
२६ भदौ, पोखरा । नयाँ पुस्ता (जेनजी) ले मंगलबार गरेको आन्दोलन ध्वंसात्मक बाटोमा गइसकेको थियो । राजधानीमा जेनजीको आन्दोलनसँगै झोसिएको आगो एकपछि अर्को गर्दै सरकारी संरचनामा फैलिइरहेको थियो ।
भदौ २३ गते सोमबार सरकारी दमनबाट १९ जनाको मृत्यु भएपछि मंगलबार बिहानैदेखि नागरिक समर्थनथन समेत पाएको जेनजीको आन्दोलनले उग्र रुप लिँदै थियो । अहिलेसम्म भने जेनजी पुस्ताका र नेपाल प्रहरीका गरी मृत्यु हुनेको संख्या ३० पुगिसकेको छ ।
देशभरका सरकारी संरचना, नेता र सरकार निर्माणसँग बेला–बेला जोडिने चर्चा पाएका ठूला व्यापारिक प्रतिष्ठानहरुमा आगो लाग्न थालेको थियो । जेनजीको आन्दोलन ध्वंसात्मक बाटोमा गएपछि काठमाडौंको आकास कालो बादलले ढाक्दै जान थालेका बेला ल्हासाबाट हिमालय एयरलाइन्स ७७५ को जहाज दिउँसो १२:३५ मा काठमाडौं अवतरण गर्नुपर्ने थियो ।
बन्द गर्ने निर्णय हुनुभन्दा अगाडि नै आइपुगेको हिमालयको जहाज काठमाडौं अवतरण गर्ने अवस्था नभएको भन्दै पोखरा डाइभर्ट भयो ।
विभिन्न देशका ६५ जना यात्रु बोकेको जहाज जब पोखरा अवतरण भयो, तब प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएर पोखरा आएको र यतैबाट विदेश भाग्न लागेको अफवाह फैलिन थाल्यो ।
भारतका कतिपय मिडियाले त प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली दुबई भाग्न लागेको समेत लेख्न भ्याए । यो अफवाहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरुसहित सबै सुरक्षा निकायलाई तनाव सिर्जना गरेको थियो ।
जेनजीको नाममा भएको आन्दोलन ध्वंसात्मक र उग्र भइरहेका बेला केही युवाहरु ओली भाग्न लागेको भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्मै पुगेका थिए । ‘प्रधानमन्त्री ओलीलाई कहाँ लुकाइएको छ भन्दै युवाहरुको समूह आउन थाले । विमानस्थलमै आगो लगाउने कुरासमेत गरे,’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीहरुले भने, ‘तर त्यो अफवाह थियो । चीनले बनाइदिएको विमानस्थलबाट नेताहरु भाग्दैछन् भन्दै आगो लगाउनुपर्छ भन्ने संख्या ठूलो रहेछ तर सुरक्षा निकायको संयमताले क्षति हुन पाएन ।’
राजीनामा दिएपछि ओली हेलिकप्टरमार्फत पश्चिम पृतना हेडक्वाटर, विजयपुर पोखरामा आएको र हिमालय एयरलाइन्सबाट चीन भाग्न लागेको देशैभरि अफवाह फैलिएको थियो । यो अफवाहले नेपाली सेनादेखि, प्रहरीसम्मलाई सुरक्षा तनाव थपिदिएको थियो ।
ल्हासाबाट ६५ जना यात्रु ल्याएको हिमालय एयरलाइन्सको जहाज काठमाडौं अवतरण गर्ने स्थिति नभएरै पोखरा डाइभर्ट गरिएको त्रिभुवन विमानस्थलका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । ‘काठमाडौंको स्थिति खराब थियो । एयरपोर्ट बन्द थियो । हिमालयले पनि पोखरा डाइभर्ट गर्ने भनेपछि उतै गएको हो,’ भुलले भने ।
दिउँसो १:३७ मा पोखरामा अवतरण गरेको जहाजमा आएका विभिन्न देशका पर्यटकसहितका यात्रुलाई मंगलबार राति ५ वटा होटलमा बस्ने व्यवस्था मिलाइएको थियो । त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेसँगै पोखरा विमानस्थल पनि खोल्ने निर्णय गरेर हिमालयको जहाज ल्हासाबाट ल्याइएका यात्रुलाई लिएर काठमाडौं गएको थियो ।
ओलीको नाम जोडेर फैलाइएको निराधार अफवाहपछि हिमालय एयरलाइन्सको जहाजमा सवार यात्रुहरुको नामावली नै सार्वजनिक गर्नुपरेको पोखरा विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।
राजीनामा दिएपछि सेनाको सुरक्षामा रहेका भनिएका निवर्तमान प्रधानमन्त्री ओली कहाँ छन् भन्ने औपचारिक रुपमा सार्वजनिक नहुँदा विभिन्न हल्ला र तर्कहरु बाहिर आइरहेका छन् । आन्दोलनको क्रममा फैलिने अनेक अफवाहले सुरक्षा चुनौति थपिने अधिकारीहरु बताउँछन् ।
प्रतिक्रिया 4