Comments Add Comment

‘सुदूरपश्चिममा गरिबी र भोकमरी मात्रै छैन’

ramlal_810डोटीमा जन्मिएर पछिल्लो समय कैलालीको धनगढीमा बसोबास गरिरहेका रामलाल जोशी ऐना कथासंग्रहका लागि यस वर्षको मदन पुरस्कार पाएपछि सेलिब्रेटी लेखक छन् । उनको व्यस्तता चुलिएको छ ।

गजल र कविता लेखनबाट साहित्यमा प्रवेश गरेका जोशीले ०७० बाट कथा लेखन सुरु गर्दै पुरस्कार र पाठकको प्रतिक्रियाको हिसाबले छोटो समयमै सफलता हात पारेका छन् । हालै धनगढीबाट काठमाडौं आएका बेला उनीसँग साहित्य लेखन, लेखनको विषयवस्तु र नेपाली साहित्यको बारेमा केन्द्रित रहेर जोतारे धाइबाले गरेको कुराकानी :  

मदन पुरस्कारबाट सेलिब्रेटी लेखक बनेपछि तपाईंको दैनिक जीवनका केकस्ता फेरबदल आएका छन् ?

हिजोको अवस्थादेखि आजको दिनमा पुग्दाखेरि मलाई हेर्ने समाजको दृष्टिकोण परिवर्तन भएको पाएको छु । व्यस्तता बढेको छ । साथीभाइ र पाठकहरुको माया बढेको छ । मैले लेखनमार्फत केही कुरा दिन गरेको प्रयासले राम्रो स्वागत पाएको छ । मप्रतिको अपेक्षा पनि बढेर गएको छ । आगामी दिनमा यो अपेक्षालाई परिपूर्ण गर्न धेरै संवेदनशील भएर अगाडि बढ्नुपर्छ भन्ने एउटा जिम्मेवारीबोध भएको छ ।

कैलालीमा बसेर साहित्य लेखन गरिरहँदा राजधानीलाई हेर्ने दृष्टिकोण कस्तो थियो तपाईंको ?

वास्तवमा मोफसलमा बसेर साहित्य लेख्ने हरेक स्रष्टालाई एउटा रहर र इच्छा के हुन्छ भने राष्ट्रिय मूलधारमा आफ्नो कृति र लेखनले मान्यता पाइदेओस् । त्यस्तै, राष्ट्रिय मिडियाहरुले चर्चा-परिचर्चा गरिदिऊन् र राम्रो प्रकाशन गृहले किताब प्रकाशन गरिदेओस् । त्यस्तो आकांक्षा मेरो पनि थियो । नेपाली साहित्यमा पछिल्लो समय पाठकहरुको संख्या बढेको छ, धेरै किताब छापिने, लेखेरै बाँच्न सकिने स्थिति देखिएको छ । मेरो पनि यस्तो भइदिए हुन्थ्यो भन्ने पक्कै पनि लाग्थ्यो ।

मदन पुरस्कार पाएपछि यस्तो अवसरको खानी राजधानीले त मोफसललाई पनि हेर्दो रहेछ भन्ने लाग्यो कि लागेन ?

त्यो लाग्यो । म सहित मोफसलका सबै साहित्यकारमा एक खालको सोचाइ छ, राष्ट्रिय रुपमा साहित्यको मूलधारमा आउन र ठूल्ठूला पुरस्कार प्राप्त गर्नका लागि त राजधानीमा बस्नुपर्छ । एउटा सर्कलमा बसेर पहुँच बनाउनुपर्छ र आफ्ना मान्छेहरु त्यहाँ हुनुपर्छ । हामी मोफसलमा बसेर मूलधारमा आउन गाह्रो छ, प्रतिस्पर्धा गर्नै गाह्रो छ भन्ने सोच अहिले पनि मोफसलमा कायमै छ । राष्ट्रिय मिडियाहरुले, त्यहाँका साहित्यकारहरुले, ठूल्ठूला संस्थाहरुले पत्याउँदैनन् भन्ने सोचाइ मलाई पनि कुनै न कुनै रुपमा थियो ।

ramlal

सरकारी कामकाज गराउन, कुनै संस्था र आयोगमा नाम निकालेर जागिर खान हरेक क्षेत्रमा भनसुन, चाकरी र पहुँच चाहिन्छ । पुरस्कार र सम्मानमा पनि कहीँ न कहीँ यो चिज छ नेपाली साहित्यको क्षेत्रमा । त्यही प्रवृत्तिले मोफसलका स्रष्टाहरुलाई यो सोच्न बाध्य गराएको हो । तर, पछिल्लो समयमा त्यो सोचाइ मेरो हकमा परिवर्तन भयो । असली कुराको निष्पक्ष रुपमा मूल्यांकन गर्ने कुनै संस्था, कुनै व्यक्ति बाँकी छन् भन्ने आशा र प्रमाण यसले दिएको छ । वास्तवमा अब्बल कुरा लेख्दाखेरि, गाउँ-समाजको छोपिएको कुरा र नयाँ कुरा ल्याउँदाखेरि मूल्यांकन चाहिँ हुँदो रहेछ है भन्ने नयाँ हेराइ आएको छ ।

पठाएका कथा नछापिएको, वास्ता नगरिएको, केन्द्रले हेला गरेको भन्ने कुनै अनुभव छ तपाईंको ?

मैले कथा पठाएर नछापिएको त छैन । किनभने मैले कथा लेख्न ०७० साल भदौबाट सुरु गरेको हुँ । कुनै कथा पनि पत्रपत्रिकालाई पठाइनँ । फुटकर कथा कतै नछापिई एकैचोटि कथाको किताब छापिएर आएपछि कैलालीका मेरा साथीहरु हामीलाई सरप्राइज दिएको भन्छन् । किताबमा सबै भर्जिन कथाहरु थिए । केही गजल र कविताहरु दिँदा राष्ट्रिय पत्रपत्रिकाले छापेकै हुन्थे ।

किताब निकाल्दा चाहिँ झमेला खेप्नुपर्‍यो तपाईंले । थोरै अनुभव सुनाउनुस् न ।

धनगढीबाट काठमाडौं आएपछि यतै राम्रो पब्लिकेसनबाट किताब छपाउँछु, यतै विमोचन गर्छु भन्ने रहर थियो मलाई । त्यस क्रममा सानोतिनो झमेला मैले बेहोरेको हुँ । त्यो स्वाभाविक पनि लाग्छ मलाई । किनभने मोफसलमा बस्ने एउटा स्रष्टालाई राजधानीमा यहाँ अहिले साहित्यको बजार बनाइरहेका प्राइभेट पब्लिकेसनहरुले मेरो वचन पर्ने बित्तिकै तुरुन्तै किताब छाप्दिनुपर्ने भन्ने होइन । मेरो आफ्नो बाध्यता थियो, किताब तुरुन्तै छाप्नुपर्ने । किनभने एउटा साहित्यिक अभियानमा आफ्नो कथासंग्रह छापेर लैजाने मेरो स्वार्थ थियो ।

म अध्यक्ष रहेको सुदूरपश्चिमाञ्चल साहित्य समाजबाट ३०/४० जनाको समूहमा पश्चिम महाकालीबाट पूर्व मेची र अझ त्योभन्दा पर दार्जिलिङ, सिक्किम, आसाम र टिस्टासम्म पुग्ने हाम्रो अभियान थियो । त्यस क्रममा मेरो किताब पनि साथै लगेर ठाउँठाउँमा पुर्‍याउनुपर्छ भन्ने थियो । तर, पब्लिकेसनहरुले त कुनै कृति छाप्नुअघि विषयवस्तु, मार्केट स्टडी लगायतमा २-४ महिना स्वाभाविक रुपमा लगाउनुपर्ने हुन्छ । चाँडै छाप्नुपर्ने भन्दै मैले केही पब्लिकेसनमा कुरा गर्दा उनीहरुले त्यसलाई सहज रुपमा लिएनन् ।

कतिवटा पब्लिकेसन हाउस चहार्नुभयो ? अस्वीकार गर्ने कति थिए

दुई-तीन वटामा गएको हुँ । केही पब्लिकेसनहरुले आफ्नै पैसा हालेर छाप्नुस्, प्रकाशकमा हाम्रो नाम राख्नुस् भन्ने कुरा गरे । दुःखको कुरा, बीचमा एक-दुई जना बिचौलियाहरुले हामीलाई पैसा दिनुस्, तपाईंको किताब यो पब्लिकेसनबाट छपाइदिन्छौं भन्ने पनि गरेका हुन् । तर, ती कुराबाट पार भएर मैले आफैं रिस्क लिएको हुँ । होइन, म त्यसरी छाप्दिनँ भनेर आफैं पैसा हालेर छापेँ ।

ब्रदर्श पब्लिकेसन्स भन्ने थियो । मैले आफैंले छापेपछि उसले किताब डिस्ट्रिब्यूसनको काम गरिदिने भयो । मेरो चाहना पनि थियो, किताब सबैतिर पुगोस् । सुदूरपश्चिमको समाजको अहिलेसम्म नआएको कुरा किताबमार्फत ल्याएपछि त्यसले देशभरि कस्तो प्रतिक्रिया पाउँछ त भनेर मलाई परीक्षण गर्नु थियो । मैले आफ्नै नामले छाप्दा त नेपालभरि किताब पुर्‍याउन कठिन थियो । कुनै माध्यम चाहिन्थ्यो । त्यसैले ब्रदर्श बुकलाई प्रस्ताव गरेको थिएँ । उसले वितरण गरिदिन्छौं, डिस्ट्रिब्यूटरमा नाम राख्नुस् भने पनि मैले प्रकाशकमा उसकै नाम राखिदिएँ ।

पहिले प्रकाशक नै नपाएको किताब पुरस्कारको मनोनयनमा परेपछि त विभिन्न पब्लिकेसनबाट हामी छाप्छौं भन्ने कुरा आए होला नि ! त्यो बेला कस्तो महसुस गर्नुभयो ?

हो, धेरै पब्लिकेसनबाट प्रस्ताव आए । करिब एक दर्जन पब्लिकेसनले मसँग सम्पर्क गरे । खुशी लाग्यो, वास्तवमा मैले जो रिस्क लिएर किताब छापेको थिएँ, आँट त स्रष्टाले गर्नैपर्ने रहेछ । हामी मोफसल भनेर काठमाडौंका पब्लिकेसनले टेरेनन् भनेर दुःखेसो मात्रै गर्नुको केही अर्थ छैन । किनभने आफूसँग केही नयाँ कुरा छ भनेर हामीमा आत्मविश्वास छ भने आफैं पनि रिस्क लिएर मूलधारमा आउन कोसिस त गर्नुपर्छ । हाम्रो कुरा कसैले सुनेर पत्याइदिए पनि सहानुभूतिले ल्याइदिएको कुरा कति दिन चल्छ र ?

आफैं रिस्क लिएर छापेँ, यसबाट एउटा सुखद अनुभूति पनि भयो । त्यसबाट मैले आफ्नो हात माथि परेको पनि अनुभव गरेँ । किनभने धेरै पब्लिकेसनहरुले मलाई एप्रोच गरेका थिए । हामी छाप्छौं, अग्रीम रोयल्टी पनि दिन्छौं भन्ने जस्ता धेरै किसिमका प्रस्ताव आएका थिए । यस क्रममा मैले सम्झौता चाहिँ बुक हिलसँग गरेँ । उहाँहरुको प्रस्ताव पनि राम्रो लाग्यो, उहाँहरुले निकाल्ने किताबको क्वालिटी पनि मन पर्‍यो । एउटा लेखकलाई स्वाभिमानी भएर लेख्नका लागि कसले आफूलाई महत्व दिन्छ र रेस्पोन्स गर्छ भन्ने पनि लेखकले खोज्छ । त्यो मैले उहाँहरुबाट पाएँ ।

लेखकले जे कुरा लेखिदियो, त्यसलाई पत्याइहाल्ने पाठक छैनन् अहिले । लेखकलाई सचेत पार्ने पाठकहरुको विकास भएको छ । नेपाली साहित्यको लागि असाध्यै सुखद क्षण हो यो

यो किताब ल्याउने बेला कस्तो सोच थियो ?

मैले आफ्नो कुरालाई लेखनको अवधिमा कुनै पुरस्कार र चर्चा पाउँला भन्ने आकांक्षाले लेखेको होइन । के आकांक्षाले लेखेको हो भने, मैले आफ्नो समाजलाई देखाउँदै छु ऐनामा । कस्तो समाजलाई भने, अहिले नेपाली समाज विकासको पछिल्लो चरणमा धेरै अगाडि बढ्न खोजिरहेको छ ।

राजनीतिक रुपमा पनि हामी संघीय गणतन्त्रमा प्रवेश गरिसकेका छौं । तर, हाम्रो समाजले पार गरेको अघिल्लो चरणले समाजको एउटा पक्ष अँध्यारो छोडेर आएको छ । त्यो अँध्यारो, समाज र व्यक्तिको अनुहारको कुरुपता रहेसम्म हामी जतिसुकै अघि बढे पनि अनन्त कालसम्म त्यो ऐनामा हाम्रो कुरुपतै देखिन्छ ।

यसैले यो समाजको अनुहार यस्तो छ है, यसलाई मिलाएर अगाडि बढौं भनेर राजनीतिक सत्ता र समाजको विकासको गतिसँग मेरो आग्रह हो । किनभने समाजको एउटा चरण अधुरो छ । ती अधुरा कुरा के-के छन्, कथामा छन् । त्यसको परिपूर्ति नभईकन भविष्यको हाम्रो अनुहार सुन्दर देखिने छैन भनेर मैले ऐना देखाउन खोजेको हुँ ।

यस क्रममा मैले नेपाली साहित्यमा सुदूरपश्चिमको समाज र त्यहाँको भाषिकाका शब्दहरु ल्याएको छु । यो कुराले पाठकहरुबाट स्वागत पाउला कि नपाउला भनेर एउटा चिन्ता थियो । तर, त्यो पायो । यसले पुरस्कार जितेको भन्दा बढी खुशी मिलेको छ ।

नेपाली साहित्यको समकालीन लेखन कस्तो छ ?

असाध्यै राम्रो पाएको छु । अहिले कृतिहरु प्रकाशनमा प्राइभेट पब्लिकेसनहरुको जुन भूमिका छ, यो असाध्यै सराहनीय छ । यद्यपि मोफसलकादेखि अन्य केही स्रष्टाहरु यसभित्र प्रवेश पाउन साह्रै कठिन छ, त्यो आफ्नो ठाउँमा छ । तर, प्राइभेट पब्लिकेसनहरुले साहित्यको एउटा बजार बनाइरहेका छन् ।

वास्तवमा यो नेपाली साहित्यको क्षेत्रमा ठूलो फड्को हो भन्ने मलाई लाग्छ । किनभने केही वर्षअघिसम्म साहित्यकारहरुले लेखेर बाँच्न सक्ने अवस्था थिएन । हजार-दुई हजार प्रति किताब निस्कन्थे । रोयल्टी पाउनै गाह्रो थियो । अहिले दसौं हजार राम्रा कृतिहरु छाप्ने अवस्थामा नेपाली साहित्य प्रवेश गरेको छ । पाठकहरुको जमात बढेको छ र उनीहरु लेखकभन्दा अब्बल दर्जाका र सचेत छन् ।

लेखकले जे कुरा लेखिदियो, त्यसलाई पत्याइहाल्ने पाठक छैनन् अहिले । लेखकलाई सचेत पार्ने पाठकहरुको विकास भएको छ । नेपाली साहित्यको लागि असाध्यै सुखद क्षण हो यो । अर्कातिर, लेखेर बाँच्न सक्ने अवस्थाको सिर्जना भएको छ । पछिल्लो समयमा आएका कृतिहरुले नेपाली साहित्यको बजार र पाठकहरुको संख्या जो वृद्धि गरेका छन्, असाध्यै आशालाग्दो देखेको छु ।

तपाईंले यसो भनिरहँदा पछिल्ला वर्षहरुमा नेपाली साहित्यमा हल्लाखल्ला भए अनुसार गुदी भएका किताब आएनन्, साहित्य बजारु र हल्का भएर गयो भन्ने गुनासो पाठकहरुबाटै आइरहेको छ नि !

हो, त्यो आएको छ । मैले पनि देखेको हो । त्यसमा म सहमत पनि छु । तर, केही विकृति देखिएको भने पनि एक प्रकारको माहौल सिर्जना गर्ने काम बजारले गरेको छ । अहिलेका पाठक चर्चामा केही आउने बित्तिकै त्यसलाई पत्याइहाल्ने खालका पनि छैनन् ।

रोयल्टी दिएर लेखाउने, बढी प्रचारबाजी गर्ने, व्यापारिक ब्राण्ड जसरी किताबको विज्ञापन गर्ने प्रवृत्ति जो छ, त्यसले पाठकको जिज्ञासा बढाउने काम गरेको छ । के आएछ भनेर खोजबिन गर्ने चासो त बढायो नि ! त्यो हदसम्म त्यो सकारात्मक पक्ष हो । त्यसपछि जब पाठकहरुले पढ्छन्, साहित्य कस्तो छ भनेर छुट्याउने र रेस्पोन्स गर्ने काम तुरुन्तै भइहाल्छ ।

लेखकलाई स्वीकार गर्ने, अस्वीकार गर्ने, उसलाई सचेत गराउने  काम पाठकहरुले गरिहाल्छन् । व्यापारिक दृष्टिले आएका र प्रचारित साहित्यले नेपाली साहित्यको विकासमा त्यति महत्व दियो कि दिएन भन्ने कुरा त स्वयम् पाठकहरुले छुट्याइरहेका छन् । यसैले नेगेटिभ हिसाबले मात्र हेर्नुहुँदैन भन्ने मलाई लाग्छ ।

साहित्यका विभिन्न विधामध्ये कुन चाहिँ बढी सशक्त र प्रभावशाली लाग्छ ?

साहित्यको पहिलो कुरा आनन्दै हो । किनभने हरेक मान्छे मनले नै बनेको हुन्छ । हरेक मान्छेभित्र मन छ । कुनै पनि साहित्यमा धेरै ठूला दर्शनका कुरा, ज्ञान, विज्ञान सारा चिज भए पनि यदि त्यसले मान्छेको मनलाई छुन सकेन भने त्यो जतिसुकै उपयोगी कुरा भए पनि काम लाग्दैन ।

जुनसुकै विधाको पहिलो शर्त र गुण हो, पाठकको मन छुने । समाजको चित्रण, देश काल परिस्थितिको कुरा, समयको गति, प्रगतिको कुरा, समाजलाई डोर्‍याउने काम त्यसपछिको कुरा हो । पाठकको मन छुन सक्यो भने जुनसुकै विधाको पनि उत्तिकै महत्व छ, उत्तिकै लोकप्रिय हुन सक्छ ।

पछिल्लो समय देशको सामाजिक र सांस्कृतिक अवस्थालाई यथार्थ रुपमा प्रकट गर्न सक्ने र पाठकले खोजेको पनि बढी पढ्ने पनि आख्यान नै देखिएको छ । समाजलाई चित्रण गर्न सहज पनि आख्यानमै हुन्छ ।

समाजको कुरुपतालाई हटाउने, समाजले भोगिरहेको कुराबाट अर्को चरणमा फड्को मार्ने आकांक्षालाई हाम्रो राजनीतिक नेतृत्वले कहिल्यै सम्बोधन गरेन । यही हो विडम्बना

ऐनासंग्रहका अधिकांश कथाहरुमा तपाईंले सुदूरपश्चिमको अँध्यारो पाटो बढी देखाउनुभएको छ, सुदूरपश्चिम भन्नु अँध्यारो मात्र हो त ?

मैले त्यसो भन्न खोजेको होइन । हामी आफ्नो अनुहार हेर्छौं ऐनामा । त्यसबेला अनुहारको सुन्दर पाटाहरुको हामी ख्याल गर्दैनौं । त्यो यसै उज्यालो छ । तर, जहाँनेर सानो पनि दाग लागेको छ, त्यसैलाई पुछ्ने, सफा गर्ने र औषधि गर्ने प्रयत्नमा हामी हुन्छौं । मैले गर्न खोजेको यही हो । हाम्रो राजनीतिक, सामाजिक, आर्थिक व्यवस्थाले र आजको अत्याधुनिक प्रविधिले हाम्रो समाजलाई विश्व परिवेशमा विकासको फड्कोमा अगाडि देख्न खोजिरहेको छ ।

त्यसरी सुन्दर समाजको परिकल्पना गर्दैगर्दा समाजको एउटा अँध्यारो पाटोलाई सुन्दर नबनाई त्यत्तिकै छाडेर अगाडि बढियो भने हाम्रो अनुहारमा देखिएको दाग जस्तै त्यो सधैं देखिइरहन्छ । हो, सबैभन्दा पहिला त्यसको उपचार गर्न आवश्यक छ ।

त्यो अँध्यारो पक्षलाई हटाइसकेपछि समाज विकासको गतिमा अगाडि जान सक्छ भनेर मैले देखाउन खोजेको हो । सुदूरपश्चिम भन्नु एउटा विम्ब मात्र हो, यस मार्फत मैले धेरै समाजको अँध्यारो टाटो देखाउँदै त्यसलाई सफा गर्नुपर्छ भनेर औंल्याएको छु ।

त्यस क्षेत्रको सम्भावना र शक्ति चाहिँ के हुन् ?

अथाह सम्भावना छ त्यहाँ । प्रकृतिको कुरा, जल सम्पदाको कुरा, आधुनिक पर्यटनको कुरा छ । त्यसलाई सरकारले व्यवस्थापन गरेर जनताको आकांक्षालाई सम्बोधन गर्नुपर्ने हो । तर, ती कुरा कोरा भाषण र नारामा मात्रै सीमित छन् ।

सुदूरपश्चिममा गरिबी मात्रै छ, भोकमरी मात्रै छ, पीडा मात्रै छ र अन्धविश्वास मात्रै छ भन्ने होइन । त्यो त अहिलेसम्म समाजले भोगेको कुरा मात्रै हो । छन त अर्कै कुरा छ नि ! हो, भएको त्यो कुरालाई, त्यो सम्भावनालाई हामीले सम्बोधन गर्न नसकेको, त्यो समृद्धिको कुरा हामीले निम्त्याउन नसकेको मात्रै हो । समाजको कुरुपतालाई हटाउने, समाजले भोगिरहेको कुराबाट अर्को चरणमा फड्को मार्ने आकांक्षालाई हाम्रो राजनीतिक नेतृत्वले कहिल्यै सम्बोधन गरेन । यही हो विडम्बना ।

एउटा सर्जकको नजरबाट हेर्दा अधिकार र अवसरको वितरणमा भौगोलिक, क्षेत्रीय, जातीय रुपमा कत्तिको विभेद देख्नुहुन्छ ?

प्रशस्त विभेद छ । सुदूरपश्चिममा मात्र होइन, धेरै ठाउँमा विभेद छ । त्यही विभेदका कारण पछिल्लो समयमा विभिन्न आन्दोलन र असन्तुष्टिहरु जन्मिएका हुन् । वास्तवमा राज्यले समान रुपमा अभिभावकीय भूमिका निर्वाह गर्न अहिलेसम्म सकेको छैन । एउटा स्रष्टाको हिसाबबाट र सामाजिक कार्यकर्ताको हिसाबबाट पनि त्यो विभेद मैले देखेको छु ।

यसरी समाजको कुरुपताहरु लेखनबाट खोतलिरहँदा त्यो समाज बदल्ने सामर्थ्य साहित्यले राख्छ ?

निश्चित रुपमा साहित्यकारहरु समाजलाई औंल्याउने मात्र होइन, सत्तालाई झकझक्याउने पक्ष हुन् । धेरैजसो राजनीतिक नेताहरु, सामाजिक अभियन्ताहरु समाजलाई बदल्ने संकल्प लिएर लागेका छन् । सबै खराबै, भ्रष्टाचारमा मुछिएका, गलतै प्रवृत्ति अँगालेका भन्ने होइन । धेरैले एउटा सुन्दर समाजको परिकल्पना गरेर लागेका छन् । त्यो परिकल्पना गर्ने काममा साहित्यले औंल्याउने काम गरिदियो भने त्यही नै शक्ति हुन्छ ।

ramlal2लेखेरै जादुको छडी जसरी समाज बदलिन्छ भन्ने होइन । साहित्यले समाज यस्तो छ भनेर यथार्थ देखाउने र यस्तो हुनुपर्छ है भन्ने एउटा आग्रह राख्ने कुरा हो । बदल्ने सहयोग त्यही हो । सन्देश दिने, आग्रह गर्ने र नयाँ किसिमले सोच्न बाध्य गराउने काम साहित्यले गर्छ ।

तपाईं कविता र गजलबाट साहित्यमा प्रवेश गर्दै पछिल्लो समय कथा लेखनमा हात हाल्नुभएको छ । लेख्दै आएको विधाबाट अर्कोमा जम्प गरेपछि प्राय: सर्जकहरुले पहिलेको विधालाई बिर्सने गर्छन्, तपाईंले पनि कविता र गजल लेखन चटक्कै छाड्नुभएको हो ?

छोड्ने कुरा होइन । साहित्य आत्मसन्तुष्टिको कुरा पनि हो । मनका उकुसमुकुसहरु, जीवनका भोगाइहरु साहित्यका माध्यमबाट प्रकट गर्ने हो । त्यो चाहे गजल, गीत, कथा, कविता जुनसुकै माध्यमबाट प्रकट गरिन्छ । मैले गजलका साथै कविताहरु पनि लेखिरहेकै छु ।

तर, पछिल्लो समयमा मैले नजिकबाट देखेको र भोगेको समाज, पात्रहरुको भोगाइ, समाजको अवस्थालाई आख्यानमार्फत प्रकट गर्दा सहज चित्रण हुन्छ भनेर कथा लेखेँ । ती कथामार्फत पाठकहरुबाट जुन माया र सद्भाव पाएँ, यसले अरु विधालाई चटक्कै छोडेर यो मात्रै लेख्ने भन्ने होइन । तर, बढीजसो पाठकको अपेक्षा मेरो आख्यानप्रति देखेको छु ।

अहिलेका लेखकहरु उपन्यास लेखनमा फाल हानेको देखिन्छ, यसरी एकोहोरिनुको कारण चाहिँ के होला ?

पहिलो कुरा, पाठकको अपेक्षाको कारण हो जस्तो लाग्छ मलाई । उपन्यासहरु नै बढी पढिने गरेको देखिन्छ । आफूले लेखेको कुरा बढीजसोले पढिदेओस् भन्ने लेखकको पनि मनसाय हुन्छ ।

अर्को कुरा, समाज र जीवनलाई सुन्दर ढंगले चित्रण गर्नका लागि उपन्यास अलि सहज माध्यम हो जस्तो लाग्छ । त्यसो हुनाले उपन्यास लेखनतिर साहित्यकारहरु केन्द्रित भएका होलान् । कविता, गजल र गीतमा पनि जीवनका अनुभूति त प्रकट हुन्छन्, तर सम्पूर्ण रुपमा जीवनलाई चित्रण गर्न उपन्यास र कथाहरुमा जति सहज हुँदैन ।

तपाईंलाई चाहिँ उपन्यासकारको रुपमा कहिले देख्न पाइएला ? 

मेरो पनि सोच छ । ठ्याक्कै म यही समयमा लेख्छु भनेर मिति तोक्न चाहान्नँ । मप्रति अहिले पाठकहरुको अपेक्षा जसरी बढेको छ, यसलाई चाँडै पूर्ति गर्ने सोच छ । समाजका नउघ्रेका पाटाहरु उजागर गर्ने जुन मेरो धोको छ, त्यो म कथा र उपन्यासमार्फत नै ल्याउनेछु ।

पाठकहरुको अपेक्षालाई धेरै लामो समयसम्म यत्तिकै खेर जान दिने छुइनँ । त्यो कुरामा प्रतिबद्धता जनाउँछु । सुदूरपश्चिमकै कुनै त्यस्तो समाजको कुरा, जुन नेपाली साहित्यको मूलधारमा आउन सकेका छैनन्, ती कुरा ल्याउने प्रयास गर्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment