Comments Add Comment

आठौँ राष्ट्रिय खेलकुदका पाँच खेल भोलिदेखि

२६ चैत, नेपालगञ्ज । आठौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन वैशाख ५ गते हुने भए पनि ५ खेलका प्रतिस्पर्धा बुधबारदेखि सुरु हुँदैछ । कुस्ती, टेबलटेनिस, हक्की, स्क्वास र लनटेनिसको खेल बुधबारदेखि सुरु हुन लागेको हो ।

दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगञ्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस हुनेछन् ।

उद्घाटन अघि यी पाँच खेलसहित विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छन् । बुधबार हुने खेल बाहेक बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराते, साइक्लिङ, फेन्सिङ र गल्फ उद्घाटन पूर्व सकिने छन् ।

आठौँ राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् । राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी हुँदैछ ।

स्क्वास

स्क्वासमा प्रदेश १, २, ३, ४, ५, नेपाल प्रहरी र एपीएफ क्लबबाट २४ पुरुष र ५ महिला गरी २९ खेलाडीको सहभागिता रहने छ । पुरुष/महिला सिंगल्स तथा पुरुष टिम इभेन्ट गरी ३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता वैशाख २ गते सम्पन्न हुनेछ ।

हक्की

हक्कीको पुरुषमा सातै प्रदेश, डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र प्रहरीसहित ९ टिमले भाग लिने छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । फाइनल वैशाख ४ गते हुनेछ ।

महिला हक्की भने चैत ३० गतेदेखि नेपालगञ्जको खजुरास्थित शुक्र माविमा हुनेछ । सहभागी ६ टिमले दुई समूहमा रहेर लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । सहभागी टिमहरुमा प्रदेश १, २, ३, ४ र ७ तथा आर्मी छन् । सातौं राष्ट्रियमा प्रदेश ७ च्याम्पियन बनेको थियो । फाइनल वैशाख ५ गते हुनेछ ।

लनटेनिस

बुटवलमा हुने लनटेनिसमा प्रदेश ३, ४, ५, आर्मी, एपीएफ र एनआरएनबाट खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुष÷महिला सिंगल्स, डबल्स र टिम तथा मिक्स डबल्स गरी ७ स्पर्धामा भिडन्त हुनेछ । चैत २ गतेसम्म चल्ने प्रतियोगतामा २८ पुरुष र १५ महिला खेलाडीले सहभागिता जनाउने छन् । त्यसमा एनआरएनएबाट ३ पुरुष खेलाडी संरक्षकभूषण वज्राचार्य र अमृत पौडेल (दुवै अस्ट्रेलिया) तथा दावा शेर्पा (थाइल्यान्ड) ले प्रतिस्पर्धा गर्ने छन् ।

कुस्ती

कुस्तीमा पुरुष/महिलातर्फ समान १०–१० गरी २० स्पर्धामा खेल हुनेछ । सातै प्रदेश र दुई विभागीय (आमी÷प्रहरी) गरी ९ टिमले भाग लिने छन् ।

टेबल टेनिस

टेबलटेनिसमा सात प्रदेश, तीन विभागीय (आर्मी/प्रहरी/एपीएफ) बाट १ सय २० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष÷महिला सिंगल्स, डबल्स र टिम तथा मिक्स डबल्स गरी ७ स्पर्धा समावेश छन् ।

आठौं राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुने छन् ।

जसमा ३ सय ७२ स्वर्ण, त्यत्ति नै रजत र ५ सय ६३ कांस्य पदकका लागि खेल हुनेछ । बृहत राष्ट्रिय खेलकुदको पहिलो, दोश्रो र तेश्रो संस्करण बाहेक दुई वर्षको अन्तरालमा पहिलो पटक राष्ट्रिय खेलकुद हुन लागेको हो ।

आठौँ राष्ट्रिय खेलकुदको समापन वैशाख ११ गते हुनेछ । उद्घाटन र समापन दुवै नेपालगञ्ज रंगशालामा हुने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment