Comments Add Comment

भारतीय बिदेशसचिवले प्रधानमन्त्रीलाई भने- वाचा पुरा गर्नुहोस्

Kp-oli-With-S-jaysankar

२ चैत, काठमाडौं । भारतले सीमांकनसहितका मधेसका बाँकी मुद्दा सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

सार्क सचिवस्तरीय बैठकमा सहभागी हुन काठमाडौंका आएका भारतीय विदेश सचिव एस जयशंकरले प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् । त्यसअघि उनले मधेसी मोर्चाका नेताहरुलाई भेटेर वार्तामा भएको प्रगति र मोर्चाको भावी कदमबारे सोधेका थिए ।

लगतै प्रधानमन्त्री निवास बालुवाटार पुगेका विदेश सचिवले प्रधानमन्त्री ओलीको निर्णय लिने क्षमतामा विश्वास रहेको भन्दै घुमाउरो पारामा पुराना वाचा पुरा गर्न दबाब दिएका छन् । यसो भनेर उनले भारतसँग प्रधानमन्त्री ओलीले गरेको चार बुँदे अलिखित समझदारीतर्फ संकेत गरेका थिए ।

उपप्रधानमन्त्री कमल थापाको भारत भ्रमणका क्रमाम अघि सारिएको चारबुँदे रोडम्याप अनुसार संविधान संशोधन भएको छ । सरकारले एकतर्फी रुपमै भएपनि प्रधानमन्त्रीको भारत भ्रमण अघि सीमांकन विवाद सल्टाउन राजनीतिक संयन्त्र बनाएको छ ।

तर, मधेसी मोर्चाले संयन्त्रलाई स्वीकार गरेको छैन । भारतीय विदेश सचिवसँगको भेटमा मधेसी मोर्चाका नेताहरुले सरकारप्रति धेरै आश नरहेको भन्दै आन्दोलनको तयारीमा रहेको बताए ।

लगतै प्रधानमन्त्री ओलीसँग भएको भेटमा विदेश सचिव जसशंकरले राजनीतिक संयन्त्र गठनमा देखिएको विवादबारे चासो राखेका छन् । जवाफमा प्रधानमन्त्री ओलीले सहमतिका आधारमा छिट्टै समितिलाई पूर्णता दिइने आश्वासन दिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले भने यो भेट शिष्टाचार मात्र भएको बताएका छन् । सार्क मन्त्रीस्तरीय बैठकमा सहभागी हुन भोलि भारतका विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउनेछिन् । उनले पनि प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम तय भएको रिमालले बताए ।

भारतीय विदेश सचिव जयशंकरले मंगलबार नै नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई पनि भेटेका छन् ।

देउवाको निवास बुढानिलकण्ठमा भएको भेटमा जयशंकरले सीमांकन हेरफेरको सम्भावनाबारे चासो रोखका थिए । जवाफमा देउवाले सहमतिबाट टुंग्गो लगाउन सकिने बताएका छन् ।

संविधान जारी हुनुभन्दा दुई दिन पहिले नेपाल आएर संविधान निर्माण रोक्न पहल गरेका बिदेशसचिव जयशंकरले त्यतिबेला खाली हात फर्किनुपरेको थियो ।

प्रधानमन्त्री ओलीसहित सवैजसो शीर्ष नेताहरुबाट टर्रो जवाफ पाएको भन्दै जयशंकर निकै क्रुद्ध बनेका थिए । त्यसयता उनी पहिलोपटक नेपाल आएर शीर्ष नेतृत्वसँग छलफल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment