Comments Add Comment

एक वर्षमा काम खोज्दै ४ लाख युवा बाहिरिए

विदेशिनेको संख्यामा १८ प्रतिशतले गिरावट

foregin employee
८ साउन, काठमाडौं । गत आर्थिक वर्षमा नेपालबाट कामका लागि विदेश जानेको अघिल्लो वर्षको भन्दा १८ प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बितको आर्थिक वर्ष २०७२/७३मा ४ लाख १८ हजार ७ सय १३ जना युवा वैधानिक रुपमा श्रम इजाजत लिएर कामको खोजीमा बाहिरिएका छन् ।

आर्थिक वर्ष २०७१/७२ मा यो संख्या ५ लाख १२ हजार ८ सय ८७ जना युवा विदेश गएका थिए । गतवर्ष सबैभन्दा धेरै भदौमा ४० हजार २ सय युवा बाहरिएका थिए भने कात्तिकमा सबैभन्दा कम २३ हजार मात्रै विदेशिएका थिए ।

गतवर्षको साउनदेखि असार मसान्तसम्म ११ हजार ४ सय ११ कामदारले ब्यक्तिगत श्रम स्वीकृति लिएका थिए भने बाँकी कामदारले म्यानपावहररुमार्फत इजाजत पाएका थिए । यस अवधिमा ३ लाख ९९ हजार पुरुष कामदार बाहिरिएका हुन् भने महिलको संख्या १९ हजार ३ सय रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

यो वर्ष विदेश जाने युवा घट्नुमा विभिन्न कारणहरु मानिएका छन् । समग्रमा वैदेशिक रोजगारीका लागि ०७२ साल सुस्ताएको वर्ष बनेको छ । यो वर्ष श्रम बेच्न विदेशिनेहरुको संख्यामा झण्डै ९४ हजारले गिरावट आएको छ । युवाहरु विदेशिने प्रवाहमा यसरी कमी आउनु राम्रो हो कि नराम्रो ? यो बहसको विषय हुनसक्छ ।

तर, यसले रेमिट्यान्सको आप्रवाहमा भने पक्कापनि प्रभाव पार्नेछ । यसैवर्ष पनि रेमिट्यान्सको वृद्धिदर घटेकाले वैदेशिक रोजगारीमा जानेहरुको संख्या घट्दा अर्थतन्त्रमा नकारात्मक असर पर्नसक्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् ।

किन घट्दैछ संख्या ?
गत वैशाखमा गएको भूकम्प र देशमा नाकाबन्दीलगायत उत्पन्न विशेष परिस्थितिका कारण विदेश जानको संख्यामा कमी अएको सरकारको अनुमान छ ।

त्यस्तै अघिल्लो वर्षसम्म नपालीको प्रमुख गन्तब्य रहेको मलेसियामा आर्थिक मन्दी लागेकाले संख्या घट्नु स्वभाविक भएको सरकारी अधिकारीहरुको विश्लेषण छ ।

‘हामीले तथ्यपरक विश्लेशण गरेका छैनौं । तर, विदेशिनेको संख्या घट्नुमा केही कारणहरु पहिल्याएका छौं,’वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले भने-‘मुख्य रुपमा फ्री भिसा कार्यान्वयन भएपछि नेपाली कामदारलाई जस्तो पनि काममा पठाउने क्रम कम हुँदा प्रभाव परेको हो ।’ उनले अहिले विदेशमा एजेन्टहरुबाट जथाभावी डिमान्ड ल्याउने क्रम घटेको सुनाए ।

म्यानपवर व्यवसायी अन्य कुनै कारणले विदेशमा काम गर्न जानेको संख्या घटेको मान्दैनन् । फ्री भिसा र टिकटको निर्णयका कारण रोजगारदाता कम्पनीहरु नेपाली कामदार लिन इच्छुक नहुँदा वैदेशिक रोजगारीमा जाने घटेको वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कुमुद खनालको तर्क छ ।

‘प|mी भिसाको निर्णयका कारण अन्य देशबाट निर्माण क्षेत्रमा धेरै माग ल्याउनुपरेको छ । सबै देशमा ‘इन्डोर वा सर्भिस’ क्षेत्रको सहज काममा डिमान्ड ल्याउन सकिएको छैन,’ खनालले भने-‘त्यसैले विदेशिने संख्या निकै घटेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment