Comments Add Comment

रोज राणाः फिल्मी आवरणमा गुण्डागर्दीमा लाग्दा गुण्डाकै आक्रमण

roj-rana-photo

बाहिर हेर्दा रोज राणालाई सबैले चलचित्र निर्माताको रुपमा चिन्छन । रोजले बनाएका कतिपय सिनेमाहरुले राम्रो व्यापारपनि गरेका छन् । चलचित्रको आवरणमा गुण्डाहरुसँग मिलेर रात्री धन्दा सुरु गरेका रोज तिनै गुण्डाको आक्रमणमा परेका छन् ।

दोस्ती, खलनायक, दादागिरी जस्ता एक्सनमा आधारित चलचित्र बनाएका रोजको संगत पनि ती चलचित्रका शीर्षकहरुभन्दा फरक छैन । यो उनकै बिगतबाट निकालिएको निश्कर्ष हो ।

गत सोमबार बेलुका काठमाडौंको मध्यवानेश्वर स्थित सेन्टर क्याफेमा सरोज थापा अर्थात रोज राणा माथि आक्रमण भयो । खुकुरी आक्रमणबाट उनको दाहिने पाखुरामा चोट लागेको छ ।

गुण्डागर्दीबाट आएको पैसा एक्लैले कुम्ल्याएपछि आक्रमण !

महानगरीय प्रहरी अपराध महाशाखाले रोज राणालाई आक्रमण गरेको आरोपमा दुइ जनालाई पक्राउ गरेको छ । भक्तपुरका ‘मोेटे’ भन्ने विवेचन प्रजापती र धादिङका ‘कटुन्जे’ भन्ने सूर्य लामा पक्राउ परेका छन् । अपराध महाशाखाका डिएसपी रमेश थापाका अनुसार प्रजापतीले राणामाथि खुकुरी प्रहार गरेका हुन् ।

रोज माथि आक्रमण गर्ने योजना भारतमा बनेको खुलेको छ । काभ्रेका जोधा भन्ने रत्न लामाले भारतमा बसेर राणामाथि आक्रमण गर्ने योजना बनाएको महाशाखाका एसएसपी सर्वेन्द्र खनाल बताउँछन ।

प्रहरीको इन्काउण्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ को समुहमा बसेर काम गरेका जोधा पछिल्लो समय प्रहरीको पक्राउ सुचीमा छन् ।

प्रहरी कार्वाहीमा चरीको मृत्यु भएपछि जोधा भारतमा बस्दै आएका थिए । उनको चरी मार्फत रोजसँग पनि सम्बन्ध बढेको थियो । चरीको मृत्युपछि जोधाले रोजसँग मिलेर रात्री व्यवसाय चलाएका थिए ।

विषेश गरेर कोभ्रका युवतीहरुलाई रोजले संच्ाालन गरेको डान्सबारहरुमा काम लगाउने र जोधाले डान्सबारमा लगानी समेत गरेको प्रहरीको दावी छ । त्यही कारोवारको पैसा फिर्ता नगरेपछि जोधाले राणामाथि आक्रमणको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

करिब तीन महिनाअघि काठमाडौं आइपुगेका जोधाले विवेचलाई ८० हजार दिएर रोजलाई मार्न लगाएको डिएसपी थापाले बताए । रात्री व्यवसाय देखि विभिन्न धन्दाबाट आएको करोडौं कमिसन रोजले एक्लै पचाइदिएपछि जोधाले ३० लाख दिएर राणाको हत्या योजना बनाएको खुलेको हो ।

डान्सबारका संचालक ‘फिल्म निर्माता’

चलचित्र निर्माताको परिचय बनाएका रोज राणाको खास सम्बन्ध गुण्डाका नाइकेहरुसँग देखिएको बर्षौं भैसकेको थियो । सुरुमा काभे्रली समुहमा लागेर रात्री व्यवसाय सुरु गरेपछि राणा पछिल्लो समय दिनेश अधिकारी ‘चरी’ समुहमा सामेल भएका थिए ।

काठमाडौंको बागबजारमा करिब १० वर्ष अगाडि ‘शो गल्र्स’ नामको डान्स बारबाट आफनो रात्री व्यवसाय सुरु गरेपछि रोज राणा प्रहरीको निगरानीमा थिए । डान्सबारहरुमा कम उमेरका बालवालिका ल्याउने र नग्न डान्स गर्न लगाएको आरोपमा राणा ६६ सालमा पक्राउ पनि परेका थिए । कलिलो युवतीहरुलाई जर्बजस्ती नग्न डान्स गराएको आरोपमा राणा चेलिवेटीवेचविखनको आरोपमा ६ महिना जेल पनि बसेका हुन् ।

त्यसपछि पनि राणा थुपै्र पटक पक्राउ परेर सार्वजनिक मुद्धा पनि खेपी सकेको प्रहरीको तथ्यांक छ ।

प्रहरीको निगरानीबाट बच्न उनी राजनीतिक आवरणमा पनि देखिए । उनी कांगे्रस प्रबेश गरेका थिए ।

राजनितिक आवरण पाएपछि रात्री व्यवसायको नाममा विभिन्न गुण्डाका समुहसँगको उठबसबाट राणाले अकुत सम्पत्ती कमाएको प्रहरी अधिकारीहरु बताउँछन् ।

अपराध महाशाखाका एक अधिकृतले भने ‘बाहिरबाट हेर्दा रोजराणा फिल्म निर्माता देखिए पनि उ गुण्डानाइके हो, गुण्डानाइकेबीचको विवादको परिणाम हो उनीमाथिको आक्रमण ।’

आफु जोगिन गुण्डाको सुराकी गर्थे राणा

पछिल्लो तीनवर्ष देखि प्रहरी गुण्डा विरुद्ध निकै कठोर बनिरहेको छ । ७१ सालमा रमेश बाहुन पक्राउ परे पछि रोज राणाको पनि चर्चा भएको थियो ।

भारतीय विधायकको घरबाट पक्राउ परेका बाहुनलाई राणाले नै उता लगेर सेटल गराएको खुलेको थियो । रमेश बाहुनलाई सेटल गराउने रणाको यता चरी र कुमार घैंटेसँग पनि राम्रै दोस्ती थियो ।

एक अर्काका निकै दुस्मन बनिरहेका घैंटे र चरी दुवैसँग साँठगाँठ बनाएको भेटिए पछि रोज राणा प्रहरीको निगरानीमा परेको अपराध महाशाखा स्रोत बताउँछन ।

एक अधिकृतका अनुसार चरी र घैंटे दुवैसँग सम्बन्ध राखेपनि रोजको व्यवसायिक सम्बन्ध घैंटेसँग बढी थियो ।

तर रमेश बाहुन पक्राउ परे लगतै रोजले फरार रहेका दिनेश अधिकारी चरीलाई काठमाडौं बोलाए । एक अर्कालाई मालिक भनेर बोलाउने चरी आफनो केश मिलाउने आशमा रोजको विश्वास गरेर काठमाडौं आइपुगेका थिए । तर तिनै रोजले प्रहरीसँग जोगिन चरीलाई स्कुटरमा राखेर प्रहरीको जिम्मा लगाएको एक अपराध महाशाखाका अधिकृत बताउँछन ।

आफु जोगिन रमेश बाहुन र चरीको बारेमा सुचना दिने व्यक्ति रोज नै भएको ती दुवै समूहका मान्छेहरुले थाहा पाइसकेका थिए ।

चरीको मृत्युपछि रोज राणा फरार थिए । करीव ३ महिनापछि काठमाडाैं अाएर अर्का गुण्डानाइके कुमार घैंटे र पोखराको एलजी ग्रुपलार्इ मिलाउने भन्दै सक्रीय भएको सूचना प्रहरीले पाएको थियो ।

रमेश बाहुन र चरीको मुख्य दुस्मनी कुमार घैंटेको सम्बन्ध बाफलका अर्का गुण्डानाइके समिर बस्नेत सँग थियो ।

कुमार घैंटे मार्फत करोडौं लगानी गरेका रोजराणाले उनिहरुकै योजनामा चरी र बाहुनलाई प्रहरीसम्म पुर्‍याएको आरोप लाग्ने गरेको छ ।

सोमबारको घटनापछि राणालाई कुमार घैंटे, रमेश बाहुन र चरी मध्ये कुनै एक समूहले आक्रमण गरेको प्रहरीले पहिल्यै अनुमान गरेको थियो ।

अपराध महाशाखाका एक अधिकृतका अनुसार चरी र घैंटेसँगको संयुक्त लगानी भएको व्यवसाय राणाले एकलौटी बनाएका छन् । त्यसैको बदलामा उनी त्यस समूहको निशानामा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment