Comments Add Comment

आफ्नै साथीको टाउको काटेर फाल्नेलाई यसरी समात्यो प्रहरीले

aaropi
हत्याका अारोपीहरू सुरेन्द्र राय र मुसाफिर खान

२५ जेठ, नवलपरासी । नवलपरासी जिल्लामा गत बैशाख १७ गते दुई जना व्यक्तिले आफ्नै साथीको हत्या गरेको घटनाबारे अनुसन्धानमा रहेको प्रहरीले आरोपी पक्राउ गर्न सफल भएको छ । घटनापछिको १७ दिनको अनुसन्धानबाट नवलपरासी प्रहरीलाई यो सफलता मिलेको हो । भारतको कोरियापट्टी बागाहा थानाका वृजमोहन रायको हत्या गरेको अभियोगमा प्रहरीले भारत मोतिहारी जिल्ला पिपरा मदिरापुरका सुरेन्द्र राय र भारत शिकापुर थानाका मुसाफिर खानलाई पक्राउ गरेको हो ।

कसरी भयो घटना ?

नवलपरासी जिल्लाको दुम्कीबासमा दुईसाथीहरु मृतक बृजमोहन राय र सुरेन्द्र राय डेरा गरी बस्थे । कवाडीको काम गर्ने उनीहरु बसेको घरको माथिल्लो तलामा मुसाफिर खान बस्थे । उनी मेकानिक काम गर्थे ।

वृज र सुरेन्द्र बिहान सँगै काममा निस्किने र साझ सँगै डेरा आउने गर्थे । तर उनीहरुबीच एक दिन २५ हजार रुपैयाँको लेनदेनको विवाद भयो । उक्त रकम सुरेन्द्रले वृजलाई दिएका थिए । उनीहरु बस्ने डेरासँगै टायरको काम गर्ने मुसाफिरको पनि वृजसँग समय समयमा वादविवाद हुने र मनमुटाव थियो ।

वृज र सुरेन्द्र बिच रकमको लेनदेनको विषयमा विवाद चर्किपछि एक दिन सुरेन्द्र र मुसाफिरले राती रक्सी खाएर वृजको हत्या योजना बनाए । र, वृज साँझ काम सकिएर आफ्नो डेराको कोठा खोलेर भित्र पस्ने क्रममा उनीहरुले वृजको घाँटी अठ्याए । त्यसपछि सुरेन्द्रले वृजको हात समाते र मुसाफिरले टायरको पन्चर बनाउने छुरीले (चक्कु) वृजको घाँटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी राजेश थापाले जानकारी दिए ।

बृजमोहनको शरीरबाट टाउकको अलग गरी राती करिब १ बजे शरीरलाई आफुहरु बस्ने डेरा भन्दा २० मिटर अगाडि रहेको डे्रन (सडकको तल पानी जानका लागि गोलो लामो आकारको कल्बट) मा लुकाएको र टाउकोलाई तीनवटा बोरामा बेरेर साइकलमा हालेर बिहान ५ बजेतिर दुम्कीबासको जंगलमा फालेको पक्राउपछि उनीहरुले बयान दिएका छन् ।

हत्या गरी शव फालिएको स्थान
हत्या गरी शव फालिएको स्थान

बिहान साँझ काममा सँगै आउने र जाने गरेका वृज र सुरेन्द्र पछि सुरेन्द्र एक्लै काम जाने र एक्लै साँझ डेरामा आउने थालेपछि स्थानीयले वृजको बारेमा जिज्ञासा राख्दा कहिले आफ्नो पैसा चोरेर भागेको तथा कहिले केटी लिएर भागेको भन्दै ढाँटिरहेका थिए । स्थानीयले अलि बढिनै चासो राख्न थालेपछि घटनाको तेस्रो दिन उनी दुम्कीबास छाडेर कावासोेतीमा बस्न थाले ।

घटनाको ८ दिन पछि डे्रनमा लुकाइएको वृजको शव सडेर गनाउन थालेपछि स्थानीयले टाउको नभएको शव देखेेर प्रहरीलाई खवर गरेका थिए । र, प्रहरी घटनास्थलमा आएर मुचुल्का उठाउँदै घटनाको अनुसन्धान सुरु गर्नमा समय लगाएन ।

शव फेला परेको स्थानको अवलोकन गर्दा घटना नजिकै भएको अनुमान प्रहरीले लगाएको थियो । त्यसअनुसार स्थानीयसँग सोधपुछ गर्दा कवाडीको काम गर्ने बृज केहि दिनदेखि नदेखिएको बताए । ‘त्यसपछि प्रहरीले उनैमाथि अनुसन्धान सुरु गर्‍यो ।’ डिएसपी थापाले भने, ‘हामीले बृजको डेरामा गएर अनुसन्धान गर्‍यौं । त्यहाँ फेला परेको रगत मानिसकै भएको रिपोर्ट आएपछि हामी आरोपीलाई पक्राउ गर्नतर्फ लाग्यौं ।’

सुरेन्द्र र मुसाफिरले सुरुमा आफ्नो अपराध कवुल गरेनन् । शंकाको सुई उनीहरुतर्फै मोडिएपछि सादा पोसाकको प्रहरी परिचालन गरि उनीहरुको निगरानी गरिरहृयो । र, वृज र सुरेन्द्र जाने ठाउँ, उनीहरुले त्यहाँ गर्ने गतिविधी, मुसाफिरको गतिविधी लगायत विषयमा प्रहरीले बुझ्न थाल्यो ।

सबै बुझेर घटनाको बिश्लेषण गर्दा वृजको साथी सुरेन्द्र घटनामा संग्लन रहेको अनुसन्धानमा पाएपछि तत्काल जेठ ३ रातिको समयमा नै कावासोतीबाट सुरेन्द्रलाई नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए । र, बयान लिन सुरुगरेपछि सुरेन्द्रले साथी बृजको हत्या आफैले गरेको स्वीकार गर्दै उनको टाउको दुम्कीवासको जंगलमा फालेको बयान दिए । डिएसपीसहितको टोलीले दुम्कीबासको जंगलबाट टाउको बरामत गरेको हो ।

साथै सुरेन्द्रले घटनामा मुसाफिरको पनि संग्लनता रहेको बयान दिएपछि प्रहरी मुसाफिरलाई पनि तत्काल नियन्त्रणमा लियो । उनले पनि संग्लग्नता स्वीकार गरे । उनीहरु माथि कर्तव्य ज्यान मुद्दामा कार्यवाही प्रक्रिया अगाडी बढाइएको कावासोतीका डिएसपी राजेश थापाले जानकारी दिए ।

गत जेठ १ गते इप्रका कावासोती प्रहरी प्रमुख भएर आएका डिएसपी थापाले जेठ ४ भित्रनै घटनाको सफल अनुसन्धान गर्नमा सफल भएका हुन् । अपराध गरेर सबुत प्रमाण मेटाएर कोही उम्किन्छु भन्ने ठान्ने व्यक्तिको सोच रहेमा त्यो गलत हुने बताउँदै उनले अपराध गर्ने जो सुकै भएपनि कानूनको दायराबाट उम्किन नसक्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment