Comments Add Comment

विशाखापटनममा पहिलो नेपाली कन्टेनरको झण्डा फहरायो

नेपालका लागि भारतमा दोस्रो बन्दरगाह सुचारु

Visakhapatnam

११ आसार, काठमाडौं । भारतको विशाखापटनम बन्दरगाह नेपालका लागि औपचारिक रुपमा खुलेको छ । नेपालका लागि शुक्रबार पहिलो कार्गो छुट्दा विशाखापटनम बन्दरगाहमा रहेका दुबै देशका सरकारी अधिकारीहरुले हरियो झण्डा फहराएका थिए ।

नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदीको उपस्थितिमा शुक्रबार पहिलो कन्टेनर नेपालका लागि छुटेको हो । यसक्रममा विशाखापटनम बन्दगाह ट्रष्टका अध्यक्ष एम.टी. कृष्ण बाबु नेतृत्वको टोलीले पनि नेपाली टोलीसँगै उभिएर झण्डा हल्लाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नेपाललाई विशाखापटनम बन्दरगाह प्रयोग गर्न दिने समझदारी भएको थियो । सोही समझदारी अनुसार शुक्रबारदेखि यो बन्दरगाहबाट नेपाली कन्टेनर चल्न थालेको हो ।

नेपालका लागि बन्दरगाह सुचारु गर्नेक्रममा मुख्यसचिव सुवेदीको नेतृत्वमा ७ सदस्यीय नेपली प्रमण्डल विशाखापटनम पुगेको थियो । नेपाली टोलीलाई भारतीय अधिकारीहरुले विशाखापटमन बन्दरगाहको प्रयोगबाट नेपालले पाउने फाइदाका विषयमा बताएका थिए ।

विशाखापटनम बन्दरगाह नेपालका लागि खुल्ला भएको दोस्रो भारतीय बन्दरगाह हो । यसअघि नेपालले कोलाकाता-हल्दिया बन्दरगाह प्रयोग गर्दै आइरहेको छ ।दुरीको हिसाबले कोलकाता भन्दा दक्षिण भारतमा पर्ने बिशाखापटनम नेपालबाट टाढा पर्छ । तर, सुविधाको हिसाबले कोलाकाता भन्दा यो बन्दरगाह फाइदाजनक भएको भारतीय अधिकारीहरुले बताएका छन् ।

Vishakhapatnam 1

शुक्रबार नेपालका लागि एक्जिम कार्गो सुचारु गर्ने क्रममा ट्रष्टका अध्यक्ष कृष्ण बाबुले नेपाली टोलीसँग यो बन्दरगाह नेपालका लागि कोलाकाता भन्दा धेरै फाइदाजनक रहेको बताए । यो बन्दरगाहको लोकेसन, सुविधा र प्रभाव कोलकाताको भन्दा राम्रो रहेको उनले बताए । बन्दरगाहबाट कन्टेर छुट्ने प्रक्रिया पनि चुस्त एवं सरल रहेको भारतीय अधिकारीले बताए ।

कोलाकाताभन्दा विशाखापटनम ठूला जहाजहरु चल्न सक्ने बन्दरगाह भएकाले यहाँसम्मको नेपालको पहुँच फाइदाजनक रहेको भारतीय अधिकारीहरुले बताएका छन् ।

सोही अवसरमा बोल्दै नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदीले विशाखापटनम बन्दरगाह नेपालका लागि खुल्ला हुनु नेपाल-भारत भारत सम्बन्धमा कोषे ढुंगा भएको प्रतिक्रिया दिए । नेपालले यो बन्दरगाहलाई उपयोग गर्ने सुवेदीले बताए ।

बन्दरगाहका सीइओ सुशील मूलचन्दानीले यो बन्दरगाहको प्रयोगबाट नेपालले दक्षिण भारतसँग पनि व्यापारिक सम्बन्ध राख्न सक्ने बताए ।

यो पनि पढ्नुहोस्

विशाखापटनम बन्दरगाहले व्यवसायीको लागत घटाउँछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment