Comments Add Comment

वृद्धभत्तामा बैंकले सास्ती दिएको वडाअध्यक्षको आरोप

२६ चैत, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष डा अख्तर अंसारीले सामाजिक सुरक्षा भत्ता वितरणमा नेपाल बैंकले असहयोग गरेको आरोप लगाएका छन् । उनले प्रेस विज्ञप्ती जारी गर्दै नेपाल बैंक कलैया शाखाले विभिन्न बाहनामा वृद्ध वृद्धाहरुलाई सास्ती दिइरहेको आरोप लगाएका छन् ।

वडा कार्यालयले चैत महिनाको सामाजिक सुरक्षा भत्ता वापतको ४ लाख ३३ हजार ६ सय रुपैयाँको चेक चैत २४ गते नेपाल बैंक लिमिटेड कलैया शाखालाई जम्मा गरेको थियो । तर नेपाल बैंक लिमिटेड कलैया शाखाले विभिन्न बहानामा वृद्ध वृद्धालाई सास्ती दिएर रकम नदिएको दावी उनले गरे ।

‘बैंकको ईन्चार्जसँग कुरा गर्दा पैसा क्लियरिङ कमिसन लाग्ने गर्छ, त्यो चार्ज नदिएसम्म वृद्ध वृद्धाहरुको पैसा दिन सक्दैनौं भनेका छन् । कहिले क्लोजिङ चलिरहेको छ स्टाफ छैन भन्ने गरेका छन्’ उनले भने ‘होली भन्दा अगाडि त्यही बैंकले कुनै बदमासी नगरी बाँकी वृद्ध वृद्धाहरुको सामाजिक सुरक्षा भत्ता रकम दिएको थियो, अहिले आएर आनाकानी गरिरहेको छ । रकम दिन आनाकानी गरेर वृद्ध वृद्धाहरुलाई सास्ती दिने बैंकका व्यवस्थापकलाई कारबाही हुनुपर्छ ।’

यसअघि नगरपालिकाले सामाजिक सुरक्षा भत्ता रकम पठाउँदा ३३ जनाको छुटाएकोले पछि पठाएको उनको भनाइ छ । कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिनारायण वेलवासेले भने वडा अध्यक्षको गुनासो नगरपालिकामा समेत आएको बताए ।

‘वडा अध्यक्षले नगरपालिकामा पनि बैंकले सामाजिक सुरक्षा भत्ता दिनमा आनाकानी गरेको गुनासो गर्नुभएको थियो’ उनले भने ‘समस्याबारे बुझ्न लेखा अधिकृत नै पठाएको छु । बैंकले वास्तवमै त्यस्तो भनेको हो भने त्यो वदमासी नै हो । सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंकको केन्द्रिय कार्यालयसँगै सहमति भएको छ । त्यस विपरीत जान्छ भने कारबाहीका लागि सिफारिस गर्छौ ।’

बैंकका व्यवस्थापक सुधीर साहले भने वडा अध्यक्ष अन्सारीले कार्यालयमा आएर कर्मचारीहरु माथि अभद्र व्यवहार गरेको आरोप लगाएका छन् । ‘सामाजिक सुरक्षा भत्ता विगतमा पनि हामीले वितरण गरेकै हो, चार्ज ठूलो कुरा होइन । सम्झौता अनुसार नियमसँगत काम गर्न हामी तयार छौं’ उनले भने ‘मेरो रिपोर्टिङ अनुसार वडाअध्यक्ष ज्यूले कार्यालयमा आएर अभद्र व्यवहार गर्नुभएको छ, समस्या आउँदैमा झगडा गरेर हिँड्ने, मिडियाबाजी गरेर हिड्ने होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment