको कुरा हो । म आशा गर्छु, जेनजी साथीहरूको आन्दोलनको मर्मलाई बुझी उहाँले देशलाई सही दिशातर्फ लैजानुहुन्छ । म विश्वास गर्छु, देशमा शान्ति र सुशासन कायम हुनेछ र देशमा उद्योग गर्ने वातावरण बन्नेछ अनि अन्यायमा परेकालाई न्याय मिल्नेछ,’ प्रतीक भन्छन्, ‘युवाहरूको आक्रोश जायज थियो । भ्रष्टाचार र बेथिथि निकै बढेको थियो तर शान्तिपूर्ण आन्दोलन जरुरी थियो । युवाहरूको ज्यान गुम्नु अत्यन्तै दुःखद घटना भयो तर युवाहरूको नाममा भएको अराजकता र तोडफोड पनि त्यत्तिकै पीडादायी भयो ।’

पोखरा उद्योग वाणिज्य संघले बुधबार अगुवा व्यवसायीलाई डाकेर अहिलेको अवस्था र आगामी निजी क्षेत्रको बाटोका विषयमा छलफल र विमर्श गरेको छ ।

व्यवसायीहरूले जेनजी आन्दोलनपछि प्राप्त परिवर्तन र सकारात्मक पक्षलाई आत्मसात गर्दै तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न र तोकिएको समयमै चुनाव गराउन प्रेरित गर्न निजी क्षेत्रले भूमिका खेल्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय अध्यक्ष आन्दराज मुल्मीदेखि लुटपाटपछि आगजनी भएर पूर्ण रूपमा ध्वस्त बनाइएको होटल सरोबरका सञ्चालक प्रतीक पहारीसम्मले राज्यले तोडफोड आगजनीमा संलग्नलाई कारबाही नगर्ने हो भने सैह्य नहुने चेतावनी दिए भने निजी क्षेत्रले पनि समयमै चुनाव गराएर अगाडि बढ्न प्रेरित गर्नुपर्ने बताएका छन् ।

प्राप्त उपलब्धिको रक्षा गर्दै समयमै चुनाव गराउन अहिलेको सरकारलाई वातावरण तयार पार्न प्रेरित गर्ने काम पनि निजी क्षेत्रकै भएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराजले बताए ।

‘उद्योगी-व्यवसायीमाथि भएको आक्रमणले निम्त्याएको बहुआयामिक असर र निराकरणका उपायहरू’ विषयक अन्तर्क्रियामा मुल्मीले चुनाव गराउने वातावरण सिर्जना काम अब निजी क्षेत्रको पनि भएको बताउँदै व्यवसायीले स्पष्ट विचार बनाउनुपर्ने जिकिर गरे । तर सरकारले जसरी तोडफोड आगजनीमा संलग्नलाई संरक्षण गर्न खोजिरहेको छ, त्यो सैह्य नहुने उनको भनाइ थियो ।

उनले जेनजी आन्दोलनपछि उत्पादन र वितरण प्रणालीको कडी टुटेकाले अर्थतन्त्र यही अवस्थामा रहन्छ कि रहँदैन भन्ने अवस्था रहेको उनले बताए । जेनजी आन्दोलन र नयाँ सरकार गठनसँगै देशमा निषेधको राजनीति सुरु भएको जिकिर गर्दै मुल्मीले देशमा कठिन दिन आउन सक्ने चिन्ता जाहेर गरे ।

‘हामीले आगजनी, लुटपाट र अपराध गर्नेहरूलाई उन्मुक्ति दिने प्रवृत्तिविरुद्ध आवाज उठाउनै पर्छ । के सरकारले कानुनविहीन राज्य निर्माण गर्न खोजेको हो भन्ने प्रश्न हामीले नै गर्ने हो । हामीलाई सुरक्षा दिने जिम्मेवारी सरकारकै हो । अपराधीलाई उन्मुक्ति दिँदा सुरक्षाको प्रत्याभूति हुन सक्दैन,’ उनको जोड थियो ।

जेनजी आन्दोलनको क्रममा सुनियोजित रूपले व्यवसाय गरेर धन आर्जन गरेकाहरूलाई दोषी करार गर्ने काम भएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बताए ।

‘धन कमाउनै हुन्न, राम्रो लगाउनै हुन्न र यस्तो गर्नेहरू सबै भ्रष्टाचारी हुन् भन्ने भाष्य निर्माण गर्न खोजियो,’ कार्यक्रमको अवधारणा पस्कँदै संघका अध्यक्ष गोकर्ण कार्कीले भने, ‘के रिस्क मोलेर लगानी गर्नु, रोजगारी सिर्जना एवं राज्यलाई कर तिर्नु अपराध हो ?’ कार्कीको प्रश्न थियो । अपराधलाई क्रान्तिको लेप लगाउन नमिल्ने कार्कीको भनाइ थियो ।

लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले अपराधमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । आन्दोलनको नाममा व्यक्तिको अधिकारमाथि धावा बोल्न नमिल्ने उनको भनाइ थियो ।

पर्यटन परिषद्‌का उपाध्यक्ष हरि भुजेलले आफ्नै सम्पत्ति जल्दा पनि हेर्नबाहेक केही गर्न नसकेको पीडा पोख्दै आउँदा दिनमा यस्तो अराजकता नहोस् भन्ने कामना गरे ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले निजी क्षेत्रमाथि सुनियोजित तरिकाले आक्रमण हुँदा पनि निरीह बन्नु परेकोमा दुःख व्यक्त गर्दै अपराधीमाथि कारबाहीको माग गरे ।

अगुवा महिला उद्यमी तथा कास्की जिल्ला हस्तकला संघकी अध्यक्ष सीता गुरुङले जेनजी आन्दोलनमा भएको क्षतिले व्यवसाय धरासायी भएको बताउँदै राहत र पुनर्स्थापनाका कार्य छिटो हुनुपर्नेमा जोड दिइन् ।

व्यवसायीहरूले अब पनि देशलाई अस्थिरतामै राख्ने र अराजकतालाई संरक्षण गरिराख्ने खेल हुनसक्ने भन्दै खबरदारी जारी राख्नुपर्ने बताइरहेका छन् । व्यसायीहरूको मूल भावना एउटै छ, ‘पुराना दलहरू सच्चिनु, जेनजी पुस्ताका जायज मागप्रति सम्मान गर । देशमा स्थिरता कायम गर्न पनि चुनाव गराऊ । देशलाई फेरि द्वन्द्वमा फस्न नदिऊँ, देशमा व्यावसायिक वातावरण बनाऔं ।’

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?