+
+
Shares

जेनजी आन्दोलनको आडमा ढालियो लखन थापाको शालिक

जेनजी आन्दोलनको आडमा लखन थापाको शालिक सेतीमा फालिदिएर पृथ्वीनारायण शाहको शालिक राखिएको भन्दै जनजाति महासंघले विरोध जनाएको छ ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ भदौ २७ गते ११:३२
२०६२/०६३ काे जनआन्दाेलनमा पृथ्वीनारायणकाे शालिक ढलाउँदै र अर्कातिर लखन थापाकाे शालिक ठड्याएछि ।

२७ भदौ, पोखरा । जेनजी पुस्ताका युवाले गरेको आन्दोलनको आडमा पोखरामा शहीद लखन थापाको शालिक ढाल्न राजावादीहरु सफल भएका छन् ।

यसअघि पटक–पटक आन्दोलनसहित प्रयास गर्दा पनि असफल भएका राजावादी र पृथ्वीचोकमा पृथ्वीनारायणकै शालिक हुनुपर्छ भन्ने मान्यता राख्नेहरु जेनजी आन्दोलनको काँधमा चढेर आफ्नो योजना पूरा गर्न सफल भएका हुन् ।

जेनजी आन्दोलनको दोस्रो दिन राजावादी समर्थित राप्रपाका नेता तथा युवाहरुकै उपस्थितिमा लखन थापाको शालिक ढालेर पृथ्वीनारायण शाहको प्रतिमा राख्दै उनीहरुले खुसी मनाएका थिए ।

नेपालका प्रथम शहीद लखन थापाको सालिक हटाइएकोमा नेपाल आदिवासी जनजाति महासंघले खेद प्रकट गर्दै पुनर्स्थापित गर्न माग गरेको छ ।

जेनजी आन्दोलन उग्र बन्दै गएपछि पोखरामा राजावादी भनेर चिनियाँ राप्रपाका नेताहरु तथा युवाहरुकै उपस्थितिमा शालिक ढालिएको थियो । जेनजीको पहिलो दिनको आन्दोलनमा पनि राप्रपाका नेताहरु घुसपैठ गरेर प्रदर्शनलाई आफ्नो अनुकूल चलाउन खोजेका थिए । दोस्रो दिनको आन्दोलन ध्वंसात्मक बन्नुमा पनि राप्रपा र रास्वपाका उक्साहट व्यक्तिहरुको हात रहेको जेनजी अभियन्ताहरुले बताइरहेका छन् ।

पोखरा–काठमाडौं जोड्ने राजमार्ग २०२८ सालमा  निर्माण गरेपछि तत्कालीन राजा महेन्द्रले पृथ्वीराजमार्ग नामाकरण गरेर त्यही राजमार्गको शून्य किलोमिटरमा पृथ्वीनारायण शाहको शालिक स्थापना गराएका थिए । त्यसयता पोखराकै यो मुख्य चोकलाई ‘पृथ्वीचोक’को नामले चिनिएको थियो ।

लखन थापाको शालिक हटाएर राखिएको पृथ्वीनारायण शाहको शालिक

जनआन्दोलन २०६२/६३ मा तत्कालीन माओवादीले पृथ्वीनारायण शाहको शालिक ढालिदियो । गणतान्त्रिक नेपाल स्थापनासँगै शाह राजाको शालिक हटाएर त्यो ठाउँमा प्रथम शहीद लखन थापाको शालिक राख्ने निर्णय भएको थियो । पृथ्वीचोकबाट नाम पनि लखनचोक राखिएको थियो ।

त्यसयता पटक–पटक यहाँको चोकमा शहीद लखन थापाको शालिक राख्ने कि पृथ्वीनारायणको भन्ने विषयमा विवाद र आन्दोलनसमेत हुँदै आएको छ ।

०७४ असोज ९ गते मध्यरातमा पोखरा महानगरले चोक फराकिलो पार्ने भन्दै लखन थापाको शालिकमाथि डोजर चलाएको थियो । तत्कालीन मेयर मानबहादुर निसीको निर्णयविरुद्ध जनजातिहरुले विरोध र आन्दोलन गरेर २४ घन्टा नबित्दै लखनकै शालिक राख्ने निर्णय गरे ।

२०७५ साल फागुन १ गते फेरि लखन थापाको पूर्णकदको शालिक राखिएको थियो । त्यो बेला महानगरले पोखराका सबै शालिकहरु हटाएर जामुनबोटमा पार्क निर्माण गरेर राख्ने निर्णय गरेको थियो । तर, यहाँका सबै शालिक भने हटाउन असफल बन्यो ।

यसअघि पोखरामा जातीय आन्दोलन चर्किंदासमेत यहाँको शालिकको विषयमा चर्को विवाद भएको थियो । २०८० भदौमा पनि राजावादी समर्थित र पृथ्वीचोकमा पृथ्वीनारायणकै शालिक राख्नुपर्छ भन्नेहरुले आन्दोलन गरेका थिए ।

जनजाति महासंघको विरोध

उनीहरुले लखन थापाको शालिकसँगै पृथ्वीनारायणको प्रतिमासमेत राखेका थिए । तर, जनजातीहरुले त्यो प्रतिमा निकालिदिएपछि उनीहरुले विरोध गरेका थिए । यसपटक भने जेनजी आन्दोलनको आडमा लखनको शालिक सेतीमा फालिएको भन्दै जनजाति महासंघले भत्सनासमेत गरेको छ ।

महासंघले जेनजीको उपमा दिइएको नयाँ पुस्ताले मुलुकमा व्याप्त पुरानो पुस्ताको एकाधिकार, भ्रष्टाचार, नातावाद र परिवारवादविरुद्ध आयोजित विरोध प्रदर्शनमा केही राजनीतिक अनि व्यक्तिगत स्वार्थ केन्द्रित समूहहरुको घुसपैठ अनि राज्यको विवेकहीन वल प्रयोगले शान्तिपूर्ण प्रदर्शनलाई आक्रोशपूर्ण आन्दोलनमा रुपान्तरित भएको महासंघको भनाइ छ ।

आन्दोलनले वर्तमान सरकारलाई सत्ताच्युत गरे पनि राष्ट्रिय धरोहरहरु र पुर्खाहरुले सुरक्षित राखेको राष्ट्रिय महत्वका सार्वजनिक सम्पत्तिलाई ध्वस्त पार्दै ऐतिहासिक दस्तावेजलाई खरानी बनाएको महासंघले बताएको छ ।

आन्दोलनको नाममा निरंकुश जहानियाँ राणाहरुको परिवारवादका विरुद्ध आवाज उठाउने मुलुककै प्रथम शहीद लखन थापा मगरको शालिकलाई उखेल्दै उक्त स्थानमा पृथ्वीनारायण शाहको शालिक राखेर शहीद लखनको शालिकलाई सेती नदीको खोंचमा मिल्काएको महासंघले जनाएको छ ।

‘यही आन्दोलन हो जसले विगतमा बहुदलीय व्यवस्था र लोकतन्त्रका लागि निरंकुश शाशकहरुका विरुद्ध लड्ने नेतृत्वको प्रतिमा फुटायो अनि लोकतन्त्र, संघीयता र गणतन्त्रका विरुद्ध नाराहरु लगायो । नेपाल आदिवासी जनजाति महासंघ यो आन्दोलनका नाममा भएका यस्ता हर्कतहरुको घोर भर्त्सना गर्दै खेद व्यक्त गर्दछ,’ जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै प्रथम शहीद लखन थापा मगरको शालिक स–सम्मान पुनर्स्थापित गर्न महासंघले माग गरेको छ । राज्य सञ्चालनमा पात्रहरु फेरिएलान् तर संघीय लोकतन्त्रान्त्रिक गणतन्त्रको विकल्प दलविहीन निरंकुशता हुनै नसक्ने भन्दै महासंघले चेतावनीको शैलीमा भनेको छ, ‘विगतमा भएका जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुलाई नामेट गर्ने कुचेष्टा भएमा तत्काल निर्णयक संघर्षको घोषणा गरिने समेत खबरदारी गर्दछौं ।’

अब बन्ने सरकारले नेपालको संविधान २०७२ गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, पूर्ण समानुपातिक, समावेशिता एवम् आदिवासी जनजातिको पहिचान, आत्मनिर्णयको अधिकार र भाषिक सांस्कृतिक अधिकारको सुनिश्चितता गर्दै नेपाल सरकार पक्षराष्ट्र भएका अन्तर्राष्ट्रिय अभिसन्धिहरुलाई पूर्ण सम्मान र कार्यान्वयन गर्न ध्यानाकर्षण पनि गराइएको छ ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?