Comments Add Comment

‘पीडा लुकाएर हाँस्नुपर्ने रंगमञ्च’

पुरानो नाट्य संस्थामा जोस भर्दै युवा रंगकर्मी

Raj Shah (7)राजधानीमा नाटक देखाउँदै आएका धेरै नाट्य संस्थासँग आफ्नै छाना छैन । मण्डला, शिल्पी र थिएटर मलले भाडामा लिएको जग्गा र हलमा नाटकघर बनाएर काम गर्दै आएका छन् भने आरोहण र थिएटर भिलेजले नाटकघर उभ्याउने ठाउँकै टुंगो लगाउन सकेका छैनन् ।

०३८ सालदेखि क्रियाशील नाट्य संस्था सर्वनामले कालिकास्थानमा ०६६ सालमा आफ्नै जग्गामा नाटकघर बनायो । यो सपना साकार हुनुमा सर्वनामका निर्देशक अशेष मल्लकै लगन र तपस्याको उपज थियो । पुरानो संस्थाले निकै दुःखले नयाँ नाटकघर उठाए पनि धेरैलाई नाटकघर कहाँ छ, नयाँ के गर्दै छ भन्ने कुनै पत्तो थिएन । महिना दिनसम्म नाटक मञ्चन भइराख्थ्यो । तर, सहर बेखबर बन्थ्यो ।

यो सबै याद गरिरहेका थिए रंगमञ्चप्रति निकै मोह राख्ने एक युवा । राज शाह तिनै युवा हुन्, जो नाटक सिक्ने प्रशिक्षार्थी भएर सर्वनाम छिरेयता समग्र नेपाली रंगमञ्चलाई जोस्याइरहेका छन् ।

नाटक हेर्दाहेर्दै कलाकार

पाँच वर्षअघि सर्वनामको तेस्रो ब्याचका उत्पादन हुन् राज । तर, नाटकको विद्यार्थी हुनुभन्दा अघिसम्म उनी धुरन्धर दर्शक मात्र थिए । नाटकको दर्शक भएर मजा लिइरहँदा कुनै दिन नाटक सिकेर कलाकार नै बनूँला भन्ने उनको कुनै सोच थिएन । तर, संयोग त्यस्तै जुर्‍यो ।

गुल्मीको वीरबासमा जन्मिएका उनी गाउँमा हुँदा पत्रपत्रिका र कोर्स बाहिरका किताब पढ्न ज्यान लगाउँथे । स्कुलमा आएका पत्रिका लगेर घरमा थुपार्थे । काठमाडौं आएपछि पनि साहित्य र कलाको भोकले उनी राजधानी सहरको छेउ-कुना चहारिरहन्थे ।

कतै कविता गोष्ठी भयो कि हाजिर । साहित्यिक महोत्सव भयो कि त्यतै भुलियो । नयाँ नाटक लाग्यो कि कलेजका हुलका हुल साथी लगेर नाटकघर भरिदिने । ‘प्रायः म पुरानो वानेश्वरमा आरोहण गुरुकुलको नाटक हेर्न जान्थेँ । नाटकघरमा मात्र हैन, काठमाडौंमा जुनसुकै ठाउँमा देखाइने नाटक हत्तपत्त छुटाउदिनथेँ,’ उनले भने ।

पढ्न, नाटक हेर्न अरुलाई पनि उकासिरहने उनको बानी थियो । गुरुकुलमा नाटक हेर्न जाँदा २०/२५ जना साथीको बटालियन नै लिएर जान्थे । राजको यस्तो मोह देखेर गुरुकुलका सुनील पोखरेल र जिवेश रायमाझी उनीमाथि कतिसम्म भर पर्थे भने, कुनै नाटक र कार्यक्रम हुन लाग्दा ‘साथीहरू लिएर आऊ है’ भनेर फोनबाट खबर गर्थे ।

एक दिन सर्वनाम छेवैको बाटोबाट कतै जाँदै थिए, नाटकघर बाहिरको सूचनापाटीमा नाटकको तालिम सञ्चालन भएको सूचना देखे । उनलाई नाटक सिक्ने इच्छा पलायो । ‘बुझ्दाखेरि त तालिम सुरु भएको ८/१० दिन भइसक्यो, पछि अर्को ब्याचमा भर्ना हुन आउनू भन्ने कुरा आयो,’ उनले भने – ‘किन हो, मलाई पर्खनै मन लागेन । केही दिन छुटे पनि कभर गर्न सक्छु भनेर अर्को दिनदेखि सिक्न थालेँ ।’

बढीजसो गुरुकुलको नाटक हेरे पनि उनी नाटक सिक्ने बेला भने सर्वनाम छिरे । कारण रै’छ- त्यसबेला जग्गाको लिज सम्झौता सकिएर गुरुकुल बन्द भइसकेको थियो ।

Raj Shah (8)नाटकको तीन महिने कोर्स सिकिरहँदा उनले सर्वनामको नाम र कामलाई फैलाउने काम पनि सँगसँगै गरे । सर्वनामको नाटकघर कहाँ छ, के नाटक चल्दै छ भनेर उनले फेसबुकबाट जानकारी दिन थाले । भर्खर नाटक सिक्न गएको मान्छेले धेरै परिवर्तन गर्ने त हैसियत त थिएन । तर त्यो प्लेटर्फमलाई प्रयोग गरेर धेरै चिज गर्न सकिन्छ भन्ने उनको मनमा पाकिरहेको थियो । नाटकघरबाट पर्याप्त काम हुन नसकेको महसुस गर्दै सर्वनामको मिटिङमा कुरा राख्न थाले ।

यसबाट उनको सोच र सपनाले पनि केही ठाउँ पाउँदै गयो । सर्वनामसँगको यात्राबारे उनले सुनाए – ‘सर्वनामको पहिलो मिटिङमा जाँदा हामीले सक्ने जति काम पनि भएको छैन भन्ने कुरा राखेँ । संस्थामा आफ्नो प्रभाव पार्नेभन्दा पनि सर्वनाम विस्तार होस् भन्ने चाहना मात्रै थियो । अशेष सरहरूले मेरो कुरालाई सकारात्मक रूपमा लिनुभयो । मान्छेहरू अशेष मल्लसँग कसरी काम गर्छौ, उमेर र शैली मिल्दैन भनेर आज पनि अचम्म मान्दै सोध्छन् । काम गर्ने क्रममा कतिपय कुरामा शैली र विचार नमिल्ने अवस्था पनि आउँछ । तर, नाटक, कविता र कलाका अन्य कामलाई यसरी अगाडि बढाउन पाए हुन्थ्यो भन्ने अशेष सरको सोचसँग मेरो सोच मिल्छ ।’

तीन महिनाको प्रशिक्षणपछि हरेक नयाँ ब्याचले एउटा नाटक बनाएर देखाउनुपर्ने नियम छ सर्वनाममा । त्यस क्रममा उनले खेलेको पहिलो नाटक हो – विम्ब र विम्बहरू ।

नाटकको दर्शक मात्र भएको समयमा राजले सर्वनामका नाटकहरू पनि हेरेका हुन् । तर, सर्वनामले गर्ने पुराना शैलीका नाटकसँग उनी त्यति सन्तुष्ट थिएनन् । अचेल भने सर्वनामले समय र जीवनका आधुनिक रङ र तरंगहरू टिप्न थालेको छ । अनेक घामपानी भोगेका अशेष र नयाँपनको खोजी गर्ने राजहरूको संगमले स्वाद र शैली सन्तुलित बनेको छ ।

अर्कातिर, सर्वनामले आफ्नो स्पेस खुला राखेको छ । युवाहरू केही कार्यक्रम गर्छौ भनेर आए भने गर्नुपर्छ भनेर मञ्च उपलब्ध गराउँदै प्रोत्साहन दिने गरेको छ । नेपाली रंगमञ्चलाई माथि उठाउन केही गर्छु भनेर आउने युवाले नाटक सिक्ने ठाउँ पाएका छन् । कोही युवा गजलको महफिल जमाउँछन् । कविहरू महिनैपिच्छे कविताको तीर-कमान चलाउँछन् ।

कुनै पनि क्षेत्रमा क्षमता र सक्रियता नबढाए कसैले पनि यत्तिकै कामको जिम्मेवारी र भूमिका पाउँदैन । यस हिसाबले सर्वनाममा नयाँ पुस्ताको जोस भरेका राजले आफ्नो भूमिका आफैं बढाएका हुन् । सर्वनाममा उनी अहिले सञ्चार संयोजकको भूमिकामा छन् । यसका साथै त्यहाँ हुने कार्यक्रमहरूको संयोजन पनि गर्छन् । तर, आफू मात्र हाबी भइएला भनेर उनी सकभर नेपथ्यमै लुक्छन् । उनको यात्रामा अशेष गुरुको सल्लाह, सहयोग र प्रेरणा छँदै छ ।

कलाकारले त जति पीडामा हुँदा पनि आँसु लुकाएर काम गर्नुपर्छ । हाम्रो निजी जीवन नै हुँदैन जस्तो लाग्छ,’ बुबाको सम्झनामा आँखा पिलपिल पार्दै उनी भक्कानिए

बुबालाई क्यान्सर हुँदा आँसु पुछ्दै थिएटर

बुबासँग ज्यादै निकट मान्छन् राज आफूलाई । संवाद नहुँदा पनि बाउ-छोराले एक-अर्काको मर्म बुझ्ने । तर, दुई वर्षअघि क्यान्सर हुँदा बुबाको रोगी चेहरा पैल्याउन सकेनन् छोराले । घरका कसैले पनि सुरुवाती लक्षण देखेनन् । प्याङ्क्रियाजमा क्यान्सर भइसकेपछि मात्रै थाहा भयो । इन्डियन आर्मीमा काम गरेर रिटायर्ड भएका बुबा ७४ वर्षको उमेरमा पनि उस्तै जोसिलो थिए । लतको नाममा सुपारी समेत नचपाउने उनी प्रायः बिरामी पर्दैनथे । चाँडै उठ्न, मर्निङ वाक गर्न छोराहरूलाई हुटहुटी दिइरहन्थे ।

राजलाई एक दिन दाजुले सुनाए – बुबालाई त क्यान्सर भयो !

उनी त्यतिबेला सर्वनाममा ‘शकुनी पासा’ को नियमित मञ्चनमा थिए । नाटक अझै चार/पाँच दिनसम्म देखाउन बाँकी नै थियो । उनले बुबाको बायोप्सी गरेको रिपोर्ट हेरे । रुँदै अल्का अस्पताल पुगेर नाटकघर फर्किए । आउँदाआउँदै बाटोमै आँसु पुछे । कसैलाई केही सुनाएनन् आफ्नो विपद् । हत्तपत्त तयार भएर शकुनी पासामा अभिनय गर्न मञ्चमा देखा परे । ‘हामी कलाकारले त जति पीडामा हुँदा पनि आँसु लुकाएर काम गर्नुपर्छ । हाम्रो निजी जीवन नै हुँदैन जस्तो लाग्छ,’ बुबाको सम्झनामा आँखा पिलपिल पार्दै उनी भक्कानिए ।

अस्पतालमा बुबाको अपरेशन सफल भएपछि मात्र उनले रंगकर्मी साथीभाइ र गुरुलाई आफ्नो कुरा सुनाए । एक महिनासम्म अस्पताल राखे बुबालाई । डक्टरले तीन-चार वर्ष केही हुँदैन भनेर परिवारलाई आश्वासन दिएको थियो । तर, चार महिनामै गत वर्ष तिहारको भाइटीकामा उनले बुबा गुमाए ।

भनाइ छ – दुःख बाँडे आधा हुन्छ, खुसी बाँडे दोब्बर । तर, राज हम्मेसी आफ्नो व्यथा कसैसामु पोख्दैनन् । निकट मानेका साथीलाई समेत सुइँको दिँदैनन् । आफ्नो पीडाले अरुलाई किन चिन्ता दिनु भनेर सोच्छन् । उनले भने – ‘आमाले भनेअनुसार म जन्मिँदाको बेला मात्र रोएँ रे । त्यसपछि कहिल्यै रोइनँ । आफैंमा पचाएर बसेँ सबै चिज ।’

हो, अरुले देख्ने गरी कहिल्यै रोएनन् उनी । बुबा बिरामी भएपछि भने बाथरुम पसेर डाँको छोडेर रुन्थे । दुनियाँको सामु भने रुखो र जब्बर ठकुरी बने ।

फलानो-ढिस्कानो हैन, हामी रंगकर्मी एक

हामीकहाँ सामान्यतया जुनसुकै क्षेत्रमा अग्रजहरूले नयाँ पुस्तालाई मान्छे नगन्ने र नयाँहरूले अग्रजको योगदानलाई नसम्झिने परिपाटी देखिन्छ । रंगकर्ममा भने त्यस्तो तीतो अवस्था देखेका छैनन् राजले ।

हामी सर्वनाम, हामी मण्डला, हामी थिएटर भिलेज भनेर लाग्यौं भने रंगकर्म ध्वस्त हुन्छ, हामी रंगकर्मी भन्यौं भने यो बाँच्छ

पुरानाले युवा रंगकर्मीले बनाएको नाटकमा बकाइदा अभिनय गरेका छन्, नयाँ रंगकर्मीको काम र प्रस्तुति हेरेर सुझाव र प्रशंसा दिएका छन् । एक-अर्काको अस्तित्व स्वीकारेका छन् । तर, रंगकर्मीबीच पर्याप्त अन्तक्रिर्या भने हुन नसकेको उनलाई लाग्छ ।

यो अवस्थामा उनले हामी रंगकर्मी साथसाथ जुट्नुपर्छ भनेर राजधानीका नाट्य संस्थाहरूसँग बिन्ती बिसाउने र परिआए दबाब नै दिने गरेका छन् । भन्छन् – ‘हामी सर्वनाम, हामी मण्डला, हामी थिएटर भिलेज भनेर लाग्यौं भने रंगकर्म ध्वस्त हुन्छ, हामी रंगकर्मी भन्यौं भने यो बाँच्छ जस्तो लाग्छ ।’ नाटक हेर्न अर्को नाटकघरका रंगकर्मीलाई आफ्नोमा बोलाउने, आफू उनीहरूकोमा जाने, तालिममा अतिथि प्रशिक्षक निम्त्याउने यसैको अभ्यास हुन् । खुला विचारधारा राख्ने उनलाई सबै नाट्य संस्थाले एक-अर्काको नाटक हेरेर आडभरोसा दिनुपर्छ भन्ने लाग्छ । जुनसुकै नाटकघरप्रति श्रद्धा भाव राख्छन् उनी ।

अरुको नाटक हेर्ने अभ्यास बढाउन राजले एक समय पहल नै गरे । सर्वनाम र मण्डला नाटकघर मात्र सञ्चालनमा रहँदा दुवै ठाउँ साप्ताहिक रूपमा सोमबार बन्द हुन्थे । सर्वनामले बिहीबार बन्द गर्ने बनायो । ता कि त्यो दिन आफ्ना सबै रंगकर्मीलाई अर्को नाटकघरमा लैजान सकियोस् । पछि खुलेका शिल्पी र थिएटर भिलेजलाई सोमबार र बिहीबार बाहेकका दिनमा बन्द गर्न दबाब दिइयो । शिल्पीले मंगलबार बन्द हुने बनायो भने थिएटर भिलेजले बुधबार ।

प्रश्न सधैंको: गुजारा कसरी चल्छ ?

कुनै पनि पेसा-व्यवसायमा दिलोज्यान दिएर लागेअनुसार प्रतिफल नपाए चटक्कै छाड्नेहरू हुन्छन् । तर, कला क्षेत्रमा रस नै नआउने फूलमा पनि माहुरीहरू टिकिराख्छन् । रंगकर्म गरेर बाँच्ने अवस्था छैन भने पनि वर्षौंदेखि यसैमा मन अड्याएर बस्नेहरू छन् ।

Raj Shah (4)रंगकर्मको घर चलेन भने रंगकर्म पनि चल्दैन भनेर राजहरूको पुस्ता सक्रियतापूर्वक लागिरहेको छ । अशेष मल्ल, बद्री अधिकारी, सुनील पोखरेल, अनुप बरालहरूले खनेर फराकिलो पारेको बाटोमा उनीहरू पिच गर्दै छन् । भोलि अर्को पुस्ता आउँदा त्यहाँ गाडी चलाउन पाओस् ।

राज भन्छन् – ‘रंगमञ्च भनेको प्यासनले चलेको छ । बाहिरबाट हेर्दा नाटक चलिराखेको छ, हाउसफुल छ भन्ने लाग्छ । तर, भित्र रंगकर्मको आफ्नै छ पीडा । नाटक गर्नेहरूलाई पैसा दिन सकेको अवस्था छैन । चिया-खाजा खर्च पाँच सय, हजार रुपैयाँ दिएकोलाई पैसा दिएको के भन्नु !’ रंगकर्म मात्र गरेर बाँच्ने अवस्था नभएकाले वैकल्पिक काम गर्नु बाध्यता नै हो । उनी पनि यही बाध्यताको शरणमा छन् ।

यस्तो अवस्था रहँदा पनि रंगमञ्च बिनाको आफ्नो जीवन असम्भव लाग्न थालिसकेको छ उनलाई । पाँच/सात दिन नाटकघर छोडेर आफू कतै गए भने कसले हेर्देला काम भनेर फड्को पर्छ मनमा । रंगमञ्चमा निरन्तर डटिरहन सक्नुलाई उनी इच्छाशक्ति मान्छन् ।

इच्छाशक्ति कस्तो भने उनले ०७१ सालमा आफ्नै लेखन/निर्देशनमा पहिलो नाटक ‘जिम्दा सपना’ मञ्चन गर्ने क्रममा खाना खानै भुले, डेरा जाने होशै भएन । रिहर्सलमा पागल भएर लागे । उनले त्यो नाटकमा ससाना सपना सजाएर विदेशिनेहरूको नियति र त्यसले पारेको सामाजिक प्रभाव चित्रण गरेका छन् ।

  पैसाले सुटकेस भर्न विदेशिएकाहरू अकालमै आयु रित्याएर बाकसमा फर्किँदा कयौं सपना निभ्छन् । नाटक लेख्नुअघि राजले त्यस्ता धेरै बाकससँग त्रिभुवन विमानस्थलदेखि आर्यघाटसम्म यात्रा गरे । पश्चिमाञ्चलका विभिन्न जिल्ला पुगेर वैदेशिक रोजगारीले पारेका असरहरू नियाले । लाठे लोग्ने पैसाका लागि खाडीमा भिडिरहँदा यता तिनका जोईले देहसुखका लागि सँघार नाघेको देखे । यी अध्ययनकै उपज हो, ‘जिम्दा सपना’ले दर्शकको अपार माया पायो ।

उनलाई रंगकर्मीको प्यासनपछि नेपाली रंगमञ्चलाई बचाउने दर्शक नै हुन् भन्ने लाग्छ । भन्छन् – ‘हामीले राम्रो नाटक बनायौं भने पोस्टर टाँसेर प्रचारप्रसार गरिराख्नै गर्दैन, दर्शकले एक कान दुई कान गरेर नाटकघर हाउसफुल बनाइदिन्छन् ।’ पछिल्लो समय नाटकप्रति दर्शकको प्रेम कतिसम्म बढेको छ भने, निर्धारित समयमा नाटक सुरु भएन भने कराउन थाल्छन् । रंगकर्मी समर्पित भएर लागेसँगै दर्शक पनि अनुशासित बनेका छन् ।

नाटकले दर्शकको माया पाएर आकर्षण बढेसँगै यो क्षेत्रमा पनि धूलोमैलो देखिन थालेको छ । कति जना चर्चा कमाइने र सेलिब्रेटी भइने मोहले आउँछन् । राम्रा रंगकर्मीहरूले फिल्ममा मौका पाउन थालेका छन् । यो देखेर नयाँ रंगकर्मीहरू नाटकलाई फिल्ममा जाने भर्‍याङ बनाउन एकोहोरिएका छन् । रंगमञ्चमै केही गरुँ भनेर आउनेहरू कम छन् ।

रंगमञ्चमा कसैलाई सिध्याउनु छ भने उसको प्रशंसा गरिदिए हुन्छ । किनकि प्रंशंसा सुनेपछि उसले आफ्नो काममा सुधार गर्दैन

राज भने फिल्महरूमा प्रस्ताव आए पनि रंगकर्मबाट टाढिनुपर्ला भनेर त्यता बाँड्न चाहँदैनन् आफूलाई । यो यात्रामा उनी प्रशंसाका भोका छैनन्, आलोचना खोज्छन् । आलोचना र सल्लाहले आफ्नो खुबी झनै तिखार्न चाहान्छन् । भन्छन् – ‘रंगमञ्चमा कसैलाई सिध्याउनु छ भने उसको प्रशंसा गरिदिए हुन्छ । किनकि प्रंशंसा सुनेपछि उसले आफ्नो काममा सुधार गर्दैन । म चाहिँ आफ्ना खोटहरू पैल्याएर निखार ल्याउन चाहान्छु ।’ नाटक देखाउने क्रममा अधिकांश थिएटरले नारा नै बनाउने गरेका छन् – मन परेमा साथीहरूलाई भनिदिनुहोला, मन नपरेमा हामीलाई भन्नुहोला । अर्थात् रंगकर्मीहरू गालीबाट सिक्न पनि तयार छन् ।

उनका गुरु अशेष मल्ल नयाँ पुस्तालाई नाटक सिकाएर, सम्झाएर अरु १० वटा नयाँ अशेष जन्माउने अभियानमा छन् । यसका लागि राजहरू नाटक लेखन, अभिनय र निर्देशनमा डटिरहेका छन् ।

यी २८ वर्षे रंगकर्मीलाई नाटकको बाटोमा तिखारिन अझै गाली पुगेको छैन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment