+
+

प्रधानमन्त्रीको खाजा र भोजमा मासिक १५ लाख स्वाहा

बालुवाटारमा भ्रष्टाचारः एकै रातमा १० लाख सिध्याइयो

पुष्प ढुंगाना पुष्प ढुंगाना
२०७३ असार २७ गते १५:२०

KP-Sharma-Oli
२७ असार, काठमाडौँ । भूकम्प प्रभावित परिवार दुई छाक खान नसक्ने अवस्था छन्, महिनौं लामो आर्थिक नाकाबन्दीले देशको अर्थतन्त्र जर्जर बनेको छ । समयमै ५ रुपैयाँको सिटामोल खान नपाउँदा कर्णालीमा कयौं नागरिकले ज्यान गुमाइरहेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीचाँहि आफैँ कति मितव्ययी होलान् ?

तपाईलाई विश्वास नलाग्न सक्छ, कैयौं नागरिकले एक छाक खान पनि धौ-धौ परिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने एउटा रात्रीभोजका लागि करिब १० लाख खर्च गरेका छन् ।

प्रसंग हो, नयाँ वर्ष ०७३ को । प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७३ मनाउन एकै साँझ ९ लाख ६७ हजार ७ सय ८७ रुपैँया खर्च गरेका छन् ।

जनताले तिरेको करबाट प्रधानमन्त्री ओलीले एकैपटक यति ठूलो रकमको भोज आयोजना गरेका हुन् । त्यो भोजका लागि उनको सचिवालयले नेपाल सरकारको कोषबाट पैसा लिएको छ ।

सचिवालयले घोटाला गर्‍यो कि ?

सो कार्यक्रम बालुवाटारमा भएको र प्रधानमन्त्रीसमेत सरिक भएकाले खर्च प्रधानमन्त्रीका नाममा देखिएको छ । तर, खर्च व्यवस्थापन गर्ने काम प्रधानमन्त्रीको सचिवालयले गरेको छ । स्रोतको दाबीअनुसार बालुवाटार सचिवालयले पछिल्लो समय खर्च भएको भन्दा दोब्बर तेब्बरसम्म थप बिल भरेर भुक्तानी लिने गरेको छ ।

यसअघि बालुवाटार सचिवालयकै एक सदस्यले प्रधानमन्त्री कार्यालयमा यससँग सम्बन्धित उजुरीसमेत गरेका थिए । उजूरीकर्ताले वालुवाटारका लागि सामान मगाउने र चिनी, चियादेखि लान मिल्नेसम्मका वस्तु केही सचिवालय सदस्यहरुले राति नै आफ्नो घरतिर लाने गरेको भन्दै उजुरी परेको थियो ।

खरिद गरिएका सामानको बिलसमेत दोब्बर-तेब्बर बनाएर भर्ने गरेको आरोप उक्त उजुरीमा लगाइएको थियो ।

पछिल्लो समय प्रधानमन्त्रीको निवासमा भएको खर्चका नाममा सार्वजनिक भएको बिलमा खर्चको आकार अत्यधीक बढेको छ ।

खाजाका नाममा पनि उस्तै खर्च

एकदिनको एक छाक खाजाका लागि मात्र होइन, बालुवाटार निवासमा खाजा खर्चका नाममा पनि उस्तै समस्या देखिएको छ । पछिल्लो समय विभिन्न बैठकको खाजा खर्च शीर्षकमा प्रधानमन्त्री कार्यालयले ४ लाख ७१ हजार भुक्तानी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारको मासिक खर्च २० लाखभन्दा बढी हुने गरेको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रको सम्पत्तिबाट भोज खुवाएर गुटबन्दी गरेको भन्दै केही समयअघि एमालेकै बरिष्ठ नेता माधवकुमार नेपालले समेत गुनासो पोखेका थिए ।

हेर्नुहोस् प्रधानमन्त्री कार्यालयको खर्चको बिल

Bill-of-PM-Office

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?