Comments Add Comment

पाकिस्तानले भारतमा आतंक फैलाएको गृहमन्त्री सिंहको आरोप

Rajnath-Singh
६ साउन, काठमाडौं । भारतीय गृहमन्त्री राजनाथ सिंहले पाकिस्तानले भारतलाई अस्थिर बनाएको र आतंकवाद फैलाएको आरोप लगाएका छन् । लोकसभामा कश्मीरको विषयमा बिहीबार मन्तव्य राख्ने क्रममा मन्त्री सिंहले सो आरोप लगाएका हुन् ।

उनले भने, ‘भारतमा आतंकवादी मारिन्छ र पाकिस्तानमा कालो दिन मनाइन्छ । पाकिस्तानलाई भारतको आन्तरिक मामिलामा दखल दिने के अधिकार छ ?’

उनले फेरि भने, ‘भारतको छिमेकीको खराब नजर कश्मीरमा लागेको छ । तर भारतले कश्मीरलाई गौरवका साथ फेरि बहाल गर्ने छ ।’

उनले भारतमा यदि आतंकवाद छ भने त्यो पाकिस्तानबाट प्रायोजित भएको आरोप लगाए । उनले भने, ‘पाकिस्तानले आफ्नालाई पनि एकजुट बनाएर राख्न सकेन र दुई टुक्रा भयो । आज आफ्नो हालत सुधार्नुको सट्टा भारतलाई अस्थीर बनाउने कोशिश गरिरहेको छ । भारतमा यदि आतंकवाद छ भने त्यो पाकिस्तानबाट प्रायोजित आतंकवाद हो ।’

उनले भारतका मुस्लिम समुदायको चिन्ता पाकिस्तानले गर्नुपर्ने जरुरत नभएको बताए ।

उनले कश्मीरमात्र नभइ छत्तीसगढमा भारतीय सुरक्षाकर्मी मारिँदा केही व्यक्तिहरु खुसी हुने गरेको भन्दै रोष प्रकट गरे । उनले भने, ‘केबल कश्मीर होइन, छत्तीसगढमा पनि सुरक्षाबल मारिँदा केहि व्यक्तिहरुले खुसियाली मनाउँदछन् र न्यायालयले दोषी ठहर्‍याएर फाँसीको सजायँ दिँदा केही व्यक्तिहरुले त्यसलाई न्यायीक हत्या भन्छन् ।’

उनले कश्मीरको समस्या भारत सरकार एक्लैले सुधार्न नसक्ने भन्दै सबै दल मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

उनले बुरहान वानीको पृष्ठभूमिको चर्चा गरे र बुरहान कुख्यात चरमपन्थी संगठन हिज्बुल मुजाहिदीनसँग जोडिएको बताए जसले भारतमा आतंकवादलाई बढावा दिने गरेको आरोप लगाए ।

राजनाथ सिंहले भने, ‘बुरहान वानीमा कैयौं गम्भीर आरोपहरु थिए । १५ किसिमका एफआइआर दायर छ । ऊ नयाँ पीढीलाई नयाँ तरिकाबाट गलत दिशामा लाग्न प्रेरित गर्दथ्यो ।’

उनले पाकिस्तानी चरमपन्थी हाफिज सइदले केहि दिन अघि मात्रै बुरहान वानीसँग कुराकानी गरेको संसदलाई जानकारी गराए ।

भारतीय गृहमन्त्री राजनाथ सिंहका अनुसार कश्मीरमा हालै भएका हिंसामा ३८ जनाको मृत्यु भएको छ । दुई हजार एक सय ८० जना घाइते भएका छन् । मृत्यु हुनेमा एक जना प्रहरी छन् र एक हजार सात सय ३९ जना प्रहरी जवान घाइते भएका छन् ।

मन्त्री सिंहले यी घटनापछि जति सावधानी बढाउनु पर्ने हो त्यति नै बढाउँदै लगेको दाबी गरे ।

प्यालेट गनबाट धेरै जना घाइते भएकोबारे विशेषज्ञहरुको एक कमिटीको सुझावको आधारमा त्यसको विकल्प खोजिने बताए ।

राज्यको ताजा अवस्थाबारे जानकारी दिँदै मन्त्री सिंहले कर्फ्यू लगाइएका स्थानहरुमा खुकुलो बनाउँदै लगेको बताए ।

उनले मुख्यमन्त्री महबुबा मुफ्तीलाई उद्धृत गर्दै प्रेसमाथि सरकारलाई कुनै प्रकारको प्रतिवन्ध नलगाएको बताए । उनका अनुसार इन्टरनेटमा थोरै प्रतिवन्ध पनि हटाइसकिएको छ ।

अन्त्यमा गृहमन्त्री सिंहले भने, ‘अफवाह फैलाएर नौजवानलाई भड्काउन खोजिएको छ र सबै राजनीतिक दलहरुको सहयोगमा स्थिति सामान्य बनाउने प्रयास गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment