१३ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपछि रिपब्लिकन पार्टीको नेतृत्व र आगामी राष्ट्रपतीय निर्वाचनमा सम्भावित दाबेदारका रूपमा हेरिएका उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो यतिबेला ट्रम्प प्रशासनका निर्णयहरूको राजनीतिक मूल्य चुकाउनुपर्ने चुनौतीमा छन् ।
इरानसँगको युद्ध र चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख जेन्सेन ह्वाङसँग जोडिएको विवादले यी दुई नेताले वर्षौँदेखि निर्माण गरेको राजनीतिक छविमाथि प्रश्न उठाएको छ ।
अमेरिकी समाचार संस्था एक्सियोसको राजनीतिक विश्लेषणअनुसार, पछिल्ला घटनाक्रमले ट्रम्पका निर्णयहरूसँग असहमति राख्नु र सार्वजनिक रूपमा उनको बचाउ गर्नुबीच भान्स र रुबियोले सामना गरिरहेको राजनीतिक द्वन्द्व उजागर गरेको छ । ट्रम्प प्रशासनमा रहेर काम गर्दा उनीहरूलाई आगामी राजनीतिक यात्राका लागि आफ्नै पहिचान कायम राख्न कठिन भइरहेको विश्लेषण छ ।
ट्रम्पको घट्दो लोकप्रियता, इरानसँगको युद्ध र मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको क्षतिले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा सम्भावित दाबेदारका रूपमा हेरिएका यी दुई नेताको राजनीतिक समीकरण थप जटिल बनाएको छ ।
भान्सको युद्धविरोधी छवि, रुबियोको कठोर विदेश नीति
भान्स र रुबियोको राजनीतिक पहिचान फरक आधारमा निर्माण भएको छ । भान्सले इजरायललाई बिनासर्त समर्थन गर्ने रिपब्लिकन पार्टीको परम्परागत नीतिप्रति दूरी राख्दै आएका छन् । इरानसँग युद्धमा जाने निर्णयको पनि उनले विरोध गरेका थिए ।
मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको हारको प्रमुख कारण इरान युद्ध भएको तर्कसमेत भान्सले गरेका छन् । युद्धका कारण महँगी बढेको र त्यसले मतदातालाई असन्तुष्ट बनाएको उनको विश्लेषण छ ।
रुबियो भने विदेश नीतिमा कठोर र रुस तथा चीनका कट्टर आलोचकका रूपमा चिनिँदै आएका नेता हुन् । सिनेटमा रहँदा उनले चीनको नीतिको आलोचना गरेका थिए । चीनले उनलाई सन् २०२० मा प्रतिबन्धसमेत लगाएको थियो ।
गत मे महिनामा चीनतर्फ जाने क्रममा राष्ट्रपति चढ्ने विमान एयर फोर्स वनभित्रै रुबियोले एनभिडियाका सीईओ जेन्सेन ह्वाङ र एक संदिग्ध चिनियाँ जासुसबीचको सम्बन्धबारे ट्रम्पलाई सचेत गराएको बताइएको छ ।
सार्वजनिक रूपमा देखिन थालेको असहजता
पछिल्ला घटनाक्रमले ट्रम्प प्रशासनमा रहेर काम गर्दा भान्स र रुबियोले सामना गर्नुपर्ने राजनीतिक दबाब सार्वजनिक रूपमा देखिन थालेको छ ।
मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको हारको दोष इरान युद्धलाई दिएको भान्सको टिप्पणीले ट्रम्पलाई निराश बनाएको बताइएको छ । युद्धका कारण बढेको महँगीले मतदातामा असन्तुष्टि पैदा गरेको विषयमा ट्रम्प सहमत भए पनि युद्धमा जाने निर्णय सही थियो भन्ने विषयमा उपराष्ट्रपतिले स्पष्ट समर्थन नगरेकोमा उनले असन्तुष्टि जनाएका थिए ।
गत साता ट्रम्पसँगै उभिएका बेला पत्रकारले रिपब्लिकन पार्टीको चुनावी हारको तुलनामा इरान युद्ध उचित थियो कि थिएन भनेर भान्सलाई प्रश्न गरेका थिए । तर, उनले सीधा जवाफ दिएनन् ।
‘मलाई लाग्छ, निर्णय गर्ने व्यक्ति राष्ट्रपति नै हुनुहुन्छ । राष्ट्रपतिले आफूले फेरि पनि त्यही निर्णय गर्ने बताउनुभएको छ । मेरो दृष्टिकोण के हो भने मेरो लक्ष्य र मेरो काम संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिलाई समर्थन गर्नु हो,’ भान्सले भनेका थिए ।
रुबियो पनि एनभिडियाका सीईओ जेन्सेन ह्वाङसँग जोडिएको विवादमा सार्वजनिक प्रश्नको सामना गर्न असहज देखिएका थिए । ह्वाङलाई एनभिडियाको अध्यक्ष तथा सीईओ पदमा पुन:स्थापित गरिएको विषयमा पत्रकारले प्रश्न गर्दा रुबियो प्रतिक्रिया नदिई त्यहाँबाट हिँडेका थिए ।
यसै सन्दर्भमा द वाल स्ट्रिट जर्नलका सम्पादक गेरी बेकरले यसै साता प्रकाशित स्तम्भमा रुबियोलाई ट्रम्प प्रशासन छोड्न आग्रह गरेका छन् ।
‘ट्रम्पको नीतिले अमेरिकालाई लज्जित, भ्रष्ट र कमजोर बनाउँदै लगेको स्पष्ट हुँदै जाँदा, रुबियोले असल मानिसहरूलाई आफूसँग यसको कुनै सरोकार छैन भनी आश्वस्त पार्दै त्यसैको अग्रपङ्क्तिमा उभिएर बचाउ गरिरहनुपरेको छ,’ बेकरले लेखेका छन् ।
इरान युद्धमा फरक मत, एनभिडिया प्रकरणमा उल्टो भूमिका
इरान युद्ध र एनभिडिया विवादमा भान्स र रुबियोको भूमिका एकअर्काको विपरीत देखिएको छ ।
इरानसँग युद्धमा जाने निर्णयको भान्सले विरोध गरेका थिए । तर, प्रशासनभित्र उनको तर्कले निर्णायक भूमिका खेल्न सकेन । रुबियो भने ट्रम्पको आक्रमण गर्ने निर्णयका मुखर समर्थक र रक्षक बने ।
यदि सन् २०२८ को राष्ट्रपतीय निर्वाचनसम्म इरान युद्ध अहिले जस्तै अलोकप्रिय रहिरहेमा ट्रम्पको निर्णयको बचाउ गर्दै आएका रुबियोका लागि त्यो राजनीतिक चुनौती बन्न सक्ने विश्लेषण छ ।
एनभिडिया प्रकरणमा भने उनीहरूको भूमिका उल्टो देखिएको छ । रुबियोले ह्वाङसँग जोडिएको विषयमा ट्रम्पलाई सचेत गराएको खबर सार्वजनिक भए पनि भान्सले ह्वाङलाई पुन: पदमा फर्काउन ट्रम्पलाई सघाएको बताइएको छ ।
सन् २०२८ को दौडमा मित्रता र राजनीतिक चुनौती
भान्स र रुबियोले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छैनन् । तर, रिपब्लिकन पार्टीभित्र ट्रम्पपछिको नेतृत्वका सम्भावित दाबेदारका रूपमा उनीहरूलाई हेरिँदै आएको छ ।
सिनेटमा सँगै काम गर्दा र अहिले एउटै प्रशासनमा रहँदा उनीहरूबीच घनिष्ठ सम्बन्ध बनेको छ । रुबियोले भान्स राष्ट्रपतीय दौडमा उत्रिए आफूले उम्मेदवारी नदिने संकेतसमेत गरिसकेका छन् ।
तर, ट्रम्प प्रशासनमा उपराष्ट्रपति र शीर्ष कूटनीतिज्ञको जिम्मेवारी सम्हालिरहेका उनीहरूका लागि चुनौती केवल पार्टीभित्रको उत्तराधिकार दौडमा प्रतिस्पर्धा गर्नु होइन ।
ट्रम्पका निर्णयहरूको बचाउ गर्दा आफ्नै राजनीतिक पहिचान कमजोर हुने र असहमति राख्दा प्रशासनसँगको सम्बन्धमा तनाव पैदा हुने जोखिम पनि उनीहरूले सामना गरिरहेका छन् ।
यही विरोधाभासले ट्रम्पपछिको रिपब्लिकन नेतृत्वको दौडमा भान्स र रुबियोको आगामी राजनीतिक यात्रालाई अनिश्चित बनाएको छ ।
प्रतिक्रिया 4