+
+
Shares

पोखरामा मन्त्रीदेखि साना व्यवसायीका पसलसमेत जले

भाटभटेनीमा अझै आगो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते १७:१४

२५ भदौ, पोखरा । जेनजी पुस्ताको आन्दोलनका क्रममा पोखरामा गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापा र परिवारको नाममा रहेको व्यापारिक भवनसहित ३ रिसोर्ट, इभेन्ट सेन्टर र भाटभटेनीमा आगजनी भएको छ ।

पोखरामा रहेका सबैजसो प्रमुख सरकारी कार्यालयसहित मंगलबार आन्दोलनकर्मीले व्यक्तिका घर, भवन र व्यापारिक संस्थामासमेत आगो लगाएका हुन् ।

मन्त्री थापाको पोखरा नयाँबजारमा रहेको घर, उनका भाई अटोमोबाइल एसोसिएसन नेपालका पूर्वअध्यक्ष ध्रुव थापाको गाडी स्वरूमसहितको भवन जलाएर ध्वस्त बनाइदिएका छन् ।

पोखरा महानगरपालिकाको कार्यालय जलाएपछि आन्दोलनकारीले मेयर धनराज आचार्यको घरमा तोडफोड गर्दै आगो लगाएका थिए भने मेयर आचार्यका भाइ शिव आचार्य सञ्चालक रहेको पोखरा इभेन्ट सेन्टर पनि तोडफोडसँगै आगो लगाइदिएका हुन् ।

आन्दोलनकारीहरूले मन्त्री थापाको घरसँगै पोखरा लेकसाइडमा रहेको अंशुभरा ग्रुपको व्यापारिक भवन, करिब डेढ महिना अगाडिमात्रै परराष्ट्रमन्त्री आरजु देउवा राणाले उद्घाटन गरेको बगैंचा रिसोर्ट तोडफोड गर्दै आन्दोलनकारीले आगजनी गरेका थिए ।

आन्दोलनकारीले प्रा.डा. भरत पहारीको होटर सरोबरमा पनि तोडफोड गर्दै आगजनी गरेका छन् भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लगानी रहेको भन्दै बरपिपल रिसोर्टमा पनि तोडफोड गर्दै सवारी साधन र एउटा भवनमा आगो लगाइदिएका छन् ।

जेनजीको नाममा भएको आन्दोलनका सहभागीले पोखरामा रातिसम्मै उग्र प्रदर्शन गरिरहेका थिए । आन्दोलनकारीले सबै सरकारी कार्यालय जलाइसकेपछि पोखरा न्युरोडमा रहेको भाटभटेनी सुपरमार्केट तोडफोड, लुटपाट गर्दै आगजनी गरेका थिए ।

भाटभटेनीमा लागेको आगो अझै निभेको छैन । भाटभटेनी सुपरमार्केटमा पूरै भवनमा आगो सल्किएको छ । अहिले पोखरा महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । तर नियन्त्रणमा आउन सकेको छैन । भाटभटेनीभित्र अहिले पनि दनदनी आगो सल्किरहेको छ ।

प्रदर्शनीकारीले झोसेको आगोमा बलिरहेको पोखरास्थित भाटभटेनी सुपरमार्केट।

प्रदर्शनकारीले गण्डकीका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर केसीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि रहेको घर, एमालेका केन्द्रीय सदस्य तथा युवा इन्चार्ज राजीव पहारीको व्यक्तिगत घरसमेत जलाएका हुन् ।

प्रदर्शनकारीले पोखरा सिर्जनाचोकमा जिल्ला समन्वय समितिको स्वमित्वमा रहेको जग्गामा सञ्चालित सस्तो तरकारी तथा फलफूल मण्डीमा पनि आगजनी गरेका छन् । मण्डीमा सटर भाडामा लिएर साना व्यवसायीले चलाएको सस्तो तरकारी तथा फलफूल पसलहरू पनि जलेर पूर्णरूपमा नष्ट भएको हो ।

तरकारी तथा फलफूल मण्डी।

व्यापरिक प्रतिष्ठान तथा व्यावसायिक संस्थामाथि आन्दोलनका नाममा भएको तोडफोड र आगजनीप्रति पोखरा उद्योग वाणिज्य संघले दुख व्यक्त गरेको छ ।

‘आन्दोलनको क्रममा देखिएका परिदृष्य, सार्वजनिक र निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड र लुटपाटका घटनाले भने हामीलाई दु:खी बनाएको छ,’ संघका अध्यक्ष गोकर्ण कार्कीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्र तथा व्यावसायिक प्रतिष्ठानमा आक्रमण हुनु व्यक्तिको सम्पत्तिमाथिको अधिकारको हननमात्र हैन, राज्यलाई कर तिर्ने समूहलाई निराश तुल्याउने तथा युवाहरूलाई रोजगारीको अवसरबाट वञ्चित गराइनु हो ।’

संघले आन्दोलनको क्रममा भदौ २४ गते देखिएका परिदृष्यहरू सुखद नभएको बताएको छ । ध्वंस र अराजकताबाट टाढा र त्यस्ता आन्दोलनमा हुने घुसपैठ एवं अवान्छित गतिविधिहरू रोक्नका निम्ति सक्रिय बन्न महासंघको अनुरोध छ ।

‘संक्रमणकाल जति लम्बिन्छ, त्यति नै बढी अराजकता फैलने सम्भावना रहन्छ । यस्तो विषम परिस्थितिलाई काबुमा राख्न संयम र धैर्यताको जरूरी छ,’ संघको अपिल छ, ‘शान्ति सुरक्षा कायम गराउने अभियानमा अझ बढी सक्रियता देखाउन हामी सुरक्षा निकायसँग आग्रह गर्दछौं भने सो अभियानलाई सघाउन हामी आम नागरिक र निजी क्षेत्रलाई आह्वान गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?