Comments Add Comment

एयरलाइन्स सञ्चालकले बिर्सनै नहुने चार मन्त्र !

plane

नविन अर्याल
२९ माघ, काठमाडौं । विमान सेवालाई महंगो एवं जोखिमपूर्ण व्यवसायका रुपमा लिइन्छ । यो व्यवसायमा लाग्नेहरुले मोल्नुपर्ने जोखिमहरु के कस्ता होलान् भन्नेबारे कुरा गर्दा नेपाल वायुसेवा निगमका प्रवक्ता रामहरि शर्मा हवाइ सेवाको सफलताका लागि चारवटा मन्त्रहरुमा ध्यान दिनुपर्ने बताउँछन् ।

शर्माका अनुसार विमान सेवाका चार सूत्र हुन्- विश्वसनियता, समयको पालना, यात्रुको चाप र नेटवर्क विस्तार । उनका अनुसार यिनै चार सूत्रको कार्यान्वयनले वायुसेवा कम्पनीको सफलता निर्धारण गर्छ ।

‘हवाइ सेवा अत्यन्तै संवेदनशील भएको हुँदा हरपल सतर्क रहनुपर्छ’ प्रवक्ता शर्माले अनलाइनखबरसँग भने- ‘विमान सञ्चालकले चारवटा सूत्रहरु मन्त्रजस्तै जपेर हिँड्नुपर्छ ।’

निगमले पनि यिनै चार कुरामा ध्यान केन्दि्रत गर्ने जानकारी दिँदै शर्माले निगमको तीन वर्षे सुधार योजनामा नेटवर्क विस्तारलाई जोड दिइएको बताए । माथि उल्लेख गरिएका चार सूत्रहरु अपनाउन नसकेमा कुनै पनि हवाइ सेवा सफल नहुने उनले बताए ।

पहिलो सूत्र-विश्वसनीयता

वायुसेवाको सफलताका लागि पहिलो शर्त हो विश्वसनीयता अर्थात ‘क्रेडिबिलिटी’ । जबसम्म यात्रुहरुको विश्वास जित्न सकिँदैन, तबसम्म विमान कम्पनीको प्रगति हुन सक्दैन । ठूला जहाज किनेर उडाउँदैमा यात्रुले विश्वास गर्दैनन् । प्रवक्ता शर्माले निगमको विश्वसनीयताा करिव ९५ प्रतिशत रहेको दाबी गरे ।

दोस्रो सूत्र- समयको पालना
विमान सेवामा सफलताको मन्त्र समयको पालना अर्थात ‘पङ्चुवालिटी’ हो । कुनै पनि जहाजले टिकट बिक्री गरेपछि जहाज समयमा उडाउनै पर्ने निगमका प्रवक्ता शर्मा बताउँछन् । समयमा जहाज उडाउन नसकेमा यात्रुको विश्वास गुम्छ । अहिले नेपाल एयरलाइन्समा देखिएको समस्या पनि समयमा नउड्नु नै हो ।

तर, निगमको तीन वर्षे सुधार कार्ययोजनामा समयमा जहाज उडाउने विषयलाई जोडतोडका साथ उठाइएको उनले बताए । ‘अन्तर्राष्ट्रिय प्रचलन अनुसार एयरलाइन्स उद्योगमा जहाज उडाउन १५ मिनेटभन्दा बढी ढिलो गर्न पाइँदैन’ प्रवक्ता शर्माले भने- ‘टिकट लिएको यात्रुलाई समयमा गन्तव्यमा पुर्‍याउन सक्नुपर्छ ।’

फलानो जहाजमा गएँ भने समयमै पुगिन्छ भन्ने यात्रुको विश्वास आर्जन गर्नुपर्ने हुन्छ । र, यसका लागि जहाज खाली भए पनि समयमै उडाउनुपर्ने र यात्रुले समयै गन्तव्यमा पुग्न पाउनुपर्ने शर्मा बताउँछन् ।
 
तेस्रो सूत्र-यात्रुको भार

विमान सेवाको सफलताको तेस्रो सूत्रमा लोड फ्याक्टर अर्थात् यात्रुको भारलाई लिने गरिन्छ । जहाजको कुल सीट क्षमतामध्ये कति सीट भरिएर जहाज उडिरहेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । ‘प्रशस्त जहाज भएर मात्र हुँदैन, जहाज भरेर उडाउन सक्नुपर्छ’ प्रवक्ता शर्मा भन्छन् ।
प्रवक्ता शर्माका अनुसार विमानको लोड फ्याक्टर ७० देखि ८० प्रतिशतको वीचमा भएमा खर्च कटाएर फाइदा गर्न सकिन्छ ।
भूकम्पअघि निगमका जहाज औषतमा ८० प्रतिशत भरिएर उड्ने गरेको शर्माले बताए । भूकम्प, नाकाबन्दी र तराई आन्दोलनले पर्यटन व्यवसाय सुस्ताएपछि यात्रु भराइ ७३/७४ प्रतिशतको हाराहारीमा झरेको उनको भनाइ छ ।
 
चौथो सूत्र- नेटवर्क विस्तार

विमान सेवामा प्रगतिको चौथो शर्त हो-सञ्जाल विस्तार अर्थात नेटवर्किङ । एयरलाइन्स सञ्चालकले आफ्नो नेटवर्क विस्तारमा विशेष ध्यान दिनुपर्छ । जहाज किनेर नेवटर्क विस्तार गर्न नसकेमा त्यो कम्पनीका लागि अभिशाप हुन्छ ।

दुई पक्षीय हवाइ सम्झौता भएका मुलुकमा त्यहाँको व्यापारबारे सूक्ष्म अध्ययन गरेर नेटवर्क विस्तारमा हवाइ कम्पनीहरु लाग्नुपर्ने शर्माको भनाइ छ ।

अहिले नेपालले विभिन्न ३८ देशसँग हवाइ सम्झौता गरिसकेको छ । तर, नेपालबाट पाँचवटा मुलुकमा मात्र उडान भइरहेको छ । निगमले भारत, हङकङ, थाइल्यान्ड, कतार र मलेसियाका सात स्थामा उडान भरिरहेको छ भने बुद्ध एयरले भारतको बनारसमा चार्टर्ड उडान गर्दै आएको छ ।

नेपालले भारतका विभिन्न २४ शहरमा उडान भर्ने अनुमति पाइसकेको छ । त्यस्तै चीनमा ६ ठाउँमा उडान भर्न पाउँछ । अब थप उडान विस्तार गर्दै जाने निगमका प्रवक्ता शर्माले अनलाइनखबरलाई बताए ।

‘माथि उल्लेख गरिएका चारवटा पक्षले एयरलाइन्स सेवाको गुणस्तर मापन गर्छ’ शर्माले भने- ‘एयरलाइन्स सञ्चालकले यी चारवटा मन्त्रहरुलाई मनन गर्नैर्पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment